जनकपुर । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारले निष्पक्ष, स्वतन्त्र र धाँदलीरहित निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
बुधबार मधेस प्रदेशको राजधानी जनकपुरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले दलिय पक्षधरताबाट मुक्त रहेको वर्तमान सरकारले तोकिएकै समय निर्वाचन सम्पन्न गराउने दाबी गर्नुभयो। उहाँले वर्तमान संविधानलाई यथावत् कायम राख्न निर्वाचन अपरिहार्य रहेको उल्लेख गर्नुभयो।
गृहमन्त्री अर्यालले संविधानमा संसद् विघटन भएको छ महिनाभित्र निर्वाचन गराउनुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै प्रतिनिधिसभा विघटनपछि पनि संवैधानिक व्यवस्था पुनः बहाल हुनुपर्ने बताउनुभयो। वर्तमान सरकार स्वतन्त्र नागरिकको सरकार भएकाले कसैको पनि पक्षधरता नलिने उहाँको भनाइ छ।
उहाँले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठन भएको सरकार निष्पक्षता र स्वतन्त्रताको प्रतीक भएको उल्लेख गर्दै भन्नुभयो,
“यो सरकारले केवल चुनाव मात्र गराउँदैन, निष्पक्ष र धाँदलीरहित चुनाव गराउँछ। दलिय पक्षधरताबाट मुक्त सरकार भएकाले जनताको विश्वास कायम हुन्छ।”
गृहमन्त्री अर्यालले वर्तमान सरकार गठन भएपछि सुरक्षा निकायको मनोबल उल्लेखनीय रूपमा बढेको दाबी गर्नुभयो। नागरिक र सुरक्षा निकायबीच सहकार्यको वातावरण बनेको भन्दै त्यसलाई निरन्तरता दिइने बताउनुभयो। उहाँले सरकारले सबै नागरिकलाई समान व्यवहार गर्ने स्पष्ट पार्नुभयो।
आफूले जोखिम मोलेर भए पनि सुरक्षा निकायको मनोबल बढाउन काम गरेको उल्लेख गर्दै गृहमन्त्री अर्यालले गृह मन्त्रालय तथा मातहतका निकायमा कुनै पनि प्रकारको अनुचित हस्तक्षेप हुन नदिएको दाबी गर्नुभयो। मन्त्रालयमा हस्तक्षेप गर्न नपाएकै कारण आफूविरुद्ध आलोचना भएको भए पनि त्यसलाई स्वीकार गरेर निष्पक्षता कायम गरेको उहाँको भनाइ छ।
गृहमन्त्री अर्यालले जेन–जी आन्दोलनपछि उत्पन्न संकटलाई वर्तमान सरकारले सुरक्षित र जिम्मेवार ढंगले व्यवस्थापन गरेको दाबी गर्दै सुरक्षा निकायलाई उच्च मनोबलका साथ जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभयो।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच