अर्घाखाँची । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँची जिल्ला सभापति हरिप्रसाद भुसालले पार्टीभित्र उम्मेदवार छनोट नेतृत्वको इच्छाअनुसार होइन, स्पष्ट विधि, क्षमता र पारदर्शिताको आधारमा हुनुपर्ने धारणा फेसबुकमार्फत सार्वजनिक गर्नुभएको छ । आन्तरिक लोकतन्त्र र मेरिटोक्रेसी नै रास्वपाको मौलिक पहिचान भएको उल्लेख गर्दै उहाँले सोही मापदण्डअनुसार उम्मेदवार तय गरिनुपर्नेमा जोड दिनुभएको हो ।
पार्टीभित्र आन्तरिक प्रतिस्पर्धाका लागि आफू विधिवत रूपमा मैदानमा उत्रिएको स्पष्ट पार्दै भुसालले आफ्नो उम्मेदवारी कुनै लहड, देखावटी अभ्यास वा बार्गेनिङका लागि नभएको दाबी गर्नुभयो । जिल्लामा रहेका तहगत समिति तथा जिल्ला समितिका सदस्यहरूले अर्घाखाँचीबाट आफ्नो विकल्प नरहेको निष्कर्ष निकालेपछि आन्तरिक प्रतिस्पर्धामा सहभागी भएको उहाँको भनाइ छ ।
हाल प्रतिनिधिसभा निर्वाचनका लागि रास्वपाबाट चार जना आकांक्षी रहेको उल्लेख गर्दै भुसालले बाँकी तीनै जना योग्य, क्षमतावान र सम्मानयोग्य व्यक्ति रहेको स्पष्ट पार्नुभयो । “क्षमताको हिसाबले उहाँहरू सबै अव्वल हुनुहुन्छ,” भुसालले भन्नुभयो, “तर जनमत, भूगोलको बुझाइ, पार्टी सदस्यहरूको भावना र जिल्लाको अपेक्षाको आधारमा म उहाँहरूसँग कम्तीमा बराबरी, नभए माथि नै छु भन्ने मेरो बुझाइ हो ।”
पार्टी सदस्यता लिएको समय फरक-फरक भए पनि सबै सदस्यको दावेदारी स्वाभाविक हुने उल्लेख गर्दै उहाँले उम्मेदवार छनोट भागबण्डा, दबाब वा नेतृत्वको व्यक्तिगत इच्छाअनुसार हुन नहुने धारणा राख्नुभयो । रास्वपाले प्रारम्भिक निर्वाचन, ल्याटरल इन्ट्री र मेरिटोक्रेसीलाई आफ्नो आधारभूत डीएनएका रूपमा स्वीकार गरिसकेको स्मरण गराउँदै भुसालले उम्मेदवार छनोट पनि त्यही मापदण्डअनुसार हुनुपर्ने बताउनुभयो । “पार्टीले नै विधि नमान्ने हो भने देश विधिमा चल्छ भन्ने अपेक्षा दिवास्वप्ना मात्र हुन्छ,” उहाँले भन्नुभयो ।
आफ्नो उम्मेदवारीका कारण कसैले आवेदन फिर्ता लिनुपर्ने अवस्था नआओस् भन्ने चाहना व्यक्त गर्दै भुसालले विधिसम्मत, पारदर्शी र प्रतिस्पर्धात्मक प्रक्रियाबाट जो उम्मेदवार चयन भए पनि आफूले निस्वार्थ सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । आन्तरिक प्रतिस्पर्धालाई पार्टी सुदृढीकरणको अवसरका रूपमा लिनुपर्ने उहाँको धारणा छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच