काठमाडौं । चलचित्र विकास बोर्डद्वारा काठमाडौं उपत्यकाभित्र सञ्चालनमा रहेका चलचित्र घरहरूका लागि आयोजना गरिएको चलचित्र विकास शुल्क पोर्टलसम्बन्धी दुईदिने तालिम सम्पन्न भएको छ । सोमबार र मंगलबार सञ्चालन गरिएको उक्त तालिमको पहिलो दिन काठमाडौं उपत्यकाभित्रका १३ वटा चलचित्र घरका १८ जना प्रतिनिधिहरू सहभागी थिए भने दोस्रो दिन १४ वटा सिनेमा हलका २० जना प्रतिनिधिहरूको सहभागिता थियो । यसरी कुल २७ सिनेमा हलका ३८ जना प्रतिनिधि तालिममा सहभागी भएका थिए ।
तालिममा चलचित्र विकास शुल्कसम्बन्धी विद्यमान कानुनी व्यवस्था, यसको कार्यान्वयन अवस्था, डिजिटल पोर्टलको आवश्यकता र औचित्य तथा शुल्क व्यवस्थापनमा पोर्टलको प्रभावकारिताबारे विस्तृत जानकारी प्रदान गरिएको थियो । साथै, सहभागीलाई पोर्टलको सैद्धान्तिक अवधारणासँगै व्यावहारिक प्रयोगसम्बन्धी प्रशिक्षणसमेत दिइएको थियो ।
कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्र विकास शुल्क पोर्टलले शुल्क संकलन र व्यवस्थापन प्रक्रियालाई थप पारदर्शी, सहज र उत्तरदायी बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले डिजिटल प्रणालीमार्फत शुल्क व्यवस्थापनलाई व्यवस्थित बनाउँदै चलचित्र उद्योगलाई आधुनिक प्रविधिसँग जोड्नु बोर्डको प्राथमिक लक्ष्य रहेको बताउनुभयो । उहाँका अनुसार उक्त पोर्टलले दीर्घकालीन रूपमा चलचित्र उद्योगको संस्थागत विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ ।
यसअघि चलचित्र विकास बोर्डले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश तथा बागमती प्रदेशअन्तर्गत चितवन जिल्लाका चलचित्र घरहरूका लागि पनि यस्तै तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेको छ । बोर्डले माघ २ गतेदेखि माघ ७ गतेसम्म गण्डकी प्रदेशका चलचित्र घरहरूलाई चलचित्र विकास शुल्क पोर्टलसम्बन्धी तालिम प्रदान गर्ने कार्यतालिका तय गरेको जनाएको छ ।
चलचित्र विकास बोर्डले यस्ता तालिम कार्यक्रममार्फत चलचित्र उद्योगलाई डिजिटल प्रणालीसँग आबद्ध गर्दै शुल्क व्यवस्थापन प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच