सामान्यतः साहित्यको इतिहास खोज्दै जाने हो भने त्यसको सुरुवात हस्तलेखनबाटै भएको हुनुपर्छ । किनकि, आधुनिक प्रविधिको विकास नभएको बेला नै साहित्यको लेखन भइसकेको थियो । यसै आधारले नै यो तथ्यलाई स्वभाविक रूपमा पुष्टि गर्दछ । नेपाली साहित्य पनि यसबाट अछूत छैन । धेरै टाढा नगइकन हामीले देखेको इतिहासको चर्चा गर्ने हो भने साहित्यको क्षेत्रमा प्रकाशन हुने सामग्रीहरू खास गरेर विद्यालयहरूबाट सुरु भएको हो कि भनेर अनुमान गर्न सकिन्छ । हामीले थाहा पाएअनुसार-स्कुल-कलेजका विद्यार्थीहरूले ‘भित्ते पत्रिका’अन्तर्गत हातैले साहित्य-लेखन गरेर भित्तामा टाँस्ने गर्दथे । म स्वयम् पनि त्यस्तो प्रक्रियामा रुचि राख्थेँ । तर, आजको मितिमा सम्भवतः हातले लेख्ने कुरो त हराएर गई नै सक्यो, अझ त्योभन्दा पनि भित्ते पत्रिकाको प्रचलन नै हराइसकेको देखिन्छ ।
हस्तलेखन चुनौती त थिँदै थियो, त्यसभन्दा बढी बाध्यता थियो त्यो । तर, अर्को फरक दृष्टिकोणले हेर्ने हो भने त्यसको एउटा सुखद पक्ष छ । त्यो के हो भने, हस्तलेखनको आफ्नै स्वतन्त्र अस्तित्व छ । त्यो अस्तित्वले नेपाली साहित्यको क्षेत्रमा छुट्टै इतिहास कायम गरेको छ ।
सन्दर्भ छ हस्तलिखित साहित्यको । यस प्रसङ्गमा यहाँ हस्तलिखित साहित्यिक पत्रिकाहरूको चर्चा गर्न खोजिएको छ । खास गरेर विसं २०१७ सालमा पञ्चायती व्यवस्थाको प्रादूर्भावसँगै एउटा विशेष उद्देश्य लिएर पूर्वी पहाडी जिल्लाहरूबाट केही हस्तलिखित पत्रिकाहरूको प्रकाशन सुरु भएको थियो । त्यसको उद्देश्य थियो- निर्दलीय पञ्चायत व्यवस्थाका विरुद्ध साहित्यको माध्यमबाट जागरण पैदा गर्ने । उदाहरणका लागि ‘घुयेँत्रो’ नामक हस्तलिखित पत्रिका, जुन रामेछाप जिल्लास्थित साँघुटार बजारबाट निस्कन्थ्यो; त्यसले त्यो जागरणको पुष्टि गर्दछ । जसका अङ्कहरूमा रमेश विकल, आनन्ददेव भट्टजस्ता प्रगतिवादी युवाहरूका रचनाहरू समाविष्ट थिए । वास्तवमा, त्यसरी जनजागरणका उद्देश्य राखेर त्यो घुयेँत्रो प्रकाशन गर्नुमा तत्कालीन प्रतिबन्धित राजनीतिक पार्टीहरूको निर्देशन नै थियो ।
घुयेँत्रोका तत्कालीन सम्पादकहरू-स्थानीय हिमगंगा स्कुलका प्रधानाध्यापक तिलविक्रम रोका, नेपाली शिक्षक धर्मानन्द वाग्ले तथा सरकारी अस्पतालका चिकित्सक धनमान श्रेष्ठले ३२ पाने कापीमा रात-रातभर हातले लेखेर दर्जनौँ प्रति सिङ्गो पत्रिका बनाउनु सामान्य कुरा थिएन । र, केवल त्यसरी लेखिनुमात्रै होइन, लेखिसकेपछि ती प्रतिहरू अन्य जिल्लाहरूमा समेत पठाइन्थे । खास गरेर ओखलढुंगा र भोजपुरमा घुयेँत्रोका अङ्कहरू नियमित पठाइन्थे । स्मरणीय छ, त्यही समयमा ओखलढुंगाबाट पे्रमनारायण प्रेमीको सम्पादकत्वमा ‘जूनकीरी’ र भोजपुरबाट परशु प्रधान तथा शैलेन्द्र साकारको सम्पादकत्वमा ‘पँधेरो’ नामका हस्तलिखित पत्रिकाहरू प्रकाशित हुन्थे । र, ती जिल्लाहरूबाट समेत ती पत्रिकाहरू पनि अन्य जिल्लाहरूमा प्रेषित गरिन्थे ।
आज, यो अत्याधुनिक प्रविधिको जमानामा कल्पना गर्दा पनि कल्पनाभन्दा बाहिरको कुरोजस्तो लाग्छ । कसरी सम्भव भयो होला- अरूले लेखेको साहित्यलाई सम्पादनसमेत गरेर त्यसरी हातैले लेखेर सादा कापीका ३२ पन्ना भर्नु ? फेरि, एक प्रति हो र ! दर्जनौंप्रति । कल्पना गर्दा अत्यास लाग्छ, ओहो कति ठूलो चुनौती थियो त्यो !
हस्तलेखन चुनौती त थिँदै थियो, त्यसभन्दा बढी बाध्यता थियो त्यो । तर, अर्को फरक दृष्टिकोणले हेर्ने हो भने त्यसको एउटा सुखद पक्ष छ । त्यो के हो भने, हस्तलेखनको आफ्नै स्वतन्त्र अस्तित्व छ । त्यो अस्तित्वले नेपाली साहित्यको क्षेत्रमा छुट्टै इतिहास कायम गरेको छ ।
मनोविज्ञानले दृष्टिकोणले पनि हस्तलेखनको महत्वपूर्ण अर्थ छ भन्छ । भनिन्छ, कसैको पनि हस्तलिपि हेरेर उसको मनोविज्ञान बताउन सकिन्छ, जसको हस्तलेखन हो त्यो हेरेर उसको चरित्र वर्णन गर्न सकिन्छ ।
साँच्चै भन्नुपर्दा त्यस्तो इतिहासले के पुष्टि गर्छ भने कुनै नौलो विषयले पुरानो विषयमाथि हस्तक्षेप गरेर पुरानोलाई बिगार्ने-हटाउने अथवा निर्मूल नै गर्ने एकाधिकारप्रति यस प्रकारको हस्तलेखन-प्रक्रियाले साहित्यिक इतिहासलाई जिउँदो राख्न सक्छ । यस अर्थमा, हस्तलेखनलाई साहित्यिक क्षेत्रमा एउटा ठूलो आन्दोलनकै रूपमा लिनुपर्छ । तथापि, नेपाली साहित्यमा हस्तलिखित पत्रिकाको स्पष्ट इतिहास हुँदाहुँदै पनि समयको आधुनिकीकरणले ‘प्रिन्ट मिडिया’को माध्यमबाट क्रमशः लोप हुने अवस्था सिर्जना भएको छ । यस्तो अवस्थाको ख्याल गरी ‘शारदा’ मासिकको दोस्रो पुनप्र्रकाशन भएको समय २०७१ वैशाख महिनादेखि हस्तलेखनलाई ठूलो महत्व दिएर पत्रिकाले आफ्नो प्रथम पृष्ठमै कुनै एक सर्जकको खास गरी गीतकार वा कविको हस्तलिपि छाप्ने गरेको छ ।
पछिल्लो समयमा, श्रीबाबु कार्की उदासले ‘जिजीविषा’ नामक हवाईपत्रमा हस्तलिखित साहित्यको सम्पादन गर्ने गरेका थिए । निकै समय भयो त्यो छापिन बन्द भएको । एउटा ‘कविता अङ्क’ थियो त्यसको, जसमा ‘कवि-प्रवृत्ति’ उपशीर्षकअन्तर्गत कवि भूपी शेरचनको एउटा छोटो कविता प्रकाशित थियो-
‘केही लेख्छन्
यसो हेर्छन्
चित्त बुझ्दैन
अनि केर्छन्
पुनः लेख्छन्
पुनः हेर्छन्
लामो सास फेर्छन्
कठैबरा विचरा
भूपी शेरचन !”
आज सबै अक्षरहरू डिजिटल बनेका छन् । यो पक्का छ कि भोलिका दिनमा मौलिक अक्षरहरू कस्ता हुन्छन् भन्ने जिज्ञासा नै सबैभन्दा ठूलो प्रश्न बनेर उभिनेछ र आजका यी अक्षर खोजको विषय हुनेछ । त्यस अवस्थामा कम्तिमा पनि, लेखक-कविहरूको मौलिक अक्षरहरू खोजिनु स्वाभाविक छ । आजैको दिनमा हेर्ने हो भने पनि महाकवि देवकोटाको अक्षर कस्तो थियो होला भनेर हेर्ने उत्सुकता सामान्यतः सबै नेपालीलाई छ । यसबाट पनि थाहा हुन्छ कि अक्षरको महत्व कति छ ! यो त भयो कुनै विशेष मान्छेको हस्तलिपीको कुरा । सामान्यै मान्छेको पनि हस्तलिपि भोलि गएर उनका सन्ततिले हेर्न चाहनुमा कुनै अस्वाभाविकता हुँदैन । अर्थात्, एउटा परिवारकै लागि पनि आफूभन्दा अग्रजको हस्तलिपिको खास अर्थ हुन्छ ।
त्यसो त, मनोविज्ञानले दृष्टिकोणले पनि हस्तलेखनको महत्वपूर्ण अर्थ छ भन्छ । भनिन्छ, कसैको पनि हस्तलिपि हेरेर उसको मनोविज्ञान बताउन सकिन्छ, जसको हस्तलेखन हो त्यो हेरेर उसको चरित्र वर्णन गर्न सकिन्छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच