काठमाडौं । पछिल्लो समय शंकास्पद वित्तीय कारोबार बढ्दै गएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा नौ हजार पाँच सय ६५ वटा शंकास्पद कारोबार भएका छन् । जुन अघिल्लो वर्षको तुलनामा करिब ३० प्रतिशतले बढी हो । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाईले मंगलबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार गोएमएल प्रणालीमार्फत् वित्तीय सूचना संकलन उल्लेख्यरूपमा वृद्धि भएको हो ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा गोएमएलमा आबद्ध सूचक संस्थाहरूको संख्या एक हजार छ सय ३८ रहेकोमा २०८१/८२ मा तीन सय हजार चार सय ८७ पुगेको केन्द्रीय बैंकले जनाएको छ । प्रतिवेदनहरूको विश्लेषणसमेत करिब ४० प्रतिशतले वृद्धि भएको छ । विश्लेषणपछि इकाईले नौ सय ४५ वटा एसटिआरएस-एसएआरएसमा आधारित वित्तीय जानकारी प्रतिवेदन नेपाल प्रहरी, आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग, अख्तियार दुरूपयोग अनुसन्धान आयोग तथा अन्य सम्बन्धित कानुन कार्यान्वयन गर्ने निकायहरूमा सम्प्रेषण गरेको छ ।
जसबाट वित्तीय अपराधको पहिचान, अनुसन्धान तथा अभियोजन प्रक्रियामा प्रत्यक्ष सहयोग पुगेको विश्वास गरिएको छ । आर्थिक वर्ष २०८१/८२ मा इकाईले विदेशी वित्तीय जानकारी इकाईसँग ६४ वटा सूचना आदानप्रदान गर्दै सीमापार वित्तीय कारोबारबाट हुने जोखिम, अन्तरदेशीय अपराध सञ्जाल, साइबर ठगी र नयाँ प्रकृतिका अपराध प्रवृत्तिविरुद्ध अन्तर्राष्ट्रियस्तरमा हुने सहकार्यलाई थप मजबुत र विस्तार गरेको जनाएको छ ।
गत आर्थिक वर्ष २०८१/८२ मा नौ हजार पाँच सय ६५ वटा शंकास्पद कारोबार भएका छन् । जुन अघिल्लो वर्षको तुलनामा करिब ३० प्रतिशतले बढी हो ।
साथै, एपिजीले सन् २०२३ मा गरेको पारस्परिक मूल्यांकनपछि नेपाल ग्रे-लिस्ट सूचीमा परेपछि इकाईमार्फत् भएका समन्वयात्मक कार्यलाई समेत प्रतिवेदनमा समेटिएको छ । वार्षिक प्रतिवेदनले जोखिममा आधारित दृष्टिकोण, प्रविधिमा आधारित विश्लेषण, अन्तरनिकाय समन्वय तथा अन्तर्राष्ट्रिय मापदण्डअनुरूपका सुधारका प्रयासलाई इकाईको आगामी प्राथमिकताका क्षेत्रका रूपमा प्रस्तुत गरेको छ ।
इकाईको आगामी कार्यदिशा वित्तीय सूचना विश्लेषणको गुणस्तर सुदृढ गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिवेदनमा उल्लेख छ । इकाईले प्राप्त गरेका प्रतिवेदनहरूमध्ये विस्तृत विश्लेषणपछि आठ सय ५५ वित्तीय जानकारी प्रतिवेदन थप अनुसन्धान र कारबाहीका लागि पठाएको छ । नेपाल प्रहरी, आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग, अख्तियार दुरूपयोग अनुसन्धान आयोगलगायतमा पठाएको हो ।
प्रतिवेदनले नेपालमा सम्पत्ति शुद्धीकरण निवारण, आतंककारी कार्यमा वित्तीय लगानी निवारण तथा आमविनाशका हातहतियार निर्माण तथा विस्तारमा हुने वित्तीय लगानी निवारणका सम्बन्धमा इकाईले गरेका नीतिगत र सञ्चालनगत कार्य तथा कार्यक्रमको विवरण, इकाईमा प्राप्त हुने प्रतिवेदन र तिनको विश्लेषण एवं प्रेषित तथ्यांक, आन्तरिक तथा अन्तर्राष्ट्रिय समन्वयसम्बन्धी विवरणसँगै आगामी रणनीतिक प्राथमिकतालाई प्रस्तुत गरेको छ ।
इकाईले आर्थिक वर्ष २०८१/८२ मा सूचनाको सुरक्षा, गोपनीयता तथा प्रयोगसम्बन्धी मार्गदर्शन तयार गर्ने, गोएमएल अपरेसनल गाइडलाइन्स जारी तथा अद्यावधिक गर्ने, शंकास्पद कारोबार र सीमा कारोबारसम्बन्धी मार्गदर्शन अद्यावधिक गर्नेलगायतका कार्यहरू सम्पन्न गरेको जनाएको छ ।
साथै वर्षभरि नै सूचक संस्था, नियामकीय निकाय, कानुन कार्यान्वयन गर्ने निकाय तथा अन्य सरोकारवाला संस्थाका लागि लक्षित क्षमता विकास, अभिमुखीकरण र सचेतना कार्यक्रम सञ्चालन गरेको जनाएको छ । राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाईले मंगलबार उक्त प्रतिवेदन गभर्नर डा. विश्वनाथ पौडेललाई हस्तान्तरण गरेको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच