नेपाली कांग्रेस आज आफ्नो इतिहासकै सबैभन्दा संवेदनशील र निर्णायक मोडमा पुगेको छ । राजमार्गमा गुड्दै गरेको गाडी एक्कासि ब्रेक फ्रेल भएर भीरको डिलमा अड्एिको जस्तो देखिन्छ कांग्रेसको अवस्था । पुस २७ र २८ गते पार्टीको असन्तुष्ट पक्षले सम्पन्न गरेको विशेष महाधिवेशन र अर्को सभापति पक्षको मौन भूमिकाले कांग्रेसभित्रको गहिरिँदो संकटलाई सतहमा ल्याइदिएको छ । भृकुटीमण्डपमा देखिएको जनसहभागिता केवल एउटा गुटको शक्ति प्रदर्शनमात्र थिएन, त्यो पार्टीभित्र जमेर बसेको असन्तोष, पुस्तान्तरणको चाहना र नेतृत्वप्रतिको प्रश्नको प्रतिबिम्ब पनि देखिएको थियो ।
विशेष महाधिवेशनलाई रमितेझैँ हेरेर बसेको भनिएको संस्थापन पक्षका कतिपय नेताहरू पनि अन्ततः भृकुटीमण्डपको भिड देखेर आकर्षित हुन पुगे । सभापति देउवाबाट सर्वाधिक फाइदा लिएकाहरू, शक्तिको केन्द्रमा बसेर अनेक भूइँ कांग्रेसको श्रम र पसिना दोहन गरेर ढसमस्स अघाएकाहरूदेखि अत्यन्त इमानदार, निष्ठावान् कांग्रेसहरूसम्मको जमघट हाँस, बकुल्ला, हायना मृग, स्वर्णपक्षी जस्तो रमाइलो दृश्यमा अनुपम फूलबारी देखिएको थियो । अरू कैय्यौ कांग्रेसका महारथीहरूसँगै तारानाथ रानाभाट, गोपालमान श्रेष्ठ, अर्जुन नरसिंह केसीहरूको उपस्थिति अन्तिम समयमा महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मासँग रहनु आफैंमा राजनीतिक संकेत हुनसक्छ । त्यस समयमा ‘पुस्ता र जनअपेक्षा बदलिएका छन्, इतिहासको ब्याज खाएर अब पार्टी चल्दैन, नयाँलाई मौका दिनुपर्छ’ भनेर व्यक्त विचार कांग्रेसभित्र लामो समयदेखि दबिएको बहसलाई सार्वजनिक रूपमा उद्घाटित गर्ने अभिव्यक्ति हो ।
यो भनाइले स्पष्ट रूपमा के देखाउँछ भने पुरानो पुस्ताले ऐतिहासिक योगदान दिएर तयार पारेको जगमा उभिएर पार्टी चलाइरहेका वर्तमान नेतृत्वले बदलिएको समय र अपेक्षा अनुसार कांग्रेसलाई अघि बढाउन सकेन भन्ने आत्मस्वीकृति हो । यद्यपि संस्थापन पक्षका केही नेताहरूले अझै पनि ‘केटाकेटी आए गुलेली खेलाए मट्यांग्राको सत्यनाश’ भन्ने उखानलाई आधार मानेर युवा नेतृत्वप्रति अविश्वास व्यक्त गरिरहेका छन् । तर, यथार्थ के हो भने, त्यो अविश्वासकै कारण पार्टीभित्र असन्तोषको खाडल अझ गहिरिँदै गएको छ ।
विशेष महाधिवेशन सही थियो वा थिएन भन्ने मूल्यांकन समयले गर्नेछ । तर, संस्थापन पक्षले नकारेको एजेण्डालाई संस्थापन इतर पक्षले संगठित ढंगले उठाउँदै आफ्नो शक्ति देखाएको तथ्यलाई भने अस्वीकार गर्न सकिँदैन । यो महाधिवेशन रोक्न, छेक्न र अवरोध गर्न गरिएका प्रयास असफल भएका छन् । सानेपास्थित पार्टी कार्यालयमा युवाहरू भेला गरेर भिडलाई त्यतातिर मोड्ने रणनीति पनि बीचमा फिर्ता भएको अवस्थामा जनसहभागिता भृकुटीमण्डपतिरै केन्द्रित भयो र त्यो दृश्य कुम्भमेलाजस्तै बन्यो ।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले राखेका मन्तव्यहरू केवल भाषणमात्र थिएनन्, ती कांग्रेसको भावी दिशा, नेतृत्व र पुनर्जीवनका संकेत थिए । इतिहास साक्षी छ-नेपाली कांग्रेस जन्मिँदा प्रजातन्त्र कांग्रेस र राष्ट्रिय कांग्रेसको एकताबाट निर्माण भएको थियो । २०१५ सालको आमनिर्वाचनमा विजय, राजा महेन्द्रद्वारा प्रजातन्त्रको समाप्ति, जेल, निर्वासन र प्रतिबन्धबीच पनि कांग्रेसका नेताहरूले जनताको अभिमतलाई जिउँदो राखिरहेका हुन् ।
पञ्चायती व्यवस्थाविरुद्धका आन्दोलनहरू-२०१८-१९ का विद्रोह, २०२८-२०३६ सम्मको संघर्ष, २०४२ को सत्याग्रह र अन्ततः २०४६ को जनआन्दोलन–यी सबैमा बीपी कोइराला, सुवर्ण संसेरहरूको सबल चिन्तन, गणेशमान सिंहको अडान, कृष्णप्रसाद भट्टराईको कूटनीति र गिरिजाप्रसाद कोइरालाको संगठन कौशल निर्णायक बने । त्यसमा महेन्द्रनारायण निधिहरूको योगदान कम थिएन । यही कारण कांग्रेसले राणा शासन र पञ्चायती व्यवस्था अन्त्य गर्न ऐतिहासिक सफलता प्राप्त गर्यो ।
तर, त्यसपछि कांग्रेसभित्र विचलन सुरु भयो । जनआकांक्षा आकाशिन थाल्यो, पार्टी राष्ट्रिय स्वार्थभन्दा तल झर्दै जिल्ला, गाउँ, टोल हुँदै व्यक्तिगत र पारिवारिक स्वार्थको केन्द्र बन्न पुग्यो । गणेशमान सिंहले ‘प्रजातन्त्रले स्वास्नी नहुनेलाई स्वास्नी खोजिदिन सक्दैन’ भन्नुको अर्थ यही थियो । तर पार्टीबाट जागिर, विवाह खर्च, चाडपर्वको खर्चसम्म अपेक्षा गर्ने प्रवृत्तिले अन्ततः निराशा जन्मायो ।
यही निराशा र विखण्डनको फाइदा उठाएर माओवादी आन्दोलन केन्द्रित भयो, जसले देशलाई दशकौंसम्म हिंसाको दलदलमा धकेल्यो । कांग्रेस जनअसन्तुष्टिलाई समयमै सम्बोधन गर्न नसक्दा पार्टी आफैं विभाजित भयो । कमजोर भएका दुबै पक्ष अन्ततः एकीकृत त भए, तर त्यसले पनि पार्टीलाई पुरानै लयमा फर्काउन सकेन ।
बीपी कोइरालाको नाम कांग्रेसको ब्राण्ड हो । उहाँका सिद्धान्त, विचार र संगठनात्मक आधारकै कारण कांग्रेस ७९ वर्षसम्म टिक्न सफल भयो । तर, पछिल्ला वर्षमा ती सिद्धान्तलाई विस्तार र विकास गर्नुको सट्टा इतिहासको फल टिपेर खाने प्रवृत्ति बढ्दै गयो । बीपीको नाम जोड्दैमा पार्टी टिक्दैन भन्ने यथार्थ हरिबोल भट्टराईद्वारा गठन गरिएको ‘नेपाली कांग्रेस (बीपी)’को लोपोन्मुख अवस्थाले पनि प्रमाणित गर्छ ।
आज कांग्रेस जसको हातमा छ, ती नेतृत्वबाट पार्टीलाई सही दिशामा लैजान नसक्दा आन्तरिक कलह चरम सीमामा पुगेको छ । ‘तैँ रानी मैँ रानी कसले भर्ने कुवाको पानी’ भन्ने उखानजस्तै स्थिति बनेको छ । नियमित महाधिवेशनको मागलाई बेवास्ता गरिँदा विशेष महाधिवेशनको अवस्था आयो । देशभरबाट हस्ताक्षर संकलन गरी माग पेश हुँदासमेत पार्टी नेतृत्वले आँखा चिम्लियो ।
आज संस्थापन इतर पक्ष कमजोर छैन भन्ने प्रमाणित भएको छ । तर, बाहिर देखिएको भिड र संगठनभित्रको दीर्घकालीन प्रतिबद्धता एउटै कुरा होइन । यदि कांग्रेस २०५६ सालतिर माले-एमाले जस्तै विभाजनको बाटोमा गयो भने त्यो केवल कांग्रेसको मात्र होइन, समग्र देशको दुर्भाग्य हुनेछ । संभवतः यस सत्यलाई अनुभव गरी कोइराला परिवारका उत्तराधिकारीमध्ये सक्रिय र अलि बढी सशक्त देखिएका डा.शेखर कोइराला मध्यस्थताको प्रयास गरिरहनु भएको छ । कुनै पनि हालतमा पार्टीलाई एकढिक्का राख्ने उयहाँको संकल्प सुनिन्छ । उहाँको संकल्प र सक्रियताले कांग्रेसको चिरा मेटियो वा घट्नेतिर उन्मुख भयो भने पनि सुखद् हुनेछ ।
अब कांग्रेसले इतिहासको गौरवमा मात्र रमाएर होइन, आत्मसमीक्षा, पुस्तान्तरण र जनअपेक्षा अनुसारको नेतृत्व विकास गरेर अघि बढ्नुपर्ने समय आएको छ । यही चेतना कांग्रेसलाई पुनर्जीवित गर्न सक्छ, अन्यथा इतिहासकै सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी आफैं आफ्नै बोझले थिचिने खतरा बढ्दै जानेछ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच