शिल्पी परिचय
संसारमा भएका धेरै प्रकारका आन्दोलन खोजिपसे पढ्न सुन्न पाइन्छ । नेपालमा पनि लामो समयदेखि प्रजातन्त्रका लागि असहिष्णु शासन सत्तासँग संघर्ष गर्दै आएर देशलाई नै पटकपटक स्वतन्त्र बनाएका दल र तिनका प्रमुखले गरेका पाशविक व्यवहारबाट वाक्क भएर आ-आफ्ना विद्यालय परिधान पहिरेर सडकमा ओर्लेका नवपुस्ताको तत्कालीन सरकारले क्रूरतम दमन गरेपछि २७ घण्टामा सिंगो देश खरानीको राशमा परिणत भएको थियो । यसै विषयलाई अवलम्बन गरेर प्रज्ञावान दुई व्यक्तिले एउटा स्मारक खडा गरेका छन् । यो स्मारक सिमेन्ट, रड र बालुवा, इँट आदिबाट बनाइएको नभएर यो शब्दशृंखलासँग भाव र कल्पनालाई मुछेर बौद्धिकताको प्लाष्टर गरी अजरामर स्मारक खडा गरेका रहेछन् । यसमा अनेकौं प्रकारका भनाइलाई बिच्चमा जडेर रसाद्र्र पनि बनाइएको भेटिन्छ ।
संस्कार, बौद्धिकता, ज्ञानकोष जस्ता कुरालाई पारामिलाएर पर्खालमा राखिएको पनि भेटिन्छ । यो पर्खाल परख्नका लागि चर्मचक्षु र ज्ञानचक्षु दुबैको सहयोग आवश्यक पर्छ । चर्मचक्षुसँग यहाँका बिम्बहरू बोल्न लाग्दछन् भने ज्ञानचक्षुले ती बिम्बको संकेत आफूले ग्रहण गरेर हामीलाई सम्प्रेषण गर्दछन् । अपूर्व भारतीकोषको यो खेल सबकोहीका लागि पहिले उपलब्ध थिएन तर अब भने अत्यधिक नागरिक हाम्रै देशकाले पनि यो प्रक्रियासँग आफूलाई अभ्यस्त गराएको भेटिन सक्छ । संसारमा अनेकौं प्रकारका बिम्ब छन् । ती बिम्ब सबै सबैले जान्दैनन् । कसैकसैले १०-१२ प्रकारका बिम्ब बुझ्ने क्षमता राख्दछन् । यस प्रकारका बिम्बलाई अक्षर, वर्ण जस्ता अनेकौं नामबाट मानव समाजले आफूलाई जोडेको हुनसक्छ । आज म यहाँ देवनागरी वर्णमालाका सहायताबाट निर्मित एउटा स्मारकका सम्बन्धमा कुरा गर्न खोज्दै छु ।
विद्याले सदाचारको सन्देश दिएन भने त्यो विद्या, विद्या नभएर प्रविधि हो, अधिभौतिक विद्या हो । शिक्षाले मानवसन्ततिलाई रोग, भोक र शोकबाट मुक्ति दिन सक्नुपर्दछ । संज्ञानात्मक र शैल्पिक गरी शिक्षा दुई प्रकारका हुन्छन् । शैल्पिक शिक्षामा पनि चिकित्सा, निर्माण, आपूर्ति जस्ता विषयसँग सम्बद्ध शिक्षामा परोकारीपन पनि रहेको भेटिन्छ ।
जसमध्ये एकजना शिल्पी हुन् श्याम भट्टराई । उनी ‘विश्वेश्वरप्रसाद कोइरालाका सिर्जनामा मानवतावाद’ भन्ने शीर्षकमा विद्यावारिधि गरेका, अनेकौं कृतिका लेखक र सम्पादकसमेत रहेका, क्याम्पस र विद्यालय दुवैतिरका शिक्षार्थीलाई गुणस्तरीय शिक्षा दिन कम्मर कसेर लागेका तथा शब्दशिल्पमा ख्यातनामा व्यक्ति हुन् । यसैगरी दोस्रा शब्दशिल्पी गुमानसिं तामाङ रहेका छन् । उनको अध्ययन, अनुभव, रुचि विशेषगरी समाजशास्त्र, समाजिक संस्कृति र धर्मसम्प्रदायका साथै समाज रूपान्तरण अभियानसँग आबद्ध रहेको देखिन्छ ।
नेपाली वागमा लहलहाउँदै फुल्नका लागि कुडमलित बन्नलागेका पुष्पबिरुवालाई र ज्ञानजल सिञ्चन गर्दागर्दै त्यस कामलाई चटक्क छाडेर नेपाली समाजमा रहेका करनीकथनी र योजनाका कमीकमजोरीलाई परिमार्जन र सुधार गरी चाँडोभन्दा चाँडो नेपाल सिंगार्ने छातीमा आशाका लेघ्रा बोकेर सामाजिक क्षेत्रमा होमिएका तामाङ वयतारुण्ययुक्त भए पनि ज्ञानकोष समृद्ध र परिपक्व भएका व्यक्ति हुन् भन्ने कुरो उनको लेखाइका बान्कीले स्पष्ट्याएको छ ।
विषय विवृत्ति
‘परिवर्तनका आयामहरू : जेन-जी विद्रोह २०८२’ नामक पुस्तकमा श्याम भट्टराईले लेखेका सदाचार र नैतिकशिक्षा, विद्या र सदाचार, भयमुक्त शिक्षा, संविधानको भावना, विधायकको चेतना, सुशासनको (का ?) चार तारा, प्रजातान्त्रिक समाजवाद, माटोको सुगन्ध चिन्ने पार्टी नै जनताको पार्टी, विचारको राजनीति, जेन-जी विद्रोह र आजको (का ?) सन्दर्भमा बीपी कोइरालाको सिद्धान्तसमेत गरी एघारवटा लामाछोटा वैचारिक निबन्ध यस पुस्तकमा संग्रहित भएका भेटिन्छन् । यी प्रत्येक निबन्ध पौरस्त्य मूल्यमान्यतासँग सम्बद्ध विचार सरणीसँग सम्बद्ध रहेका देखिन्छन् । पूर्वको शिक्षाश्रेय र प्रेयसँग सम्बद्ध रहेको थियो भने आजको लर्डमेकाले पद्धतिले केबल श्रेयको सीप सिकाउँदा मान्छे चेतनाविहीन रोबोट बन्न विवश भएको देखिन्छ ।
मानवतामैत्री, करुणा, सिर्जनशीलता र वसुधैवकुटुम्बकम्का सिद्धान्त ओझेलमा परेका देखिन्छन् । नीति भनेको आधारभूमि हो जहाँ पाइला टेकेर गन्तव्यसम्मको यात्रा गरिन्छ । शिक्षामा नैतिकताका कुरा रहेनन् भने त्यस्तो शिक्षाले महिषासुर उत्पादन गर्दछ । हिरण्यकशीपुले गुरु शुक्राचार्यलाई भनेर उनकै पुत्र शण्डा र मर्कलाई राक्षसीय शिक्षामा लाएका थिए । जब उनीहरूका जिम्मामा प्रह्लाद आइपुगे र शुक्राचार्य शिवोपासनाका लागि कैलासतिर लागेथे अनि प्रह्लादले समग्र दानवीय शिक्षालाई बदलेर गुरुकुलीय शिक्षामा रूपान्तरण गर्न लागेको गुरु शुक्राचार्यले चाल पाएपछि आफ्ना पुत्र बँचाउन प्रह्लादलाई हिरण्यकशीपुका जिम्मा लाए ।
पछि शिवले यसरी पक्षपात गरेको चाल पाएपछि तिमी गुरु होइनौ शिक्षकमात्र हौ भनेर दानवकुलका शिक्षक बन्ने आशीर्वाद दिएर पठाएको कथा भेटिन्छ पुराणन्तरमा । यहीँबाट वेतनभोगी शैक्षिक परम्परा आरम्भ भएको देखिन्छ । त्यसो भएका कारणले शिक्षामा पूर्णतया न्यायदृष्टि र नैतिक मूल्यमान्यता परिपालित भएका दृष्टान्तका पाठ राखिनुपर्दछ । विद्याले विनयप्रदान गरेन भने त्यो विद्यालाई कुविद्या भनिएको छ पूर्वमा । कुविद्या भनेको प्रविधिक पक्षको सीप सिकाउने विद्या हो । खुकुरी बनाउने कामीले राम्रो खुकुरी बनाएर बजारमा पठाए पनि प्रयोक्ताले दुरुपयोग गर्ने भय हुन्छ नै । वैज्ञानिकले विश्वरक्षार्थ बनाएका हातहतियार तथा प्रविधि दुरुपयोग गरेर अमेरिकी राष्ट्रपति ट्रम्पले भेनेजुएला, ग्रीनल्याण्ड र इरानलाई समेत पहिरामुनिका त्रासदीमा रोएर मृत्यु या बन्दीजीवन कुर्न विवश बनाएर राखेको हामीले देखेका छौं ।
विद्याले सदाचारको सन्देश दिएन भने त्यो विद्या, विद्या नभएर प्रविधि हो, अधिभौतिक विद्या हो । शिक्षाले मानवसन्ततिलाई रोग, भोक र शोकबाट मुक्ति दिन सक्नुपर्दछ । संज्ञानात्मक र शैल्पिक गरी शिक्षा दुई प्रकारका हुन्छन् । शैल्पिक शिक्षामा पनि चिकित्सा, निर्माण, आपूर्ति जस्ता विषयसँग सम्बद्ध शिक्षामा परोकारीपन पनि रहेको भेटिन्छ । संविधानले जातभात, क्षेत्र संस्कार संस्कृति सारालाई समभावले हेरे पनि संविधान कार्यान्वयनकर्ता कमसल भयो भने के हुन्छ भन्ने कुराको उदाहरण २०५१/२०५२ देखि यताका नेपालका राजनीतिक गतिविधिले प्रदर्शन गरेका थिए भने २०८२ भदौ २३ र २४ का घटनाले त अन्धो र लाटाले पनि बुझ्ने गरी सोदाहरण व्याख्या गरेका छन् तर पनि तिनै निकम्मा नालायक नायक टाउको उठाउने प्रयत्नमा देखिनु हामी युवा, किशोर तथा वृद्धकै असमझदारी मान्न सक्छ भोलिका इतिहासले ।
विधायकको चेतना कस्तो हुनुपर्ने थियो कस्तो छ भन्नका लागि लेखक गौशालादेखि रत्नपार्कसम्मको बसयात्रालाई अघि सार्दै भन्छन् : गौशाला हुँदै रत्नपार्कतिर लागेँ । बाटामा देखिएका नाराबाट अवाक् भएँ । कहीँ तम्सालिङ प्रदेश, कहीँ नेवा प्रदेश, थरूहट प्रदेश त कहीँ लिम्बुवान प्रदेश । त्यस्तै कहीँ खस प्रदेश शेर्पा प्रदेश त कतै किरात प्रदेशको माग गरिएको नाराहरू काठमाडौंका पर्खालभरि नै देखिए । यसरी सिंगोसग्लो देशलाई काँक्रो चिरेर नुनखोर्सानीमा चोबेर खान ठीक पारे झैँ देशलाई चिराचिरा पर्ने चेतनाका विधायक छन् । जनता उस्तै कागले कान लग्यो भनेको सुनेर कान नछामीकन कागका पछि धाउने छन् अब देश देश रहन्छ त भन्दा भदौ २३ र २४ ले उत्तर दिइसकेको छ ।
एवं प्रकारले देशमा देखापरेका विकार विकृतिको गम्भीर मीमांसा गर्दै गएर भट्टराईले नवपुस्ता विद्रोहको कारणको खोज गरेका छन् । घरमा पनि बाबुआमाले आफ्नै सन्तानमाथि थिचोमिचो गरे भने सन्तानले विद्रोह गर्छन् या घर छाडेर हिँड्छन् । त्यसैगरी ‘इनफ इज इनफ’ ले सङ्केत गरेको पनि नबुझीकन दिन दुई गुणा रात चौगुनका दरले छल्ने, ढाँट्ने र थिचोमिचो गरी पढेलेखेका युवालाई देश छाडेर हिँड्न विवश बनाएका कामका विरुद्धको विद्रोह थियो भनेर निष्कर्ष निकालेका छन् । पुस्ता विद्रोह अन्तिम अस्त्र हो । यसरी प्रत्येक लेखहरू पढ्दै जाँदा डा.श्याम भट्टराईले प्राचीन पौरस्त्य चिन्तनका आलोकमा रहेर विश्वलाई नियाल्ने प्रयास गरेका छन् ।
प्रजातन्त्रमा गठबन्धन हुन्छ कि हुँदैन भन्ने कुराको समेत चर्चा गरेका छन् । प्राकृतिक गठबन्धनले वंशवृद्धि गर्छ, केटाकेटीको विवाह पनि गठबन्धन नै हो । समलिंगी विवाहले सृष्टि रोक्छ । यो अप्राकृतिक गठबन्धन हो । जो नेपालका विगतमा कांग्रेस माओवादी, कांग्रेस एमाले, माओवादी कांग्रेस आदि जस्ता गठबन्धनले स्पष्ट पारिसकेका छन् ।
शिक्षा, व्यवसाय, विद्रोह जस्ता कुराको विश्लेषणत्मक प्रस्तुतिपछि विश्वेश्वरप्रसाद कोइरालाको प्रजातान्त्रिक समाजवादका मूलभूत कुरा प्रस्तुत गरेर प्रजातान्त्रिक स्वतन्त्रता र आर्थिक अवसरको समानताभन्दा पवित्र कुरो मानवजीवनका लागि अर्को केही छैन । अतः त्यो नै सही ढंगले राष्ट्रमा अख्तियार गर्ने हो भने यसले देशका र पुस्ता दरपुस्ताका स्वतन्त्र चिन्तन र आर्थिक उपार्जनयुक्त जीवनका सारा अभीप्सा पूरा गर्न सकिन्छ भन्ने विश्वास प्रकट गरेका छन् ।
गुमानसिं तामाङ
‘परिवर्तनका आयामहरू जेनजी विद्रोह २०८२’ नामक पुस्तकका अर्का लेखक हुन् गुमानसिं तामाङ । मानवजाति लोकतन्त्र र गठबन्धन नामक शीर्षकमा तामाङले समाजशास्त्रीय र सांगठनिक नियमअनुकूल र प्रतिकूलका कुरा विश्लेषाणात्मक रूपबाट प्रस्तुत गर्दै मानव समाजको विकासका गतिलाई सुन्दर ढंगले प्रस्तुत गरेका छन् । मानव समाज विकासका नियमअन्तर्गत इतिहास, समाजशास्त्र र जनसंख्या शास्त्रका नियमको प्रस्तुति र तिनको विश्लेषणसमेत गरिएको छ । जमिन्दार, राजा, गुरुपुरोहित आदिका शासन प्रशासनका शृंखलाको चर्चा गर्दै आएर प्रजातान्त्रिक युगको आगमन र प्रजातन्त्र के हो ? भन्ने कुराको समेत विशद चर्चा गरेका छन् ।
प्रजातन्त्रमा गठबन्धन हुन्छ कि हुँदैन भन्ने कुराको समेत चर्चा गरेका छन् । प्राकृतिक गठबन्धनले वंशवृद्धि गर्छ, केटाकेटीको विवाह पनि गठबन्धन नै हो । समलिंगी विवाहले सृष्टि रोक्छ । यो अप्राकृतिक गठबन्धन हो । प्राकृतिक गठबन्धनले दललाई बलियो, विश्वासिलो र भरपर्दो बनाउँछ तर अप्राकृतिक गठबन्धनले दल बिगार्छ, भ्रष्टाचार फैलाउँछ, स्वार्थ जगाउँछ जो नेपालका विगतमा कांग्रेस माओवादी, कांग्रेस एमाले, माओवादी कांग्रेस आदि जस्ता गठबन्धनले स्पष्ट पारिसकेका छन् । संसारलाई लौकिक र अलौकिक दुई मानेर मनवजातिको संसार नै मुख्य विकास निर्माण, सभ्यता विकास र स्मारक निर्माणका लागि महनीय रहेको छ भन्ने निष्कर्षमा तामाङ पुगेका देखिन्छन् ।
भृकुटिमण्डपमा कांग्रेसीजन जम्मा भएर हिजोका तिनै विकृति चिन्तन गरेर कसरी कांग्रेसलाई शुद्धीकरण गर्ने भन्ने विचारविमर्शमा लागेका देखिन्छन् । यस्तै मानवजीवन र परिवर्तनका आयामहरू नामक शीर्षकमा जगत्का दुई रूप लौकिक र अलौकिक जगत्को चर्चा गर्दै मानवीय शक्तिसामथ्र्यको निर्माण, कल्पना र स्थापनामा यस जन्तुले पाएको चकाचौध बनाउने शक्तिको स्तवन गरिएको छ । बीजांकुरण अन्तर्गत नेपालमा प्रजातान्त्रिक चिन्तन आरम्भ भएको बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसादका कृत्यको स्मरण गर्दै २००७ सालका क्रान्तिको उपलब्धिको उद्गान गरिएको छ । यसै सन्दर्भमा को हुन् जेन-जी भनेर तिनको चिनारी गराउने प्रयत्न भएको देखिन्छ । नैतिकता र इमान मानव बन्न र मान्छे कहलिन चाहिने आन्तरिक गुणका रूपमा स्थापन गरिएको देखिन्छ ।
अन्त्यमा कांग्रेसले के गर्नुपर्छ भन्ने शीर्षकअन्तर्गत सुधारका कुरा १५ वटा प्रस्तुत गर्दै फल प्रप्ति भनेर सुध्रेका कांग्रेसले देश र जनतालाई प्रदान गर्नसक्ने कतिपय महत्वपूर्ण कुराको झल्को दिइएको छ । पुस्तक : परिवर्तनका आयामहरू जेन-जी विद्रोह २०८२ । लेखक : श्याम भट्टराई र गुमानसिं तामाङ । प्रकाशक : हुद्धराज तिमल्सिना, क्रिष्ट इन्जिनियरिङ कन्सल्टेन्सी बनेपा ८ तीनदोबाटो काभ्रेपलान्चोक । मूल्य : ३०० रुपैयाँ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच