काठमाडौं । नेपाली कांग्रेसले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापालाई पार्टीको केन्द्रीय समितिको निर्णयविरुद्ध नजान कडा चेतावनी दिएको छ।
पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले मंगलबार विभिन्न चरणमा पार्टी एकीकृत बनाएर अघि बढ्ने विषयमा छलफल भएको उल्लेख गर्दै बुधबार बिहानसम्म सहमतिमा पुगेर अघि बढ्न आग्रह गर्नुभयो। उहाँले केन्द्रीय समितिको निर्णय नमानेमा पार्टीले अन्य निर्णय लिनुपर्ने अवस्था आउने चेतावनी दिनुभयो।
प्रवक्ता महतले वार्ता र संवादमार्फत सहमति खोज्न संस्थापन पक्षले अधिकतम लचकता देखाइरहेको बताउनुभयो। अहिले विभाजन र विग्रहतर्फ उन्मुख हुने बेला नभई सम्पूर्ण पार्टी एक भएर निर्वाचनमा जानुपर्नेमा जोड दिनुभयो। अझै पनि सकारात्मक नतिजा निस्कनेमा आफूहरू आशावादी रहेको उहाँको भनाइ छ।
उहाँका अनुसार पार्टीलाई एकताबद्ध गर्दै आम निर्वाचनमा सहभागी हुने, राम्रो परिणाम हासिल गरेपछि नियमित अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने स्पष्ट योजना कांग्रेसको छ।
प्रवक्ता महतले भन्नुभयो, “वार्ता र संवाद नेतृत्व तहबाट निरन्तर भइरहेको छ। हाम्रो प्रयास सम्पूर्ण पार्टी पंक्ति एक भएर अघि बढ्ने हो। अहिले विशेष अधिवेशनको नाममा विभाजनतर्फ जाने होइन, एकताको समय हो। सबै एकजुट भएर आम निर्वाचनमा गयौँ भने पार्टीको पक्षमा राम्रो परिणाम आउँछ। त्यसपछि नियमित अधिवेशनबाट नयाँ नेतृत्व चयन हुन्छ। अझै पनि सहमति सम्भव छ भन्नेमा हामी विश्वस्त छौँ।”
कांग्रेसको केन्द्रीय समिति बैठक भोलि बिहानसम्मका लागि स्थगित गरिएको छ।
आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक साँझ केहीबेर बसेपछि भोलि बिहान ८ बजे पुनः बस्ने गरी स्थगित भएको हो।
यता विशेष महाधिवेशन पक्षधर नेताहरू भने भृकुटीमण्डपमा धमाधम उम्मेदवारी मनोनयन दर्ता गरिरहेका छन्।
एकातिर सानेपामा केन्द्रीय समिति बैठक स्थगित हुँदै जानु र अर्कोतिर विशेष महाधिवेशन पक्षले निर्वाचन प्रक्रिया अघि बढाउनुले कांग्रेसभित्र सहमतिको सम्भावना क्रमशः कमजोर बन्दै गएको देखिन्छ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच