नियतीका सामु नेपाली कांग्रेस नामको सिंगो पार्टीले घुँडा टेक्न पुगेको छ । कदाचित् यसभित्रको विवाद साम्य भए पनि नभए पनि अरू दश-पन्ध्र वर्षसम्म यसको जनसमर्थन र सामथ्र्य स्खलित हुने आधार तयार भएको छ । महामन्त्री पदधारी दुईजनाको अहंकार र महत्वाकांक्षा अनि सभापति पक्षको चरम अहंकारको भासमा कांग्रेस उठ्नै नसक्ने गरी डुब्ने स्पष्ट देखिएको हो । जनताको मन र मतविपरीत हुने अवस्थामा समेत राष्ट्रिय निर्वाचनका मुखमा पार्टीभित्र शक्ति हत्याउने माग र नछोड्ने हठका बीच करिब तीन महिनाको समय व्यतीत गरेका कांग्रेसहरू तावामा छट्पटाउँदै भुंग्रोमा पिल्सिन पुगेका छन् । भनिन्छ ः मानिसहरूमा विवेक र मानवता हराइसकेपछि ऊ, पूर्ण रूपमा अस्तित्वविहीन हुन्छ ।
यतिखेर कांग्रेसका तथाकथित परिवर्तनका पक्षधरहरू र पार्टीको केन्द्रीय समितिको बहुमतको जिरहमा बसेका दुवै पक्षले फेरि एकपटक कांग्रेसको रूखलाई खरानीमा परिणत गर्ने र अस्तित्वशून्य पार्ने दावानलका लागि झिल्को कोरिसकेका छन् । कांग्रेसीहरूलाई यस समय कुनै पनि उपदेशको औषधिले छुँदैन । दुर्योधनमतिग्रस्त भएको अवस्था, धृतराष्ट्र नियती, शकुनी कुटिलता, कृष्ण योजनाको समवेत युद्धमैदानमा पुग्न नदिने कुनै पनि विचार भ्रम लाग्ने भएका छन् । विनाशकाले विपरीत बुद्धिः सायद यही हो र यस्तै अवसरमा प्रयोग गरिन्छ ।
००३ सालदेखि अनेक योद्धाहरूको रगत पसिनाले निर्मित कांग्रेसको घरको छानोमा पुगेका वर्तमानका पदाधिकारीलाई इतिहासको मर्मबोध केही भएजस्तो लाग्दैैन । सम्वत् ०४० पूर्वजन्मेर लोकतान्त्रिक आन्दोलनमा निरन्तर पसिना बहाउनेहरूले मर्मबोध गरेको भए पनि हुनेथियो । तर विगत वीस वर्ष, तीस वर्ष, चालीस वर्ष र पचास वर्षदेखि सत्ताको सुख प्राप्त गर्नेहरू नै अहिले कांग्रेसलाई रगतपच्छे गराउने खेलमैदानमा सक्रिय हुनु एउटा पार्टी जीवनका लागि कति पीडादायी होला त्यही पार्टीका सदस्यलाई थाहा होला । तर मानिसहरूमा लोभको सीमा हुँदैन भनिन्छ । लोभले अवसरवादको मियो ठड्याउँछ र त्यही मियोमा झुण्डिने अवसरवाद अन्तिममा अवसादमा परिणत हुने हो ।
बीपी कोइरालाको विचार बेचेर यहाँसम्म जीवीत कांग्रेस उहाँका सबै विचार, सिद्धान्त, नीति र मान्यतालाई निकै पहिले नै खरानी बनाउन सफल भएको थियो । अहिले जुनसुकै सुललित शब्द, भाषा वा तर्कको आवरणमा त्यस विचारको भाष्य गरे पनि अन्ततः खरानीमा परिणत भएको छ र आजका जिम्मेदारहरूले त्यो खरानी पनि आफ्नो अँगेनुमा नै राख्न सकेका छैनन् । त्यो पुरानो सिद्धान्तको खरानीलाई समेत अरू कसैको वटवृक्षको मलजलमा उपयोग गर्नेगरी उठाउन लागेका छन् । आफैले वनाएको हतियारले आफैंलाई काटेजस्तो भएको छ कांग्रेसको अवस्था । हतियार आफैं उपयोग हुँदैन ।
कसैले उपयोग गर्छ । त्यो हतियार कसले बनाएको छ भन्ने होइन कसले उपयोग गर्दैछ भन्ने मूल कुरा हो । बीपी कोइराला आठ वर्षसम्म सुन्दरीजल जेलमा बस्नु हुँदा उहाँ कुनै समय कविता पढ्नुहुन्थ्यो, कुनै समय साहित्यको अध्ययन गर्नुहुन्थ्यो । समाज दर्शन, कानुन अध्ययन त उहाँको रुचि नै थियो । नेपाली कांग्रेसभित्र आज देखिएको अवस्था र यसमा देखिएको अस्त्रउपयोगका सन्दर्भमा मिल्ने खालको रवर्ट फाष्टको कवितांशलाई समेत उहाँले आफ्नो डायरीमा उतार्नु भएको छ ।
कुल्चिइनुको विपक्षमा
लहरको अन्त्यमा
विनाकाम छोडिएको एउटा कोदालोमाथि
खुट्टाको एउटा औंलाले टेकेछ
रिसाएर उठ्यो ऊ
र मलाई जोडसँग हिर्कायो
मेरा अनुभूतिको केन्द्रमा ।
उसको दोष त थिएन
तर मैले गाली गरें
मैले भन्नुपर्छ
उसले एक प्रहारले बदला लियो
सुनियोजित ईख सहित ।
तपाई मलाई मूर्ख भन्नुहोला
तर के हतियारलाई उपकरण बनाउने
कुनै नियम थियो ?
र, हामीले के देख्यौं ?
मैले पाइला राखेको पहिलो उपकरण
हतियारमा परिणत भयो ।
(साभार : जेल डायरी, विश्वेश्वरप्रसाद कोइराला : प्रकाशक शिखा बुक्स् )
नेपाली राजनीतिमा उपकरणको संख्या पर्याप्त छ । कुनै दृश्य निर्मित छन् त कुनै अदृश्य । दलको अवस्था निरन्तर संक्रमणमा रहनु, देशको राजनीति हरेक समय अस्थिर रहनु र बेला कुवेला राजनीतिक नदीमा भीषण बाढी आउनु, निर्मित उपकरणकै कारण देखिन्छ । उपकरणको निर्माण स्वार्थ परिपूरणका लागि हुन्छ र त्यसको उपयोग पनि स्वार्थकै खातिर हुनेगरेको छ । अर्थात् विगतजस्तै गरी नेपाली राजनीति आत्म निर्भर हुनसकेको छैन । परनिर्भरताले पक्ष र विपक्ष दुवैथरीलाई निस्कनै नसक्ने गरी गाँजेको छ । नेपाली कांग्रेसको किचलो त ताजा दृश्य हो । दुर्भाग्यबस हतियारको उपयोग हाम्रा आफ्नै हातबाट नभए पनि हाम्रै हात काटिरहेका छन् र रगताम्य हुनपुगेको छ ।
बहुदलीय पद्धतिलाई अन्तरविरोधले, असहमतिले सशक्त तुल्याउँछ । मतभेदहरू हुन्छन् । सिद्धान्तका आधारमा हुने वा गरिने मतभेदहरू सकारात्मक र परिणाममुखी हुन्छन् । तर शक्तिस्वार्थका आधारमा हुने अन्तरविरोधको आकार देखिँदैन । यसले गहिरो घाउ बनाइरहेको हुन्छ । नेपालका प्रायः सबै राजनीतिक दलहरूमा देखापरेको अन्तरविरोधको जरो सैद्धान्तिक होइन, स्वार्थ, अहंकार र महत्वाकांक्षाको समवेतरूप हो । यस्तो अन्तरविरोधले शक्तिमा यदाकदा पुर्याए पनि त्यो स्थायी हुँदैन । कांग्रेसभित्रको अन्तरविरोधबाट कोही कसैले शक्ति प्राप्त गरेको भ्रम पाले पनि अन्ततः त्यो क्षणिक न्यानोमा परिणत हुने हो । कांग्रेसका दुवै पक्ष त्यही क्षणिक न्यानोमा मख्ख हुँदैछन् । अरू बाँकीजनका लागि कागलाई बेल पाक्यो हर्ष न विष्मात् ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच