काठमाडौं । आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअघिको वार्म अप खेलमा नेपाल आयरल्याण्डसँग पराजित भएको छ । नेपाल बलियो टोली आयरल्याण्डसँग ९९ रनले पराजित भएको हो । आयरल्याण्डले दिएको २०१ रनको विशाल लक्ष्य पछ्याएको नेपाल १९ ओभरमा १०१ रनमा अल आउट भएको थियो ।
नेपालका लागि कविता जोशीले सर्वाधिक २८ तथा बिन्दु रावलले २५ रन जोड्नुभयो । कप्तान इन्दु बर्माले १२ रन बनाउनुभयो । अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले २० ओभरमा सात विकेट गुमाएर २०० रन बनाएको थियो । कप्तान गेबी लेविसले ३८ बलमा ७७ रनको विस्फोटक इनिङ खेलेर रिटायर आउट हुनुभयो ।
त्यस्तै, ओर्ला पेन्डरगास्टले २९ बलमा ६२ रनको आक्रामक पारी खेल्नुभयो । उहाँ पनि रिटायर आउट हुनुभयो । लिया पलले २१ रन जोड्नुभयो ।
नेपालका लागि रुविना क्षेत्रीले दुई तथा रिया शर्माले एक विकेट लिनुभएको थियो । यो खेलको कुनै अन्तर्राष्ट्रिय वा टी-२० मान्यता भने हुने छैन । नेपालले अब शुक्रबार कीर्तिपुरमा अमेरिकासँग दोस्रो वार्म अप खेल खेल्नेछ ।
आइसिसी महिला टी-२० विश्वकप क्वालिफायर यही माघ ४ गतेदेखि १८ गतेसम्म हुँदैछ । नेपालका दुई मैदानमा हुने विश्वकपमा छनोटका लागि नेपालले यसअघि नै टोली घोषणा गरिसकेको छ । इन्दु बर्माको कप्तानीमा रहेको नेपाली टोलीको उपकप्तानको जिम्मेवारी पूजा महतोलाई दिइएको छ ।
नेपाली टोलीमा इन्दु बर्मा (कप्तान), पूजा महतो (उप-कप्तान), रुविना क्षेत्री, सीता रानामगर, बिन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, कविता जोशी, कविता कुँवर, रचना चौधरी, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, राजमती ऐरी र मनिषा उपाध्याय हुनुहुन्छ ।
टी-२० विश्वकपको विश्व छनोटका खेल नेपालको त्रिवि मैदान र मूलपानी मैदानमा हुनेछन् । खेल तालिकाअनुसार नेपालको पहिलो खेल थाइल्याण्डविरूद्ध हुनेछ । समूह ‘बी’मा नेपालले स्कटल्याण्ड, थाइल्याण्ड, जिम्बावे र नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । छनोटमा १० देश सहभागी हुनेछन् । तीमध्ये शीर्ष चार देश इंग्ल्याण्डमा सन् २०२६ को जुनमा हुने महिला टी-२० विश्वकपमा छनोट हुनेछन् ।
समूह ‘ए’मा बंगलादेश, आयरल्याण्ड, पिएनजी, नामिबिया र अमेरिका छन् । समूह ‘बी’मा स्कटल्याण्ड, थाइल्याण्ड, जिम्बावे, नेदरल्याण्ड्स र नेपाल छन् ।
विश्वकप छनोटमा नेपालको खेलमा नेपाल भर्सेस थाइल्याण्ड माथिल्लो मूलपानी मैदानमा माघ ४ गते हुनेछ । नेपाल भर्सेस नेदरल्याण्ड्स माथिल्लो मूलपानी मैदानमा माघ ८ गते हुनेछ । नेपाल भर्सेस जिम्बावे त्रिवि मैदानमा माघ १० गते हुनेछ भने नेपाल भर्सेस स्कटल्याण्ड त्रिवि मैदानमा माघ १२ गते हुनेछ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच