काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन निर्णायक मोडमा पुगेको छ । संस्थापन पक्षको तीव्र असहमतिका बाबजुद सुरु भएको विशेष महाधिवेशनले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेका समसामयिक राजनीतिक तथा सांगठनिक प्रतिवेदन पारित गरेको छ । मंगलबार भृकुटीमण्डपमा बन्दसत्रबाट प्रतिवेदनहरू पारित भएका हुन् । दुवै प्रस्ताव पारित भएसँगै विशेष महाधिवेशन औपचारिक रूपमा नयाँ नेतृत्व चयनतर्फ अघि बढेको छ । नयाँ कार्यसमिति चयनका लागि मंगलबार साँझैदेखि मनोनयनसमेत सुरु भएको छ ।
मतदान भने बुधबार बिहान गर्ने कार्यतालिका छ । विशेष महाधिवेशनमा ४ हजार ६ सय ३८ मतदाता कायम भएका छन् । चौधौँ महाधिवेशनका प्रतिनिधिको कुल संख्यामध्ये मृत्यु भएका र पार्टी छाडेकाहरूको संख्या घटाएर मतदाता कायम गरिएको हो । चौधौँ महाधिवेशनमा ४ हजार ७ सय ४३ मतदाता थिए । पार्टी छाड्ने र मृत्यु भएकाहरूको संख्या १ सय ५ छ । यद्यपि, विशेष महाधिवेशनमा करिब ६० प्रतिशत प्रतिनिधि मात्र सहभागी छन् ।
बन्दसत्रमा दुवै प्रतिवेदनमाथि समूहगत छलफल भएपछि टोली नेताहरूले निष्कर्ष सुनाएका थिए । लगत्तै हलबाटै प्रतिवेदन पारित गरिएको हो । थापाले समसामयिक राजनीतिक प्रतिवेदन र शर्माले सांगठनिक प्रतिवेदन पेस गर्नुभएको थियो । बाहिर सहमति खोज्न वार्ता भइरहे पनि महामन्त्री थापाले ‘जे निर्णय हुन्छ, त्यो विशेष महाधिवेशनको हलबाटै हुन्छ’ भन्दै अघि बढ्ने स्पष्ट सन्देश दिनुभएको छ ।
महाधिवेशनले पार्टी विधान संशोधनसम्बन्धी नयाँ नीति पनि पारित गरेको छ । नयाँ व्यवस्थाअनुसार कांग्रेसका नेताहरू राजकीय पदमा अनियन्त्रित समय बस्न पाउने छैनन् । अब कुनै नेता एक पटकभन्दा बढी राष्ट्रपति र दुई पटकभन्दा बढी प्रधानमन्त्री बन्न पाउने छैनन् । मन्त्रीका लागि तीन कार्यकाल र प्रत्यक्ष निर्वाचित सांसदका लागि चार कार्यकालको सीमा तोकिएको छ । समानुपातिक सांसद बन्ने अवसर जीवनमा एकपटक मात्रै पाउने व्यवस्था गरिएको छ । आन्तरिक लोकतन्त्र मजबुत बनाउन केन्द्रदेखि तल्लो तहसम्म सबै नेताहरू वडा तहबाटै निर्वाचित भएर आउनुपर्ने ‘बटम-अप’ प्रणाली लागू गरिने व्यवस्था गरिएको छ । यसैगरी, पारित विधानअनुसार उम्मेदवार चयन प्रक्रियामा पनि व्यापक हेरफेर गरिएको छ । अब संसदीय वा अन्य निर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवार छान्न सम्बन्धित क्षेत्रका क्रियाशील सदस्यहरूबीच ‘प्राइमारी’ (आन्तरिक) निर्वाचन गरिनेछ । यसरी सदस्यहरूको प्रत्यक्ष मतदानबाट बढी मत पाउने व्यक्ति नै पार्टीको आधिकारिक उम्मेदवार बन्नेछन् । सदस्यता वितरणमा पनि अब साधारण र क्रियाशीलको विभेद अन्त्य गरी ‘एकै प्रकारको क्रियाशील सदस्यता’ प्रणाली लागू गरिएको छ, जसका लागि अनलाइनबाटै आवेदन दिन सकिनेछ ।
महामन्त्री थापा र शर्माको अगुवाइमा भृकुटीमण्डपमा आइतबारदेखि विशेष महाधिवेशन सुरु भएको हो । महाधिवेशनलाई संस्थापन र इतर समूहका नेता डाक्टर शेखर कोइराला समूहले स्वीकारेको छैन ।
दिनभर प्रयास गर्दा पनि निस्केन नतिजा
पार्टी विभाजन रोक्ने प्रयासस्वरूप दिनभर वार्ता चले पनि अबेर राति यो समाचार तयार पार्दासम्म)सम्म कुनै सहमति हुन सकेन । सभापति शेरबहादुर देउवाको राजीनामा वा सक्रिय राजनीति छोड्ने विषयमा सहमति जुट्न नसक्दा दिनभरको वार्ता निष्कर्षविहीन बनेको हो । विवाद समाधान गर्न बसेको त्रिपक्षीय वार्तामा सभापति देउवाको राजीनामाको विषय उठेको थियो । देउवाले राजीनामा गर्ने वा सक्रिय राजनीति छोडेको घोषणा गर्ने भन्ने विशेष महाधिवेशन पक्षधरको माग थियो । तर, त्यसमा संस्थापनले सभापतिलाई नसोधी नहुने बताएपछि सहमति हुन नसकेको हो । यद्यपि, कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले संस्थापन पक्ष लचकताका साथ संवादमा रहेको दाबी गर्नुभयो । वार्तामा विशेष महाधिवेशन पक्ष (गगन-विश्व)बाट प्रदीप पौडेल, मधु आचार्य, देवराज चालिसे र गुरुराज घिमिरे सहभागी हुनुहन्थ्यो । त्यस्तै, सभापति शेरबहादुर देउवाको पक्षबाट बालकृष्ण खाण र रमेश लेखक हुनुहुन्थ्यो भने शेखर कोइरालाको पक्षबाट सहमहामन्त्री जीवन परियार र मीनेन्द्र रिजाल सहभागी हुनुहुन्थ्यो ।
प्रचार समितिका संयोजक सुवास पोखरेलले नेतृत्वसँग सहमति नभए बुधबार निर्वाचन प्रक्रिया अघि बढ्ने बताउनुभयो । उहाँले अन्य विषयमा सहमतिनजिक पुगे पनि नेतृत्व चयनका विषयमा संस्थापन पक्षसँग सहमति जुट्न नसकेको बताउनुभयो । सहमति भए पनि विशेष अधिवेशनको हलले स्वीकार गर्नुपर्ने उहाँको भनाइ छ ।
एकैछिन बसेर सकियो केन्द्रीय कार्यसमिति बैठक, आज फेरि बस्ने
कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले मंगलबारका लागि बोलाएको केन्द्रीय कार्यसमिति बैठक केहीबेर मात्रै बसेर स्थगित भएको छ । सुरु नहुँदै खड्का बाहिरिएपछि उपसभापति धनराज गुरुङले बैठक सञ्चालन गर्नुभएको थियो । केहीबेर मात्रै बसेको बैठकमा धनराजले बुधबार बिहान ८ बजे बस्ने सूचना सुनाउनुभयो । बैठकमा पार्टीको विशेष महाधिवेशन पक्षधरका महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मासहित नेताहरू भने गएका थिएनन् । गुरुङले महाधिवेशन पक्षधरसँग सहमतिका लागि वार्ता भइरहेको र सकारात्मक दिशामा अघि बढिरहेको जानकारी गराउनुभएको थियो ।
जे निर्णय हुन्छ, हलबाटै हुन्छ : थापा
कांग्रेस महामन्त्री गगन थापाले सहमतिका लागि भएका जुनसुकै निर्णय पनि विशेष महाधिवेशनको हलबाटै हुनुपर्ने बताउनुभएको छ । भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको समापनलाई सम्बोधन गर्ने क्रममा थापाले विशेष महाधिवेशन आयोजना गरेर आफूहरूले विद्रोह गरेको बताउनुभयो । पार्टीको आन्तरिक लोकतन्त्रमा प्रश्न गर्नु आफैँमा एउटा विद्रोह भएको उहाँको भनाइ थियो । उहाँले यस्तो बताउनुभएको हो । ‘यो विशेष महाधिवेशन हो । यो हलबाट निर्णय गरेर ठिक छ भनेर भन्दा मात्रै दुईवटा महामन्त्रीले मान्नुपर्छ,’ थापाले भन्नुभयो, ‘यतिका साथीहरू आएर बस्नुभएको छ । उहाँहरूले ल यो निर्णय ठिक छ भनेपछि त्यो नै निर्णय हुन्छ । यो विद्रोह हो । प्रश्न गर्नु आफैँमा एउटा विद्रोह हो । मौनता साँध्नु भनेको मृत्युलाई अंगाल्नु जस्तै हो ।’ आफूलाई पद चाहिएर विशेष महाधिवेशन आयोजना नगरेको उहाँले बताउनुभयो । ‘हामी केही बन्नलाई आतुर भएर प्रश्न गरेको पनि होइन, आयोजना गरेको पनि होइन,’ उहाँले भन्नुभयो ।
वैधानिक बन्दोबस्तका साथ आयोगमा जान्छौँ : महामन्त्री शर्मा
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सम्पूर्ण वैधानिक बन्दोबस्तका साथ निर्वाचन आयोगमा जाने बताउनुभएको छ । मंगलबार काठमाडौंमा विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै उहाँले नेतृत्व चयन गरिसकेपछि प्रतिनिधिहरू घर फर्किन मिल्ने भए पनि आफूहरू निर्वाचन आयोग जानुपर्ने स्थिति रहेको बताउनुभएको हो । आयोगले विशेष महाधिवेशनले के म्याण्डेट लिएर आयो ? भनेर पर्खिरहने उहाँको भनाइ थियो । आफूले उम्मेदवारी दिएको र जित्छु भन्ने विश्वास रहे पनि कतिपय अवस्थामा सर्वसम्मत रूपमा आउनुपर्ने स्थिति रहने उहाँले बताउनुभयो ।
समझदारी बन्छ भने अन्यथा निर्णयमा किन जाने भन्ने सभापतिको भनाइ छ : प्रवक्ता महत
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले आफूहरूले पार्टी एकताकद्ध भएर जाओस् भन्ने चाहेको बताउनुभयो । मंगलबार केन्द्रीय समिति बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले संस्थापन पक्षले पार्टीलाई एकताबद्ध बनाउन निकै लचकताका साथ संवाद गरिरहेको बताउनुभयो । नेतृत्वका कारण पार्टी विभाजित नहुने उहाँको भनाइ थियो । ‘हामी पार्टी एकताबद्ध भएर जाओस् भन्ने चाहन्छौँ । कुरा पनि भइरहेको छ र हाम्रो कारणले, पार्टी नेतृत्वको कारणले पार्टी फुट्दैन,’ उहाँले भन्नुभयो, ‘पार्टी विभाजन हुँदैन । त्यो पार्टीको हितमा छैन, नेपाली जनताको हितमा छैन र नेपालको हितमा छैन ।’
सभापति देउवाले पार्टीमा समझदारी गरेर जानुपर्ने बताउनुभएको उहाँले जानकारी दिनुभयो । ‘समझदारी बन्छ भने अन्यथा निर्णयमा किन जाने भन्ने पार्टी सभापतिको भनाइ छ । बुधबारसम्म सकरात्मक हुन्छ भन्ने आशा छ । पार्टी विभाजनमा लगेर कसैलाई फाइदा छैन,’ उहाँले भन्नुभयो ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच