लोकतान्त्रिक प्रक्रिया र परिवर्तनको अग्रणी नेपाली कांग्रेस इतिहासकै सबभन्दा संकटपूर्ण अवस्थामा पुगेको छ । आजबाट कांग्रेसको एउटा पक्षले विशेष महाधिवेशन गर्दैछ । पुस २७ र २८ गते पार्टीका दुई महामन्त्री नेतृत्वको पक्षले विशेष महाधिवेशन आयोजना गरेको हो । दुई पक्ष सिद्धान्तविहीन नेतृत्वको महात्वांक्षा र अहंकारजन्य चिन्तनका कारण चरम दूरी कायम भएको अवस्था छ । यी दुई पक्ष आफ्नो अडानलाई अन्तिम सत्य मान्दै संकटको यस अवस्थामा पुगेका हुन् । महामन्त्री र सभापति दुवै पक्षको हठ यतिखेर छुट्याउन कठिन छ । त्यही अमूर्त, गैरतार्किक हठको परिणाम इतिहासकै सबैभन्दा अप्ठ्यारो क्षणमा कांग्रेस पुगेको छ । गत भदौको अकल्पनीय क्षण अहिलेसम्म ताजै छ, यस घाउमा खाटा बसिसकेको छैन । तर कांग्रेस भने थप घाउ सिर्जनामा व्यस्त छ ।
अन्य दलहरूले फागुन २१ को लक्ष्य तय गरिसकेका छन् । चुनावी रणनीति तयार पारी अगाडि बढेका छन् उनीहरू । तर कांग्रेसले भने आन्तरिक खिजातानीमा अल्झिएर कुनै पनि चुनावी तयारी गर्न सकेको छैन । संस्थापन इतर पक्ष जो महाधिवेशनको माहोल तयार गरेर त्यसमा संलग्न भइरहेको छ, त्यस पक्षले संस्थापन पक्षले केही नगरेको आरोप लगाउँदै आएको छ । अहिलेसम्म पार्टीले चुनावका लागि कुनै तयारी नगरेको, घोषणापत्रहरू तयार नगरेको, कार्यकर्ताहरूलाई त्यसका लागि तयारी अवस्थामा नराखेको जस्ता आरोपहरू लगाउनाले कांग्रेसको हालको अवस्था छर्लंग देखिन आएको छ । कांग्रेस यति नराम्ररी विभाजित मनस्थितिमा पुगेको सम्भवतः निकै समयान्तरमा पहिलो पटक हो ।
सुरु-सुरुमा कांग्रेसको मत विभाजन भनेको त्यो व्यक्तिको धारणाको पृथकता मानिन्थ्यो, किनभने त्यसबेला पार्टी सानो हुन्थ्यो र दुईजना व्यक्तिको मत नमिलेर विभाजनको अवस्था आयो भने पनि वास्तवमा कोही व्यक्तिलाई पार्टीबाट हटाइने अथवा दुई-चारजना पार्टीबाट निस्किएर जाने गर्थे तर अहिले त्यस्तो अवस्था होइन । पार्टी ठूलो छ जति-जति पार्टी संकटपूर्ण अवस्थामा हुन्छ त्यसबेला कार्यकर्ता थोरै हुन्छन् । पार्टी खुकुलो भएको बेला त्यहाँ जो पनि अटाउने अवस्था आउँछ । त्यसबेला पार्टी ठूलो भएको हुन्छ । प्रतिबन्धित अवस्थामा नेपाली कांग्रेस पार्टी अहिलेको जति ठूलो थिएन त्यसमा यति कार्यकर्ता, नेता थिएनन् तर निरंकुशताबाट बाहिर आएर प्रजातान्त्रिक आकाशमुनि आइपुगेपछि त्यहाँ जो पनि अटाउन सक्ने परिस्थिति निर्माण भएको छ ।
त्यस अवस्थामा मानिसहरू पार्टीको सदस्यता लिएर सक्रियता देखाउन थाल्छन् । अहिले नेपाली कांग्रेस नेपाली राजनीतिमा सबैभन्दा ठूलो पार्टी भनेर चिनिएको अवस्था छ तर नेता र नेतृत्वको अकर्मन्यताले पार्टी यस अवस्थामा पुगेको सम्पूर्ण व्यक्तिलाई थाहा छ । आशा र भरोसा गरेको पार्टी नफुटोस् भन्ने जनताको चाहना पनि हो तर त्यो चाहनाले मात्र पार्टी एक ढिक्का भएर रहन सक्ने अवस्था देखिएको छैन । संस्थापन पक्ष र संस्थापन इतर पक्ष भनेर पहिलेदेखि नै यसभित्र दुई खेमा स्पष्ट छ । जुनसुकै पदमा नियुक्तिका लागि तथा अन्य कुनै प्राप्तिका लागि छलफल हुँदा जहिले पनि साठी र चालीस प्रतिशतको भागबण्डा हुनेगथ्र्यो ।
यसबाट नै पार्टीमा पक्ष र विपक्ष छ भन्ने देखिन्थ्यो तर अहिले आएर सडकमै छताछुल्ल भएर कांग्रेसभित्रको विवाद सबैका सामु पोखिन पुगेको छ । यसले गर्दा एकथरी मानिसलाई कांग्रेसको विभाजनको अवस्था देख्दा खुशी लागेको होला तर अर्को थरी त्यत्तिकै संख्याका मानिसहरू पीडा अनुभव गरिरहेका पनि छन् । किनभने इतिहासमा अनेकौं परिवर्तनको संवाहक बनेको बेलाबेलामा संकटपूर्ण अवस्थामा राष्ट्रलाई निकास दिन महत्वपूर्ण भूमिका खेलेको अरू पार्टीहरूलाई पनि मिलाएर राष्ट्र सञ्चालनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको पार्टी अहिले यसरी सानेपा र भृकुटीमण्डपमा विभाजित भएर पोखिनुले कांग्रेस र कांग्रेसका शुभचिन्तकहरूमा घोर निराशा छाएको छ ।
यसलाई कांग्रेसको नेतृत्वमा रहेका व्यक्तिहरूको बीचको जुँगाको लडाइँ मान्ने गरिँदै आएको छ । यो नेताहरूबीचको प्रतिष्ठाको लडाइँ हो, पार्टीको सैद्धान्तिक लडाइँ होइन । एकले भनेको अर्काले नटेर्दाको अवस्था र स्वार्थ सिद्ध गर्ने उद्देश्यका कारण सिर्जना भएको परिस्थिति हो यो । पार्टीमा पदाधिकारीहरूको संख्यात्मक हिसाबले हेर्ने हो भने संस्थापन पक्ष निकै ठूलो छ तर देशभरिबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरूको संख्याको हिसाबले हेर्दा विशेष अधिवेशन गरिरहेका पक्षधरहरू सबल देखिन्छन् । नेपालमा जब-जब कुनै पार्टी ठूलो बन्दै जान्छ र मजबुत हुन्छ त्यसपछि त्यसलाई फुटाउने तत्वहरू सक्रिय हुन्छन् । ती तत्वहरू बाह्य हुन सक्छन् र आन्तरिक पनि हुन सक्छन् ।
जो भए पनि तिनीहरूले आफ्नो अभिष्ट पूरा गर्न विभिन्न पार्टीहरूलाई बेलाबेलामा फुटाउने र दुई-चार चिरा बनाउने काम गर्छन् । त्यसबाट कुनै पनि पार्टी अछुतो रहन सकेका छैनन् । बहुदलीय व्यवस्थाको स्थापनापछि पनि कांग्रेस एक पटक फुटिसकेको र पुनः जुटेको थियो । जसबाट यस्तै अवस्था सिर्जना भएको थियो र वर्तमान सभापति शेरबहादुर देउवा त्यसबेला नेपाली कांग्रेस प्रजातान्त्रिक बनाएर त्यसको नेतृत्व गरी अगाडि बढ्नुभएको थियो । तर, केही समयमै पुनः कांग्रेस एकीकरण भयो । फुट्ने र जुट्ने यो क्रम अरू पार्टीहरूमा पनि चल्दै आएको छ । फुटेर गएका कोही पनि सफल बन्न सकेको भने देखिएको छैन । अहिले कांग्रेसमा विशेष महाधिवेशनमा सक्रिय रहेकै नेताहरू पार्टी फुट्दैन भनिरहेका छन् भने विश्लेषकहरूले त्यही महाधिवेशनबाट पदाधिकारीको छनोट गर्ने हो भने पार्टी स्वतः फुट्ने आँकलन गरिरहेका छन् । सामुमा आइसकेको निर्वाचनको तयारी गर्नुको सट्टा यसरी विशेष महाधिवेशनमा यो पक्ष जुट्नु हुँदैनथ्यो भन्नेहरू एकातिर छन् भने अर्कातिर पार्टीको ४० प्रतिशत प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दा पार्टीले महाधिवेशन गराउनुपथ्र्यो भन्नेहरू पनि छन् ।
अहिले त झन् यसका लागि ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर पार्टीमा बुझाएको दाबी गरिएको छ । त्यसलाई पार्टीले नजरअन्दाज गरेको हुँदा अहिलेको परिस्थिति खडा भएको हो भन्ने विश्लेषकहरूले निष्कर्ष दिइरहेका छन् । चिन्ता के हो भने एकातिर नेपाली कांग्रेस फुट्ने हो कि भन्ने सबैलाई लागेको छ भने अर्कातिर पार्टी कार्यालयमै पनि नेताहरूलाई अवरोध पुर्याउँदै आउने अवस्था सिर्जना भएको हुँदा त्यसबेला कांग्रेसकै दुई पक्षका बीचमा भिडन्तको अवस्था सिर्जना हुने हो कि भन्ने पनि सबैलाई लागेको छ । यस्तो दुर्भाग्यपूर्ण अवस्था ननिम्तियोस् र कांग्रेसको एकता कायम होस् भन्ने समयको माग हो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच