काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) आधारभूत मूल्यमा ३.०२ प्रतिशतले वृद्धि हुने भएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा आर्थिक वृद्धिदर ३.४ प्रतिशत रहने प्रक्षेपण गरिएको थियो । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक (साउन-भदौ-असोज) को राष्ट्रिय लेखा अनुमानअनुसार सो अवधिमा जिडिपी ३.०२ प्रतिशतले वृद्धि हुने भएको हो ।
मौसमी प्रभाव समायोजन नगरिएको तथ्यांकअनुसार खाद्यान्न बाली, वन पैदावर, निजी जीवन बीमा तथा आन्तरिक उत्पादनका निर्माण सामग्रीमा देखिएको संकुचनका कारण समग्र वृद्धिदर सीमित देखिए पनि विद्युत् उत्पादन तथा वितरण, वित्तीय गतिविधि, पशुपन्छी उत्पादन, फलफूल तथा तरकारी, व्यापार सेवा र पर्यटन आगमनजस्ता क्षेत्रमा भएको वृद्धिले कुल गार्हस्थ्य उत्पादनलाई सकारात्मक बनाएको बताइएको छ । प्रस्तुत १८ वटा औद्योगिक वर्गीकरण सबैमा धनात्मक वृद्धिदर रहने अनुमान गरिएको छ ।
विद्युत् तथा ग्याँससम्बन्धी गतिविधिमा सबैभन्दा बढी १४.९१, वित्तीय तथा बीमासम्बन्धी गतिविधि ७.०७ र पेशागत, वैज्ञानिक तथा प्राविधिक गतिविधि ५.५२ प्रतिशतको वृद्धि देखिएको छ भने कृषि क्षेत्रको वृद्धिदर १.३६ प्रतिशत रहने अनुमान गरिएको छ ।
तथ्यांक कार्यालयका अनुसार मौसमी प्रभाव समायोजित तथ्यांकका आधारमा आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिकको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा कुल गार्हस्थ्य उत्पादन १.६८ प्रतिशतले संकुचित भएको देखिन्छ । १८ मध्ये १३ वटा क्षेत्रमा ऋणात्मक वृद्धिदर देखिनु र बाँकी क्षेत्रमा सीमित वृद्धिका कारण समग्र उत्पादन ऋणात्मक भएको अनुमान गरिएको हो ।
विद्युत् तथा ग्याँससम्बन्धी गतिविधिमा सबैभन्दा बढी १४.९१ प्रतिशत वृद्धिदर देखिएको छ भने वित्तीय तथा बीमासम्बन्धी गतिविधि ७.०७ प्रतिशत र पेशागत, वैज्ञानिक तथा प्राविधिक गतिविधि ५.५२ प्रतिशतको वृद्धि देखिएको छ । अर्थतन्त्रमा सबैभन्दा ठूलो योगदान गर्ने कृषि क्षेत्रको वृद्धिदर १.३६ प्रतिशत रहने अनुमान गरिएको छ । धान उत्पादन घटे पनि पशुपन्छी, तरकारी र फलफूल उत्पादनमा भएको सामान्य वृद्धिले कृषि क्षेत्रलाई सकारात्मक बनाएको हो । थोक तथा खुद्रा व्यापार क्षेत्र ३.८९ प्रतिशतले बढ्ने अनुमान गरिएको छ, जसका कारण स्वदेशी उत्पादन र आयातमा वृद्धि रहेको छ भने पानी आपूर्ति, ढल निकास, फोहोर व्यवस्थापन तथा उपचारात्मक गतिविधिमा १.११ प्रतिशत र मानव स्वास्थ्य तथा सामाजिक सेवामा १.१९ प्रतिशतमात्र वृद्धिदर देखिएको छ, जुन सबैभन्दा कम हो । पछिल्ला चार आर्थिक वर्षका त्रैमासिक तथ्यांकअनुसार २०७८/७९ को चौथो त्रैमासिकमा आर्थिक वृद्धिदर उच्च र २०७९/८० को दोस्रो त्रैमासिकमा न्यून देखिएको थियो ।
मौसमी प्रभाव समायोजित त्रैमासिक तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिकको तुलनामा आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा समग्र अर्थतन्त्र १.६८ प्रतिशतले संकुचित भएको प्रारम्भिक अनुमान गरिएको छ । वैशाख, जेठ र असार समेटिएको चौथो त्रैमासिकको तुलनामा साउन, भदौ र असोज समेटिएको पहिलो त्रैमासिकमा प्रस्तुत १८ वटा औद्योगिक वर्गीकरणमध्ये पाँचवटा क्षेत्रमा मात्र धनात्मक वृद्धिदर देखिएको छ भने १३ वटा क्षेत्रमा ऋणात्मक वृद्धिदर देखिएको छ । सो अवधिमा विद्युत् तथा ग्याँससम्बन्धी क्षेत्रमा सबैभन्दा बढी ४.९५ प्रतिशतले वृद्धि भएको अनुमान गरिएको छ तर अर्थतन्त्रमा सबैभन्दा ठूलो हिस्सा ओगट्ने कृषि, वन तथा मत्स्य क्षेत्र भने १.६५ प्रतिशतले संकुचित भएको देखिएको छ, जसले समग्र आर्थिक गतिविधिमा दबाब सिर्जना गरेको छ ।
ऋणात्मक वृद्धिदर देखिएका १३ वटा औद्योगिक वर्गीकरणमध्ये खानी तथा उत्खनन् क्षेत्र सबैभन्दा धेरै १०.०५ प्रतिशतले संकुचित भएको छ । त्यसपछि सार्वजनिक प्रशासन, रक्षा तथा अनिवार्य सामाजिक सुरक्षासम्बन्धी गतिविधि ५.९५ प्रतिशतले घटेको छ । उल्लेखित मिश्रित परिणामका कारण अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासिकको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा समग्र अर्थतन्त्र ऋणात्मक दिशातर्फ गएको प्रारम्भिक अनुमान गरिएको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच