मेरो जन्म जिल्ला धनकुटा साविक ताङ्तुवा गाउँ पञ्चायत वडा नम्बर ३ मा भएको थियो । म पाँच वर्षको हुँदादेखि मेरो शिक्षादीक्षा घरमा नै आरम्भ भयो । मेरा गुरु वडा नम्बर २ सिभुवा निवासी बेणीमाधव भण्डारी हुनुहुन्थ्यो । उहाँले हाम्रो घरमा बसेर मलाई २ वर्षसम्म लेखपढ गर्न सिकाउनु भयो । त्यसबाहेक उहाँले मलाई हिन्दु संस्कृति अनुरूपको जीवनशैलीको अभ्यास गराउनुभयो । उहाँले मलाई बिहान उठ्ने बित्तिकै ‘कराग्रे वसते लक्ष्मी करमध्ये सरस्वती....’ भन्ने श्लोक आफूसँगै भन्न लगाउनु हुन्थ्यो । त्यसपछि दिसापिसाब गरीसकेपछि मुख धुँदा “गङ्गे च यमुने चैव गोदावरी सरस्वती....’को श्लोक भन्न लगाउनुहुन्थ्यो । त्यसपछि पढाइ सुरु गर्नुअघि हातमा फूल लिएर सरस्वतीको फोटोतिर फर्केर सरस्वती ‘मया दृष्टा वीणापुस्तकधारिणी ...’ भन्ने श्लोक वाचन गर्न लगाउनुहुन्थ्यो ।
त्यसपछि लेख्ने-पढ्ने नित्यकार्य सुरु हुन्थ्यो । बेलुकी सुत्ने बेलामा गुरु रामायणको कथा सुनाउनु हुन्थ्यो । उहाँ मलाई आफूसँगै ‘आदौ रामतपोवनादि गमनं हत्या मृगं कांचनम् । वैदेही हरणं जटायु मरणं सुग्रीवसम्भाषणम् ।।’ भन्ने श्लोक वाचन गर्न लगाउनु हुन्थ्यो । गुरुसँगको बाल्यकालको दुई वर्षको सहवास र शिक्षादीक्षाले ममा ईश्वरप्रति अगाध आस्था जागृत भयो । जीवनको उत्तरार्धमा लाग्दा अहिले यो आस्था झन् बढेर गएको छ । २०७५ सालतिर म तत्कालीन १ नम्बर प्रदेशको प्रमुख हुँदा ब्रह्मकुमारीज राजयोग केन्द्र विराटनगरकी दिदी गीता श्रेष्ठ दुई–चार महिलाका साथ मलाई भेट्न सरकारी निवासमा आउनुभयो । उहाँहरू सबै जना सेता पहिरनमा हुनुहुन्थ्यो । उहाँले मलाई केन्द्रको कार्यक्रममा निमन्त्रणा गर्नुभयो । मैले निमन्त्रणालाई स्वीकार गरेँ । तोकिएको समयमा म उपस्थित भएँ । म त्यहाँ भएको कार्यक्रमबाट ज्यादै प्रभावित भएँ ।
सिट नपाउनेहरू उभिएरै पनि यात्रा गर्यौं । काठमाडौंको सार्वजनिक यातायातमा हिँड्न अभ्यस्त हामीलाई यो कुनै नौलो अनुभव भएन । रेलले हामीलाई तोकिएकै समय १०ः३० बजे कटिहारमा पुर्यायो । हाम्रो सोचाइमा भारत पनि नेपाल जस्तै समय तालिकामा नचल्ने देश होला भन्ने लागेको थियो तर भारत समयतालिका अनुसार चल्ने देश रहेछ ।
प्रदेश प्रमुखको सेवाबाट निवृत्त भएपछि म धरान फर्कें । त्यसपछि ब्रह्मकुमारी राजयोग केन्द्र धरानको सम्पर्कमा आएँ । यो केन्द्रका प्रमुख नानीमैयाँ श्रेष्ठ तथा सुनील भाइ र शेरबहादुर भाइसँगको सम्पर्कले राजयोग केन्द्रका कार्यक्रमहरूप्रति रुचि जगायो । शेरबहादुर भाइबाट मेरी श्रीमती र मैले सात दिनको तालिम पनि लियौँ । त्यसबेला हामीहरूले जुलाई ९ देखि १३, २०२५ सम्म समाज सेवा प्रभाग, ब्रह्मकुमारीज, पाण्डव भवन माउण्ट आबु, राजस्थानको आयोजनामा ‘समाजको समृद्धिमा आध्यात्मको भूमिका’ मा छलफल गर्न राजयोग शिविर एवं राष्ट्रिय सम्मेलन हुने कुरा सुन्यौँ । हामीलाई उक्त कार्यक्रममा जाने उत्कट अभिलाषा जागेको कुरा सुनिल भाइलाई अवगत गरायौँ । उहाँले भिआइपी कोटामा त्यहाँ भाग लिन जानका लागि अन्य इच्छुक बाह्रजना व्यक्तिहरूसँगै हामीलाई पनि रेलको टिकट काटिदिनुभयो ।
२०८२ साल असार २३ गते बिहान ४ः३० बजे मेरी श्रीमती संगीता र म ब्रह्मकुमारी राजयोग ध्यान केन्द्र धरानमा पुग्यौँ । बिस्तारै अन्य व्यक्तिहरू पनि आउन थाले । हामी १४ जना जम्मा भयौँ । सुनिल भाइजीको नेतृत्वमा बिहान पाँच बजे हाइयास गाडीमा चढेर प्रजापिता ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय, मधुवन, माउट आबु, राजस्थानतिर लाग्यौँ । हामीमध्ये एकजना ८५ वर्षीय रामबहादुर श्रेष्ठ हुनुहुन्थ्यो । उहाँ औसद नेपाली उचाइभन्दा केही अग्ला अलिकति बोझिलो शरीर भएका व्यक्ति हुनुहुन्थ्यो । मैले मनमनमा सोचेँ ‘यी बुढा मानिस किन त्यति टाढाको यात्रामा हिँडेका होलान् ? यिनका छोराछोरीले यिनलाई यति टाढा जान किन अनुमति दिए ?’ तर, उहाँ फुर्तिसाथ हामीलाई भन्दै हुनुहुन्थ्यो, ‘१० वर्षदेखि बाबाको दर्शन गर्न माउण्ट आबु जान कोसिस गरेको थिएँ यस पटक बाबाले मलाई बोलाउनुभयो ।’ बाटामा पनि उहाँ हाँसीहाँसी कुरा गरिरहेको सुनिन्थ्यो ।
हामी बिहान सात बजेतिर जोगबनी रेल स्टेसनमा पुग्यौँ । ७ः३० बजे उदयपुर एक्स्प्रेस चढेर कटिहारतिर लाग्यौँ । यो लोकल रेला भएकाले कसैको पनि सिट तोकिएको थिएन । त्यसैले सिट पाउनका लागि तँछाडमछाड गर्दै हामी रेलमा चढ्यौँ । सिट नपाउनेहरू उभिएरै पनि यात्रा गर्यौं । काठमाडौंको सार्वजनिक यातायातमा हिँड्न अभ्यस्त हामीलाई यो कुनै नौलो अनुभव भएन । रेलले हामीलाई तोकिएकै समय १०ः३० बजे कटिहारमा पु¥यायो । हाम्रो सोचाइमा भारत पनि नेपाल जस्तै समय तालिकामा नचल्ने देश होला भन्ने लागेको थियो तर भारत समयतालिका अनुसार चल्ने देश रहेछ । ११ बजे राजधानी एक्सप्रेसमा चढेर उदयपुरतर्फ लाग्यौँ । हाम्रो टिकट एसि सेकेण्ड क्लासको रहेछ । हाम्रो क्याबिनमा ६ ओटा बर्थ थिए । म माथिल्लो टियरको बर्थमा सुतेँ ।
सङ्गीता, शीतल अग्रवाल, सविता अग्रवाल, शोभादेवी अग्रवाल अन्य ५ जना बर्थमा सुत्नुभयो । करिब ४५ घण्टाको यात्रापछि २५ गते बिहान ७ बजे हामी उदयपुर शहरमा पुग्यौँ । यात्राको अवधिभर कुनै समस्या भएन । अग्रवाल चेलीहरूले थरीथरीका खाने कुराहरू बोक्नुभएको थियो र हामीलाई छिन्छिनमा खान दिनुहुन्थ्यो ।
रेलबाट उत्रिएर हामीहरू उदयपुर दरवार हेर्न गयौँ । त्यो दरबार बिहान ९ बजेमात्र खुल्दो रहेछ । त्यसैले केही समय हामीहरूले पर्खन पर्यो । प्रतिटिकट भारु ४०० पर्नेमा हामी धेरैजना भएकाले प्रतिटिकट २५० मा नै प्राप्त गर्यौं । दरबारका कम्पाउण्ड, दरबारका डिजाइन, दरबारभित्रका कोठाहरू, त्यहाँ जम्मा गरिएका हातहतियारहरू तथा सङ्कलन गरिएका वस्तुहरूले राणाकालीन समयको कलाकौशल र इतिहासलाई उजागर गर्दथे । वास्तवमा उदयपुर दरबार हेर्नलाई अत्यन्त सुन्दर र मनमोहक थियो । दरवारको अवलोकनपछि हामीहरू बस चढेर आनन्द सरोवरतर्फ लाग्यौँ । हामीहरू त्यहाँ पुग्दा साँझको करिब सात बजेको थियो ।
हम्रो नाम सुनिल भाइले दर्ता गरिसक्नु भएकाले हामीलाई पुरुषहरू बस्ने घरमा लगियो । राजबिमल श्रेष्ठ, चिरञ्जीवी अग्रवाल, रामबहादुर श्रेष्ठ र मलाई टोइलेट बाथरुम भएको एउटा कोठा दिइएको थियो । कोठामा कुलर र फ्यानको व्यवस्था भएकाले गर्मीको महसुस भएन । सङ्गीताहरू महिला आवासमा बस्नुभयो । बसाइको चाँजो मिलाएपछि हामीह सभाहलमा आयौँ । त्यहाँ हामीलाई आयोजकद्वारा स्वागत गरियो । ब्रह्मकुमारीजसँग सम्बन्धित गुरुगुरुमा, दिदीबहिनी सबैले सेतो कपडा लगाएका देखिन्थ्यो । हलमा झापा, तेह्रथुम, सुनसरी, मोरङ, चितवन, पाल्पा आदि जिल्लाहरूबाट गएका करिब ३०० जना जति नेपाली उपस्थित हुनुहुन्थ्यो । त्यस्तै मुम्बइ, पूर्णें, हैदरावाद, उत्तर प्रदेश, मध्य प्रदेश आदि स्थानहरूका धेरै व्यक्तिहरूको उपस्थिति थियो । सम्पूर्ण सहभागीहरू र आयोजकहरूमा पुरुषहरूको तुलनामा महिलाहरूको संख्या बढी थियो ।
असार २६ गते बिहान ६ः३० बजेदेखि ८ बजेसम्म ध्यान गराइयो । त्यसपछि खाजानास्ता खान दिइयो । तरकारी लसुन, अदुवा, प्याज आदिविहीन पूर्णरूपमा साकाहारी प्रकारको हुन्थ्यो । १० बजेदेखि १ बजेसम्म उद्घाटन सत्र चल्यो । ‘समाजको समृद्धिमा आध्यात्मिकताको भूमिका’ भन्ने विषयमाथि विभिन्न वक्ताले मन्तव्य राख्नुभयो । नेपाली सहभागीहरूको तर्फबाट मलाई पनि मन्तव्य राख्ने अवसरका साथै सोसल वर्क अवार्ड पनि प्रदान गरियो । अपराह्न ४ः३० बजेदेखि ६ बजेसम्म ‘सङ्कटमा संयमता’ विषयमा प्रवचन सुनियो । ६ः३० बजेदेखि ८ बजेसम्म सामाजिक कार्य, नैतिकता र मूल्यमाथि आध्यात्मिकताको प्रभाव विषयमाथि प्रवचन सुनियो ।
असार २७ गते ६ः३० बजेदेखि ८ बजेसम्म हामीले ‘सर्वोच्च ईश्वरीय अनुभूति’का लागि ध्यान योग गर्यौं । १० बजेदेखि १२ः३० बजेसम्म लतबाट मुक्तिका लागि सामाजिक कार्यकर्ताहरूको भूमिका र अपराह्न ४ः३० बजेदेखि ६ बजेसम्म मूल्यमा आधारित कर्म दिगो विकासको मुख्य आधार विषयमाथि विभिन्न वक्ताले प्रकाश पार्नुभयो । साँझ ६ः३० बजेदेखि ८ः०० बजेसम्म हाम्रा लागि बिदाइ समरोहको कार्यक्रम गरियो । त्यस अवसरमा वक्ताहरूले ‘आध्यात्मिकता र सामाजिक मेलमिलाप’ बारेमा आ-आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।
असार २८ गते बिहान ६ः३० देखि ८ बजेसम्मको ध्यान सत्रपछि दृश्य अवलोकनका लागि हामीलाई निकै टाढा डाडाँमा रहेका ताल, सभाहल, ज्ञानसरोवर, जैन मन्दिरलगायत भिन्न मन्दिर भ्रमण गराइयो । यहाँको ताल पोखराको फेवातालभन्दा सानो रहेछ तर यसको भौगोलिक स्थिति भने निकै राम्रो रहेछ । खाना खाने घरमा एकै पटक सयौं जनालाई खाना खवाउन सक्ने व्यवस्था रहेछ । हामीले त्यहीँ बिहानको खाना खायौँ । हामी बासस्थान आइपुग्दा साँझ परिसकेको थियो ।
देह भौतिक विषय हो भने आत्मा आध्यात्मिक । मानिसहरू भौतिक कुराहरूको पछि लागेमा उनीहरूमा काम, क्रोध, माया, मोह, इष्र्या, लोभ आदि दुर्गुणहरू विकसित हुन्छन् । फलस्वरूप समाजमा झगडा र लडाइँको वातावरण सिर्जना हुन्छ । आज संसार भौतिक सुविधा र उपलब्धिका पछि लाग्दा लडाइँ र झगडाको चपेटामा फसिरहेको छ ।
असार २९ गतेका दिन बिहान ६ः३० बजेदेखि ८ बजे सम्म राजयोगद्वारा आन्तरिक शक्तिको खोजी गर्ने विषयमा ध्यानमा संलग्न भयौँ । १० बजे सबै कार्यक्रमहरू समाप्त भए । हामी त्यसदिन बेलुका ९ः४५ बजे राजधानी एक्स्प्रेस चढेर अर्को दिन असार ३० गते बिहान ७ः३० बजे नयाँदिल्ली आइपुग्यौँ । त्यहाँबाट अपराह्न ४ः२० बजे राजधानी एक्स्प्रेस चढेर ३१ गते बिहान ९ः३५ बजे कटिहार आइपुग्यौँ । त्यहाँबाट १०ः४५ बजे लोकल ट्रेन चढेर अपरान्ह १ बजे जोगमनी आइपुग्यौँ । त्यहाँबाट रिक्सा चढेर जोगबनी भन्सार पार ग¥यौँ । त्यसपछि रिजर्भ गरिएको बसमा चढेर अपराह्न तीन बजेतिर घर आइपुग्यौँ ।
असार २५ देखि २९ गते बिहानसम्मका प्रवचन र ध्यानबाट केही ज्ञान प्राप्त भयो । १९३० को दशकमा पाकिस्तानको सिन्धमा लेकराज कृपलानीले ब्रह्मकुमारीज (ब्रह्मका छोरीहरू) भन्ने संस्था खडा गरे । उनलाई ब्रह्म बाबु भनिन्छ । यो संस्थाले जात, राष्ट्रियता, धर्म र लिङ्गको आधारमा हुने मानिसको पहिचानलाई अस्वीकार गर्दछ । आत्मा नै मानिसको पहिचान हो । सबै आत्माहरू महान् आत्माका सन्तान हुन् । अर्थात सबै मानिसहरू शिवका सन्तान हुन् । यो आत्मचेतनको अनुभूति ध्यानद्वारा गर्न सकिन्छ ।
देह र आत्माको संयुक्त रूप नै मानिस हो । आत्माले देहभित्र प्रवेश गरेर जीवन निर्माण गर्दछ । देहबाट आत्मा निस्किएपछि त्यो निर्जीव हुन्छ, आत्मा भने सदैव अमर रहन्छ । देह भौतिक विषय हो भने आत्मा आध्यात्मिक । मानिसहरू भौतिक कुराहरूको पछि लागेमा उनीहरूमा काम, क्रोध, माया, मोह, इश्र्या, लोभ आदि दुर्गुणहरू विकसित हुन्छन् । फलस्वरुप समाजमा झगडा र लडाइँको वातावरण सिर्जना हुन्छ । आज संसार भौतिक सुविधा र उपलब्धिका पछि लाग्दा लडाइँ र झगडाको चपेटामा फसिरहेको छ ।
यसबाट मुक्त हुन भौतिक सुखसुविधाको बाटो छाडेर आध्यात्मिक मार्ग पच्छ्याउनुपर्छ । योगको माध्यमद्वारा शान्ति प्राप्त गर्न सकिन्छ । त्यसैले ब्रहमकुमारीजहरू एकअर्आकालाई ‘ओम शान्ति’ भन्दै अभिवादन गर्नुहुन्छ । यसको अर्थ ‘म नै आत्मा हुँ, म नै शान्ति हुँ’ भनेको हो भनेर उहाँहरू अथ्र्याउनु हुन्छ । उहाँहरूका अनुसार आत्माको परिवर्तनले व्यक्ति परिवर्तन गर्छ । व्यक्ति परिवर्तन भए संसार परिवर्तन हुन्छ ।
ब्रह्मकुमारीजको विश्वासमा यो विश्वब्रह्माण्डको आयु पाँच हजार वर्षको हुन्छ । यो समयावधिमा चार युगहरू आउँछन् । तिनीहरूलाई सत्ययुग, त्रेता युग, द्वापर युग र कलि युग भनिन्छ । तिनीहरूको चक्र अनन्त कालसम्म घुमिरहन्छ । यिनीहरू प्रत्येकको अवधि १२५० वर्षको हुन्छ । एकयुगको अवधि सकिएपछि अर्को युगको आरम्भ हुन्छ । कलियुग समाप्त हुने बेलामा सङ्गम युगको थालनी हुन्छ । यो युगको समाप्तिमा विश्वब्रह्माण्ड नै नासिन्छ । त्यसपछि फेरि सत्ययुगको सुरुवात हुन्छ । अहिले हामी सङ्गम युगमा छौँ । प्रजापिता ब्रह्मकुमारीज ईश्वरीय विश्वविद्यालयको अवलोकन, विद्वान कुमारहरूले दिनुभएको प्रवचन र त्यहाँ गरिएको ध्यान योगले अध्यात्मवादतिर मलाई तीव्र गतिमा डोहोर्याइरहेको महसुस हुन्छ । आध्यात्मिक चिन्तनले मलाई आनन्दको अनुभूति हुन्छ । ओम् शान्ति ।
कीर्तिपुर ५, काठमाडौं





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच