काठमाडौं । नेपाली कांग्रेसका विभिन्न देशमा रहेका जनसम्पर्क समितिहरूले पार्टीको नियमित महाधिवेशनमार्फत संगठनलाई थप बलियो र एकताबद्ध बनाउन आग्रह गरेका छन् । शनिबार १७ देशका नेपाली जनसम्पर्क समितिका सभापतिहरूले संयुक्त अपिल जारी गर्दै विधानअनुसार अघि बढिरहेको १५औँ नियमित महाधिवेशनको प्रक्रियालाई निरन्तरता दिनुपर्ने बताएका छन् ।
अपिलमा भनिएको छ, ‘कांग्रेसको आन्तरिक जीवनमा अहिले अप्ठ्यारो अवस्था देखिएको छ । मुलुकमा फागुन २१ गते निर्वाचन घोषणा भइसकेको वर्तमान सन्दर्भमा आन्तरिक मतभेदलाई थाँती राखी पार्टी र देशलाई बलियो बनाउने दिशामा अघि बढ्नु अपरिहार्य छ ।’ उनीहरूले यो समय अझ बढी संगठित, एकताबद्ध भई आपसी भाइचारा र हार्दिकता बढाउँदै अघि बढ्नुपर्ने भएकाले सो मर्मलाई आत्मसात् गर्न पार्टी नेतृत्वसँग आग्रह गरेका छन् ।
संयुक्त विज्ञप्तिमा आम निर्वाचनको प्रक्रिया सुरु भइसकेको उल्लेख गर्दै एकढिक्का भएर चुनावी अभियानमा होमिनुपर्नेमा जोड दिइएको छ । साथै आगामी वैशाख २८ गतेदेखि ३१ गतेसम्म हुने १५औँ नियमित महाधिवेशनले पार्टीलाई नयाँ जीवन र ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ । यसका लागि विभिन्न देशका नेपाली जनसम्पर्क समितिहरूबाट नयाँ महाधिवेशन प्रतिनिधिहरू चयन भइसकेको पनि विज्ञप्तिमा उल्लेख छ ।
पार्टीको पुस १८ गते सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको निर्णयको सम्मान गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै उनीहरूले सबै देशका जनसम्पर्क समितिका सदस्य र प्रतिनिधिहरूलाई पार्टी एकता अक्षुण्ण राख्दै आम निर्वाचन र महाधिवेशन सफल बनाउन सक्रियतापूर्वक लाग्न अपिल गरेका छन् ।
विज्ञप्तिमार्फत नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई संयमित, जिम्मेवार र मर्यादित ढंगले भूमिका निर्वाह गर्न तथा आपसी सम्मानको भावनासहित अघि बढ्न अनुरोध गरिएको छ । संयुक्त विज्ञप्तिमा भारतका बालकृष्ण पाण्डे, अमेरिकाका आनन्द विष्ट, बेलायतका युवराज गुरुङ, जापानका रोशन केसी, अस्ट्रेलियाका सुरेश गुरुङ, मलेसियाका चोलाकान्त पंगेनी, दुबईका भुवानीप्रसाद तिमिल्सिना, साउदी अरबका अर्जुन थापा, बहराइनका शेरबहादुर रावत, बेल्जियमका सुभाष गुरुङ, नेदरल्याण्डका शालिक गौतम, जर्मनीका शिखर खड्का, डेनमार्कका यादव बस्नेत, स्वीडेनका नवीन थपलिया, इजरायलकी दिपिका भुसाल, क्यानडाका बुद्धिप्रकाश ओली र न्यूजिल्याण्डका बुद्धिसागर घिमिरेले हस्ताक्षर गर्नुभएको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच