काठमाडौं । गायक यम बरालद्वारा स्वरवद्ध तीनवटा गीत सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमबीच ‘यो साँझ फेरि’, ‘जुन र सुनको’ र ‘टेन्डर माया’ सार्वजनिक गरिएको हो । कार्यक्रममा विशिष्ठ कलाकार मदन कृष्ण श्रेष्ष्ठ, वरिष्ठ संगीतकार तथा प्राध्यापक दीपक जंगम, निर्देशक तथा कलाकार दीपाश्री निरौला, पत्रकार ऋषि धमलालगायतले गीत तथा भिडियो सार्वजनिक गर्नुभएको हो ।
सार्वजनिक गीतमध्ये ‘यो साँझ फेरि’मा राखी गौचनको शब्द र शंकर थापा ‘स्माइल’को संगीत छ । गीतको भिडियोमा केशवराज भट्टको निर्देशन, अमन बडुको छायांकन, राकेश दाहालको सम्पादन र जुना कार्की र गायक बरालको अभिनय छ ।
यस्तै, दोस्रो गीत ‘जुन र सुनको’मा सञ्जय बरालको शब्द र विकास चौधरीको संगीत छ । गीतको भिडियोलाई गीतकार बरालले नै निर्देशन गर्नुभएको हो भने गायक बराल, श्री थपलिया, सुरेन पौडेल र नारायण प्रधान सैजुको अभिनय छ । भिडियोमा विक्रम डिसीको छायांकन र विकास धमलाको सम्पादन छ ।
यस्तै, तेस्रो गीत ‘टेन्डर माया’मा पनि सञ्जय बरालकै शब्द र विकास चौधरीको संगीत छ । नितिन चन्दले निर्देशन गरेको भिडियोमा सन्दीपा गौतम, नवीन महतरा क्षेत्री, रशिला श्रेष्ठ र गायक बराल स्वयम्को अभिनय छ । नमितचन्द ठकुरी एसोसियट निर्देशक रहेको भिडियोमा मनोज केसीको छायांकन र शुकुन तिमल्सिनाको सम्पादन छ ।
कार्यक्रमलाई सम्बोधन गदै गायक बरालले लामो समयपछि आफू मूलधारको संगीतमा फर्किएको बताउनुभएको थियो । ३५ वर्षदेखि निरन्तर संगीतमा सक्रिय गायक बरालले आफू फण्डामा भन्दा साधनामा रम्न चाहने गायक भएको बताउनुभयो ।
आफूले जानेको भनेकै संगीतमात्र भएकाले निरन्तर संगीतकर्ममै सक्रिय रहिरहेको उहाँको भनाइ थियो । गायक बरालले आफूलाई विश्वास गरेर उत्कृष्ट सिर्जनाका लागि सहकार्य गरेको भन्दै सार्वजनिक गीतका श्रष्टा तथा स्रजकहरूप्रति आभारसमेत व्यक्त गर्नुभएको थियो ।
यस्तै, संगीतकार शंकर थापा ‘स्माइल’ले गायक बरालको गायकीको प्रशंसा गर्नुभएको थियो । थुप्रै सफल गीतमा संगीत दिनुभएका संगीतकार थापाले बरालको स्वरमा संगीतको माधुर्यता पाइने जिकिर गर्नुभयो । ‘यो साँझ फेरि’का सन्दर्भमा कुरा गर्दै उहाँले गायक बराल र गीतकार गौचनसँगको सहकार्यमा उत्कृष्ट सृजना पस्कने कोसिस गरेको बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठले आफूलाई मन पर्ने आवाजमध्येको एक यम बरालको भएको बताउनुभयो । श्रीमतीलाई गुमाएपछि आफू प्रायः भावुक रहने गरेको भन्दै कलाकार श्रेष्ठले गायक बरालका गीतले आफ्नो मन भुलाएको प्रतिक्रिया दिनुभयो । उहाँले संगीतकार थापाको सिर्जनाको मुक्त कण्ठले प्रशंसा गर्दै आफूलाई उहँँको संगीतमा गीत गाउन मन भएको सुनाउनुभयो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच