पछिल्ला आठ वर्षदेखि चलचित्र क्षेत्रमा निरन्तर आफ्ना प्रस्तुतिमार्फत् दर्शकको मन जित्न सफल हुनुहुन्छ कलाकार नारायण विक । चलचित्र अध्ययनदेखि थिएटरसम्मको अनुभव बटुल्नुभएका उहाँ मुम्बईमा बसेर बलिउडमा समेत अभिनय गर्नुभयो । उहाँले बलिउड सुपरस्टार विक्की कौशलसँग काम गर्ने अवसर पाउनुभयो । उहाँले विक्की कौशलको ‘श्याम बहादुर’मा पनि अभिनय गर्नुभयो । यस्तै, उहाँले बलिउड चलचित्र ‘उचाइ’मा पनि अभिनय गर्नुभएको छ । नारायणले ‘क्राइम पेट्रोल नेपाल’, ‘डोरी ओगायेत’ जस्ता चर्चित सिरिज तथा दर्जनौं नेपाली चलचित्रहरूमा सहायक भूमिकामा अभिनय गर्नुभएको छ । त्यस्तै, आधा दर्जन जस्तै म्युजिक भिडियो र वेब सिरिजमार्फत् पनि उहाँले आफ्नो अभिनय कौशल प्रस्तुत गर्नुभएको छ । हाल उहाँ निर्देशक रोशन दासको निर्देशनमा निर्माण भएको चलचित्र ‘प्रतिवैरम्’मार्फत् मुख्य खलनायक अर्थात् नेगेटिभ प्रहरी इन्स्पेक्टरको भूमिकामा दर्शकमाझ देखिन लाग्नुभएको छ । यस चलचित्रको केही दिनअघि टिजर पनि सार्वजनिक भएको छ । यो चलचित्र आगामी जेठ महिनामा प्रदर्शनमा आउने तयारीमा छ । यस चलचित्रमा उहाँले निभाएको कठोर, रहस्यमय र प्रभावशाली प्रहरी चरित्रले दर्शकलाई नयाँ स्वाद दिने विश्वास गरिएको छ । लगातारको मिहिनेत, थिएटरको अभ्यास र विभिन्न माध्यममा गरेको अभिनयले उहाँ आज चलचित्र क्षेत्रमा लोकप्रिय बन्दै गएको कलाकारका रूपमा उभिनुभएको छ । भिड पछ्याएर होइन आफ्नो पहिचान आफैं बनाउनुपर्छ भन्ने मान्यता राख्नुहुने कलाकार नारायण विकसँग हिमालय टाइम्सका लागि गीता अधिकारीले गर्नुभएको संवादको संक्षिप्त अंशः-
यहाँ विगत आठ वर्षदेखि निरन्तर कलाकारिता क्षेत्रमा सक्रिय हुनुहुन्छ, यो यात्रालाई कसरी हेर्नुहुन्छ ?
हो, यहाँले भने जस्तै म विगत आठ वर्षदेखि यो क्षेत्रमा निरन्तर सक्रिय छु । केही नेपाली र केही बलिउडका चलचित्रमा काम गरें । यो यात्रामा अस्वीकार, संघर्ष, आत्मसंघर्ष र सिकाइ सबै मिसिएका छन् । आज दर्शकले चिन्ने अवस्थामा आइपुग्नु मेरो निरन्तर मिहिनेत, थिएटर अभ्यास र चलचित्रप्रतिको समर्पणको परिणाम हो भन्ने लाग्छ । अझै सिक्दै छु, अझै अगाडि जानु छ ।
विगत आठ वर्षदेखि चलचित्र क्षेत्रमा सक्रिय कलाकार नारायण विक निरन्तर आफ्ना प्रस्तुतिमार्फत् दर्शकको मन जित्दै जानुभएको छ । चलचित्र अध्ययनदेखि थिएटरसम्मको अनुभव बटुल्नुभएका उहाँले मुम्बईमा बसेर बलिउड चलचित्र ‘श्याम बहादुर’ (विक्की कौशलसँग) र ‘उचाइ’मा अभिनय गर्नुभएको छ । साथै उहाँले ‘क्राइम पेट्रोल नेपाल’, ‘डोरी ओगायेत’ लगायतका सिरिज तथा दर्जनौँ नेपाली चलचित्र, म्युजिक भिडियो र वेब सिरिजमा अभिनय गर्नुभएको छ । हाल उहाँ निर्देशक रोशन दासको चलचित्र ‘प्रतिवैरम्’मा मुख्य खलनायक प्रहरी इन्स्पेक्टरको भूमिकामा देखिँदै हुनुहुन्छ, जुन जेठ महिनामा प्रदर्शनको तयारीमा छ । निरन्तर मिहिनेत र थिएटर अभ्यासका कारण उहाँ चलचित्र क्षेत्रमा लोकप्रिय बन्दै जानुभएको छ ।
फिल्म अध्ययनदेखि थिएटर हुँदै मुम्बईसम्मको अनुभव बटुल्नुभयो । बलिउड यात्रा कस्तो रह्यो ?
मुम्बई आफैंमा एउटा पाठशाला हो । त्यहाँ रहँदा अनुशासन, प्रतिस्पर्धा र पेशागत सोच सिक्ने अवसर पाएँ । बलिउड सुपरस्टार विक्की कौशलसँग ‘श्याम बहादुर’ जस्तो चलचित्रमा काम गर्न पाउनु मेरा लागि ठूलो अनुभव थियो । ‘उचाइ’ जस्ता प्रोजेक्टमा पनि अभिनय गर्ने मौका मिल्यो, जसले मेरो आत्मविश्वास अझ बढायो ।
यहाँ विभिन्न सिरिज र चलचित्रमा सहायक भूमिकामा देखिनुभयो । ती अनुभव कस्ता रहे ?
मैले नेपालमा ‘क्राइम पेट्रोल नेपाल’, ‘डोरी ओगायेत’ लगायतका सिरिज र दर्जनौँ नेपाली चलचित्रमा काम गरेँ । सहायक भूमिका भए पनि हरेक चरित्रलाई मुख्य पात्र जस्तै मिहिनेत गरेर निभाएँ । त्यही अभ्यासले आज मुख्य भूमिकाको जिम्मेवारी सम्हाल्न सक्षम बनाएको हो ।
नयाँ चलचित्र ‘प्रतिवैरम्’मा तपाईं मुख्य खलनायक, त्यो पनि प्रहरी इन्स्पेक्टरको भूमिकामा देखिँदै हुनुहुन्छ । कत्तिको चुनौतीपूर्ण रह्यो ?
यस चलचित्रमा म प्रहरीको भूमिकामा छु । नेगेटिभ प्रहरीको चरित्र सजिलो थिएन । तर, निर्देशक रोशन दासको स्पष्ट दृष्टिकोण र मेरो थिएटर पृष्ठभूमिले चरित्र निर्माणमा सहयोग गरेको छ । दर्शकले यस भूमिकामा मलाई नयाँ रूपमा देख्नुहुनेछ भन्ने विश्वास छ ।
‘प्रतिवैरम्’ कस्तो चलचित्र हो ?
केही दिनअघि यो चलचित्रको टिजर सार्वजनिक भएको छ, जसलाई धेरैले मन पनि पराइदिनुभएको छ । सार्वजनिक टिजरले ‘प्रतिवैरम्’ एक्सन चलचित्र रहेको दर्शकले पाउनुभएको छ । मधेस केन्द्रित सामाजिक तथा राजनीतिक विषयवस्तुमा आधारित यस चलचित्रको सार्वजनिक टिजरले सिनेमा पूर्ण एक्सन र मधेसमा हुने अपराधको विषयमा बनेको झल्को दिएको छ । दाइजोको कुरा र दाजुबहिनीको प्रेम सम्बन्ध पनि देखाउन खोजिएको छ ।
निर्देशक रोशन दासको निर्देशनमा निर्माण भएको यो चलचित्रमा सम्राट दास, सुप्रज्ञा शर्मा, वीरेन्द्र कुशवाहा, अलिशा बास्तोला, रोन्नी यादव, विकी शाह, नवीन श्रेष्ठ, गीताश्री, आशिष डिके, प्रदीप ढकाल, विके शाह, रामेश बुढाथोकीलगायत कलाकारहरूको अभिनय छ ।
चलचित्रको सह-निर्देशकमा सन्तोष मल्ल, अग्नि सुवेदी, धिरज राउत र सिर्जना भुजेल रहनुभएको छ । रेज इन्टरटेनमेन्टले किङ वाइटीसँगको सहकार्यमा निर्माण गरेको यस चलचित्रका प्रोडक्सन म्यानेजर कमल सुनार हुनुहुन्छ भने लाइन प्रोडक्सनको जिम्मेवारी पंकज महतोले सम्हाल्नुभएको छ । चलचित्रको सम्पादन कविर वोडले गर्नुभएको छ । मधेसका वास्तविक कथा, सौन्दर्य र सामाजिक-राजनीतिक समस्यालाई यथार्थपरक ढंगले प्रस्तुत गर्ने उद्देश्यले यो चलचित्र निर्माण गरिएको छ । यस चलचित्रमार्फत् मधेसको वास्तविक जीवन र संवेदना दर्शकमाझ आउने अपेक्षा गरिएको छ ।
चलचित्रको कथा निर्देशक दास स्वयंको हो भने पटकथा युवराज भट्टराईले लेख्नुभएको हो । २०८३ सालको जेठ महिनामा प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्र नेपाली, हिन्दी, मैथिली र भोजपुरी भाषामा निर्माण गरिँदै छ ।
कत्तिको आशावादी हुनुहुन्छ यस चलचित्रबाट ?
यो चलचित्रमा धेरै नयाँ कलाकार भए पनि सबैले राम्रो काम गर्नुभएको छ । सबैको मिहिनेतबाट एउटा राम्रो नेपाली चलचित्र निर्माण भएको छ । आशावादी छौं ।
आफूलाई कस्तो कलाकारका रूपमा परिचित गराउनुहुन्छ ?
निरन्तर यो क्षेत्रमा आफूलाई पूर्णरूपमा समर्पित गरेर लागेको छु । सफलता गन्तव्य होइन, प्रक्रिया हो । हरेक भूमिकाबाट आफूलाई अझ परिष्कृत गर्दै लैजान चाहन्छु ।
हाल तपाईं कुन-कुन प्रोजेक्टमा व्यस्त हुनुहुन्छ ?
अहिले सिरिज ‘विक्रम आदित्य’ मा व्यस्त छु । यससँगै केही वेब सिरिज र फिल्मका प्रस्तावहरूमाथि पनि छलफल भइरहेको छ ।
तपाईं कलाकारमा राजनीतिक चेत हुनुपर्छ भन्नुहुन्छ, किन ?
कलाकार समाजको ऐना हो । राजनीतिक चेतबिना समाज बुझ्न सकिँदैन । कलाकारको सोच क्रिएटिभमात्र होइन, सचेत पनि हुनुपर्छ । प्रश्न गर्न सक्ने, अन्याय देखेर बोल्न सक्ने क्षमता एक सचेत नागरिकमा हुनुपर्छ । कलाकार पनि यो समाजको सचेत नागरिक हो । उसका कुरा धेरैले फलो गरेका हुन्छन् । त्यसैले कलाकारमा राजनीतिक चेत हुनैपर्छ भन्ने लाग्छ ।
आजको समयमा कलाकारले कसरी आफ्नो पहिचान बनाउने ?
आफ्नो पहिचान आफैं बनाउनुपर्छ । भिड पछ्याएर होइन, आफ्नो सोच, काम र अनुशासनमार्फत् । काम बलियो हुनुपर्छ भन्ने मेरो मान्यता हो ।
अभिनयसँगै निर्देशनमा पनि हात हाल्नुभएको छ ?
हो, केही लघु चलचित्र र म्युजिक भिडियो निर्देशन गरेको छु । निर्देशनले कलाकारलाई अझ गहिरो बनाउँछ । भविष्यमा अभिनयसँगै निर्देशनलाई पनि सँगै लैजाने सोच छ ।
यहाँले केही अवार्ड, पुरस्कार र सम्मान पनि प्राप्त गर्नुभएको छ, कस्तो लाग्छ ?
हिमालयन अन्तर्राष्ट्रिय अवार्डलगायत केही मान-सम्मान र पुरस्कार प्राप्त भएका छन् । यस्ता अवार्ड र सम्मानले जिम्मेवारी बढाउँछ । म सही बाटोमा छु भन्ने अनुभूति गराउँछ । यसले अझ राम्रो काम गर्न प्रेरित गरेको छ ।
अन्त्यमा ?
मैले अभिनयमार्फत् आफूभित्रको कलाकारिता अझ सशक्तरूपमा प्रस्तुत गर्ने प्रयास गरेको छु । दर्शकको माया र साथले नै कलाकार बाँच्ने हो । माया गरिरहनुहोस्, म निरन्तर मिहिनेत गरिरहनेछु ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच