काठमाडौं । आगामी माघ २३ गतेदेखि प्रदर्शनमा आउने मिति तय गरेको चलचित्र ‘कुमारी’ को प्रचार-प्रसारका लागि निर्माण टिम देशव्यापीरूपमा जुटेको छ । चलचित्र र लाइभ संगीतलाई एउटै मञ्चमा जोड्दै ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एण्ड द लुङा’ आयोजना गरिने भएको हो ।
बिहीबार साँझ काठमाडौंमा आयोजित विशेष कार्यक्रममा चलचित्रका पाश्र्वगायक केहर सिंह लिम्बू र उहाँको ब्याण्ड केहर एण्ड द लुङाले लाइभ प्रस्तुति दिँदै कन्सर्ट टुरबारे औपचारिक जानकारीसमेत दिइएको थियो ।
बिग मार्टको प्रस्तुति तथा किङ्स हिल प्रिमियमको पावरमा आयोजना हुने यो प्रमोसनल टुर देशव्यापीरूपमा सञ्चालन हुनेछ । टुरमा ब्याण्डका सदस्यसँगै चलचित्रका मुख्य कलाकारहरू अभिषेक खड्का, आकृति राजभण्डारी तथा निर्देशक दिनेश राउत सहभागी हुनुहुनेछ ।
चलचित्रको संगीतिक आत्माका रूपमा स्थापित केहर एण्ड द लुङा लाई केन्द्रमा राख्दै नेपालगञ्ज, पोखरा, चितवन, काठमाडौं र दमकमा लाइभ म्युजिकल कन्सर्ट आयोजना गरिने आयोजकले जनाएको छ । तय गरिएको तालिकाअनुसार माघ १ गते नेपालगञ्ज, माघ ३ गते पोखरा, माघ ६ गते चितवन, माघ ९ गते काठमाडौं र माघ १७ गते दमकमा कन्सर्ट हुनेछ । काठमाडौंमा हुने कन्सर्टकै अवसरमा चलचित्र ‘कुमारी’ को आधिकारिक ट्रेलर सार्वजनिक गरिने जनाइएको छ ।
हाल चलचित्रको गीत ‘डोको बुन्ने निगालो चोयाले’ दर्शक-श्रोतामाझ लोकप्रिय बनेको छ । उक्त गीतमा केहर सिंह लिम्बूको स्वर, सागर लामिछाने मगर र सुमन तामाङको शब्द तथा सुमन तामाङ र केहर सिंह लिम्बूको संगीत छ । बिहीबारको कार्यक्रममा केहरले यही गीतसँगै चलचित्रको अर्को गीत ‘कता छौ मेरो फूल’ पनि प्रस्तुत गर्नुभएको थियो ।
देशव्यापी लाइभ कन्सर्ट टुरमार्फत् चलचित्र र संगीतलाई एउटै उत्सवका रूपमा प्रस्तुत गर्ने उद्देश्य रहेको निर्देशक दिनेश राउतले बताउनुभयो । चलचित्रको कथा तथा पटकथा विकास सुवेदीले लेख्नुभएको हो भने निर्माता महेन्द्र अधिकारी हुनुहुन्छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच