काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश असाधारण राजनीतिक परिस्थितिबाट गुज्रिरहेको भन्दै परम्परागत राजनीतिक सोच र चलनचल्तीको शैलीले मात्रै वर्तमान चुनौतीको सामना गर्न नसकिने बताउनुभएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित केन्द्रीय सदस्यहरूको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले मुलुकको विद्यमान संकट समाधानका लागि नयाँ सोच, नयाँ कार्यक्रम र नयाँ पहलकदमी अपरिहार्य भएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘परम्परागत ढंगले, चल्ते-चलाते शैलीमा मात्र अहिले उत्पन्न परिस्थितिको सामना गर्न सकिँदैन । राष्ट्र जुन असाधारण अवस्थाबाट गुज्रिरहेको छ, यस्तो बेलामा राष्ट्रिय एकता सुदृढ गर्ने, स्वाधीनतालाई मजबुत बनाउने र देशलाई सही दिशामा अघि बढाउन नयाँ संकल्पका साथ पहल गर्न जरुरी छ । यही निष्कर्षका साथ हामी पार्टी एकताको प्रक्रियामा अघि बढेका हौँ ।’
संयोजक प्रचण्डका अनुसार सबै राजनीतिक दलहरूले आत्मसमीक्षा गर्दै विगतका कमजोरीहरूको मूल्यांकन गर्न आवश्यक छ । ‘हामी त्यो निष्कर्षमा पुगेका छौँ । हाम्रो भागमा परेका कमजोरीहरूको समीक्षा पनि गरेका छौँ । अब ती कमजोरीहरू सच्याएर रूपान्तरण हुने संकल्प हामीले गरेका छौँ’, उहाँले भन्नुभयो ।
यसै समारोहलाई सम्बोधन गर्दै नेकपाका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तोकिएकै मितिमा निर्वाचन हुने स्पष्ट पार्नुभएको छ । उहाँले फागुन २१ गते निर्वाचन हुने बताउँदै त्यसको तयारीमा सक्रिय रूपमा जुट्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो । सहसंयोजक नेपालले निर्वाचन हुँदैन कि भन्ने आशंकामा निष्क्रिय भएर बस्न नहुने चेतावनी दिँदै भन्नुभयो, ‘चुनाव हाम्रो लागि अग्निपरीक्षा हुनेछ । चुनाव हुन्छ भन्ने हाम्रो ठम्याइ छ । त्यसैले पर्खेर बस्ने होइन, पूर्णरूपमा तयारीमा जुट्नुपर्छ ।’
उहाँका अनुसार पार्टीले निर्वाचन घोषणा पत्र तयार पार्न समिति गठन गरिसकेको छ र मस्यौदा लेखनको काम पनि अगाडि बढिसकेको छ । साथै निर्वाचन परिचालन समिति पनि गठन गरिने र त्यसको नेतृत्व संयोजक प्रचण्डले गर्ने जानकारी उहाँले दिनुभयो ।
नेपालले चुनावमा मतको सुरक्षा, निर्वाचनमा देखिने विकृति नियन्त्रण, पैसाको अवाञ्छित लेनदेन रोक्ने तथा अन्य चुनौतीहरूको सामना गर्न पार्टीभित्र एकता आवश्यक रहेको उल्लेख गर्नुभयो । ‘निर्वाचनका लागि सहयोग जुटाउने भूमिकामा सक्रिय हुनेलाई प्रोत्साहन गरिनेछ’, उहाँले थप्नुभयो ।
यसै अवसरमा नेकपाका संयोजक प्रचण्ड, सहसंयोजक माधवकुमार नेपालसहित दुई हजार ४९९ जना केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् । हाल उक्त कमिटीलाई महाधिवेशन आयोजक कमिटीका रूपमा चिनाइएको छ । पार्टी एकतापछि गठन हुने स्थायी केन्द्रीय समिति १९९ सदस्यीय हुने सहमति भएको छ ।
शपथग्रहण समारोहमा ज्येष्ठ नेता एनके प्रसाईँले केन्द्रीय सदस्यहरूलाई शपथ गराउनुभएको थियो भने संयोजक प्रचण्ड र सहसंयोजक नेपाललाई ज्येष्ठ सदस्य नन्दकुमार प्रसाईँले शपथ गराउनुभएको हो । शपथपछि प्रसाईँले संयोजक प्रचण्डलाई परिचयपत्र हस्तान्तरण गर्नुभएको थियो । नेकपाका केन्द्रीय सदस्य गंगालाल तुलाधरका अनुसार शपथ लिएका केन्द्रीय सदस्यहरूले केन्द्रीय कार्यालयमा एक हजार रुपैयाँ बुझाएपछि परिचयपत्र प्रदान गरिने व्यवस्था गरिएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच