कैलाली । कैलालीको चुरे क्षेत्रबाट सालको काठ तस्करी बढेको छ । एक महिनामै वन कार्यालयले चुरेको विभिन्न क्षेत्रबाट ठूलो परिमाणको सालको चिरान गरेको काठ बरामद गरेको छ ।
डिभिजन वन कार्यालय कैलालीले चुरेको विभिन्न स्थानबाट एक महिनाको अन्तरालमा ५३१ दशकलव ४८ क्यूफिट सालको चिरान गरेको काठ बरामद भएको जानकारी दिएको छ । सोमवार पत्रकार सम्मेलन गर्दै वरिष्ठ डिभिजनल वन अधिकृत रामविचारी ठाकुरले चुरे गाउँपालिका क्षेत्रमा रहेका सामुदायिक वनबाट ६ पटक तथा गौरीगङ्गा नगरपालिका वडा नम्बर ६ बाट एक पटक गरी एकमहिनामा सात ठाउँबाट सालको काठ बरामद भएको बताउनुभयो ।
मंसिर २६ गते कार्यालयमा हाजिर हुनुभएका वरिष्ठ डिभिजनल वन अधिकृत ठाकुरले चुरे–५ मौरीगाउँबाट वेवारिसे अवस्थामा रहेको १४९ दशमलव ९८ क्यूफिट चिरान साल थान २३० बरामद भएको बताउनु भयो । यस्तै, पुस १२ गते गौरीगङ्गा नगरपालिका–६ बाट २५ दशमलव २८ क्युफिट सिसौ, हातेआरा थान एक, एक थान किप्याड मोबाइल र गोदावरी नगरपालिका–७ बस्ने श्यामबहादुर चौधरी र प्रेम चौधरीलाई नियन्त्रणमा लिएको बताउनुभयो ।
डिभिजन वन कार्यालय कैलालीले पुस १९ गते चुरे–२ विभिन्न तीन स्थनबाट सालको काठ बरामद गरिएको छ । चुरे–२ को एक सामुदयिक वन क्षेत्रबाट ५९ दशमलव १९ क्युफिट सालको ६८ थान चिरान काठ बरामद गरेको जनाएको छ । यसैगरी, सोही दिन फरक–फरक दुई स्थानबाट क्रमशः ३६ दशमलव ८९ तथा ५१ दशमलव ५१ क्युफिट काठ वेवारिसे अवस्थामा फेला परेको बताइएको छ ।
डिभिजन वन कार्यालयले पुस २० गते चुरे–२ बाट सालको २७७ थान चिरान काठ बरामद गरिएको र उक्त काठको परिमाण १३९ दशमलव ९७ क्युफिट रहेको ठाकुरले बताउनु भयो ।
वरिष्ठ डिभिजलन वन अधिकृत ठाकुरले वन कर्मचारीको सक्रियताले वन क्षेत्रबाट कटान गरिएको काठ बरामद भएको बताउनु भयो । उहाँले चुरे क्षेत्रमा रहेका सामुदायिक वन क्षेत्रबाट काठ कटान गरिएको र विभिन्न स्थानमा लुकाएको अवस्थामा फेला परेको बताउनु भयो ।
तर कुन वन क्षेत्रबाट बरामद गरिएको काठ कटान भएको हो भन्ने तथ्य भने फेला नपरेको ठाकुरले बताउनु भयो । ठाकुरले आफू कार्यालयमा हाजिर भएपछि तस्करी नियन्त्रण गर्न तदारुकता देखाएको दाबी गर्नु भएको छ । “म मंसिर २६ गते कार्यालयमा हाजिर भएको हुँ। त्यस पश्चात् जुन चुरे क्षेत्रमा व्यापक रुपमा वन पैदावारको चोरी निकासी, वन्यजन्तुहरूको सिकार, अतिक्रमण लगायतका घटना हुने गरेको भनेर विभिन्न माध्यमबाट जानकारीमा आएको थियो,” उहाँले भन्नुभयो, “त्यसपछि मैलै सव–डिभिजनका कर्मचारी तथा आफै पनि विभिन्न संवेदनशील क्षेत्रमा गएर काठ नियन्त्रण गरिएको हो।”
ठाकुरले चुरे क्षेत्रमा केही सामुदायिक वनकै पदाधिकारी काठ तस्करीमा लागेको बताउनु भयो । तस्करीको काठ समातेपछि उनीहरूको भागाभाग भएको उहाँले दाबी गर्नुभयो । उहाँले काठको अनुसन्धान भईरहेको छिट्टै तस्कर पत्ता लाग्ने दावी गर्नुभयो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच