चितवन । आदिवासी थारु समाज, संस्कृति र ज्ञानको जगेर्ना गर्न नसके नेपाली साहित्य र इतिहास नै अपुरो रहने विज्ञहरूले निष्कर्ष निकालेका छन् । चितवनको सौराहामा शनिबार आयोजित कार्यशालामा वक्ताहरूले नेपाली साहित्यको जग नै थारु संस्कार, संस्कृति र जीवनशैलीसँग जोडिएको बताएका हुन् ।
कविडाँडा साहित्य समाज, चितवनको आयोजनामा सम्पन्न कार्यशालामा थारु समुदायको ऐतिहासिक भूमिका, साहित्यिक योगदान र वर्तमान पहिचान संकटबारे गहिरो बहस गरिएको थियो ।
सो अवसरमा चितवनको इतिहासका अध्येता तथा अमेरिकी इतिहासविद् प्रोफेसर डा. थोमस रमर्सन (टम) ले थारु समुदायलाई अलग गरेर चितवनको इतिहास लेख्नै नसकिने स्पष्ट पार्नुभयो ।“हरेक समाजको आफ्नै इतिहास हुन्छ। वन, नदी र हावासमेतको इतिहास हुन्छ। चितवनका थारुहरूले वन, नदी र वातावरणसँग जोडिएको इतिहास बोकेका छन् । यसको अध्ययन र संरक्षण आज अत्यन्त आवश्यक छ,” उहाँले भन्नुभयो।
तीस वर्षदेखि नेपालमा बसेर वातावरणीय इतिहासको अध्ययन-अनुसन्धान गरिरहेका रमर्सनले थारु समुदायको परम्परागत ज्ञानकै कारण चितवनका घाँसे मैदान, बाघ र गैँडाजस्ता वन्यजन्तुको संरक्षण सम्भव भएको उल्लेख गर्नुभयो। “थारुहरूको संस्कृति, ज्ञान र स्थानीय भाषा संरक्षण गर्न सकियो भने चितवनको इतिहास सुरक्षित हुन्छ,” उहाँले भन्नुभयो।
उहाँले आधुनिकीकरणसगै नेपालमा इतिहासप्रति मानिसको रुची हराउँदै गएको बताउनुभयो। "नेपालमा मान्छे हरु उहिलेको कुरा सुन्न चाहँदैनन् ,आधुनिक कुरा मात्र गर्छन् । तर पुरानो कुरा महत्वपूर्ण हुन्छ। "
कार्यक्रममा मदन पुरस्कार विजेता नीलम कार्की निहारिका ले नेपाली समाजमा इतिहासप्रतिको रुचि कमजोर हुनु दुःखद् भएको बताउनुभयो। “नेपालमा इतिहास लेखनको परम्परा लामो छैन। राजनीतिक परिवर्तनले सांस्कृतिक विखण्डन गर्यो, तर अहिले हरेक समुदायको संस्कृतिबारे बोल्न पाउनु सकारात्मक पक्ष हो,” उहाँले भन्नुभयो। साहित्य र संस्कृति एक–अर्कासँग जोडिएको उल्लेख गर्दै उहाँले संस्कृतिलाई नबुझी साहित्य लेख्न नसकिने धारणा राख्नुभयो।
कविडाँडा साहित्य समाजका अध्यक्ष एल वि क्षेत्रीले आधुनिकता र आयतित संस्कृतिले थारु समाजमा पनि प्रभाव पारेको धारणा राख्नुभयो । " पहिचान सवै भन्दा ठूलो कुरा हो । पहिचान संरक्षणमा सवै लाग्न जरुरी छ", उहाँले भन्नुभयो ।
कार्यक्रममा थारु साहित्य चितवनको साहित्यिक इतिहासको अग्रमोर्चामा रहेको उल्लेख गर्दै जितिया पावनी कविता सङ्ग्रहबाट थारु साहित्यको यात्रा सुरु भई नेपाली भाषामा रुपान्तरण भएको जानकारी दिइयो। थारु इतिहासको खोजीमा राजस्थानसम्म पुगेका भाजुमान महतो ले थारु समुदायसँग समृद्ध सांस्कृतिक-साहित्यिक इतिहास रहेको बताउनुभयाे ।
प्रोफेसर डा. सञ्जय चौधरी ले प्रस्तुत गर्नुभएको कार्यपत्रमा थारु समुदायमा ज्ञान-सीपमा धनी भए पनि मौलिकता संकटमा परेको उल्लेख गर्नुभयो । आधुनिकीकरण र राज्यको नीतिका कारण भविष्यमा थारु पहिचान मर्ने खतरा बढेको उहाँको भनाइ थियो । "हाल विद्यमान थारु सस्कृति प्रकृतिमा आधारित सनातन हिन्दू संस्कृति हो उहाँले भन्नुभयो । थारु समुदाय प्रकृति र जीविकोपार्जनमा आधारित समाज भएको र जंगल, खोला, माटो तथा कृषि औजारलाई पूज्ने परम्परा रहेको पनि उहाँले स्पष्ट पार्नुभयो।
कार्यशालामा डा. कृष्णहरि सर्वाहारी ले नेपालमा थारुको जनसंख्या १८ लाखभन्दा बढी रहेको उल्लेख गर्नुभयो । सहभागीहरूले थारु समुदायको भाषा, संस्कृति, ज्ञान र पहिचान संरक्षण गर्दै राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न यस्ता बहस र कार्यशालाहरूलाई निरन्तरता दिनुपर्ने आवश्यकता औंल्याएका छन् । कार्यक्रममा साहित्यकार एकनारायण पौड्यालले दुवै कार्यपत्र माथि समिक्षा गर्नुभएको थियो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच