काठमाडौं । झण्डै आठ दशक लामो इतिहास बोकेको नेपाली कांग्रेस फेरि विभाजित भएको छ । नेतृत्व परिवर्तन र रूपान्तरणको माग सम्बोधन नहुँदा कांग्रेस फेरि दुई समूहमा विभाजित भएको हो । सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन समूह र विशेष महाधिवेशन पक्षधरको लामो शक्ति संघर्ष अन्ततः विभाजनमा गएर टुंगिएको छ । बुधबार सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेसँगै पार्टी औपचारिक रूपमा विभाजित भएको हो । संस्थापनको कारबाहीसँगै काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनले भने देउवा नेतृत्वको केन्द्रीय समिति भंग गर्दै नयाँ कार्यसमिति चयन गरेको छ । गगन थापालाई सभापति चयन गरेको विशेष महाधिवेशनले फरमुल्लाह मन्सुरलाई उपसभापति र गुरु घिमिरे तथा प्रदीप पौडेललाई महामन्त्री चुनेको हो ।
गत भदौ २३ र २४ गते भएको ‘जेन–जी’ आन्दोलनपछि कांग्रेसमा नेतृत्व हस्तान्तरण र रूपान्तरणको बहस चल्दै आएको थियो । देउवाको नेतृत्वमा अब चुनावमा जान नसकिने भन्दै महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशनको माग गरेका थिए । पार्टी विधानअनुसार ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेपछि विशेष महाधिवेशन अनिवार्य आह्वान हुनुपर्ने उनीहरूको अडान थियो । तर, संस्थापन पक्षले नियमित महाधिवेशनको मिति तय भइसकेकाले विशेष महाधिवेशन हुन नसक्ने अडान राखेको थियो । नियमित महाधिवेशनका लागि वैशाखको अन्तिम साता मिति पनि केन्द्रीय कार्यसमितिले तय गरेको थियो । तर, थापा र शर्मा समूहले विशेष महाधिवेशन गरेरै छाड्यो ।
दुवै पक्ष आ-आफ्नो अडानमा अडिग रहँदा संवाद र सहमतिको प्रयास असफल भएको थियो । पार्टी विभाजन जोगाउन अन्तिम समयसम्म वार्ता प्रयास भए पनि देउवा पद छोड्न तयार नहुँदा सहमति जुट्न सकेन । अन्ततः देउवा समूहले कारबाहीको बाटो रोज्यो भने विशेष महाधिवेशन पक्षधरले त्यसलाई अवैधानिक ठहर गर्दै नयाँ नेतृत्व चयन गर्यो ।
लामो शक्ति संघर्ष विभाजनमा गएर टुंगिए पनि विवाद भने साम्य भएको छैन । विशेष महाधिवेशन पक्षधरले बहुमत प्रतिनिधि आफ्नो पक्षमा रहेको दाबी गर्दै आफूहरू नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन् । देउवा पक्षले निर्वाचन आयोगमा पत्र बुझाएर नेपाली कांग्रेसको नाममा कुनै विशेष महाधिवेशन नभएको दाबी गरेको छ । दुवै पक्ष आयोगमा पुगेसँगै अब कांग्रेस विवाद कानुनी लडाइँमा प्रवेश गरेको हो ।
आठ दशक लामो इतिहास बोकेको कांग्रेस विभाजन भएको यो पहिलोपटक भने होइन । २०१० सालमा बीपी कोइराला र मातृकाप्रसाद कोइरालाबीचको टकरावले पहिलो विभाजन भएको थियो । २०५९ सालमा गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाबीचको विवादले कांग्रेस (प्रजातान्त्रिक) जन्मिएको थियो । यसपटक पनि नेतृत्वको कार्यशैली र अधिकारको टकराव विभाजनको कारण बनेको हो । संयोगवश, पछिल्ला दुई विभाजनमा शेरबहादुर देउवा कुनै न कुनै रूपमा केन्द्रमा रहनुभएको छ ।
यसअघि २०१४ सालको विशेष महाधिवेशन गरेर सुवर्ण शमशेरले आफैँ नेतृत्व हस्तान्तरण गर्नुभएको थियो । अहिले भने बहुमत प्रतिनिधिले नेतृत्व परिवर्तन गर्दा संस्थापन पक्षले त्यसलाई अस्वीकार गरेको छ ।
विभाजनसँगै कांग्रेस कार्यकर्ता दुई धारमा बाँडिएका छन् । एकातिर नेतृत्व परिवर्तन र पुनर्गठनले उत्साह जगाएको छ भने अर्कातिर पार्टी फुटेको पीडाले निराशा पनि छ । अब कुन समूह आधिकारिक कांग्रेस भन्ने टुंगो निर्वाचन आयोग र सम्भवतः अदालतबाट लाग्नेछ । राजनीतिक रूपमा बहुमत निर्णायक हुने दाबी विशेष महाधिवेशन पक्षधरको छ भने कानुनी संरचना र हस्ताक्षरको आधार देउवा पक्षले अघि सारेको छ ।
समयअनुसार पार्टी चलाऊँ भन्दा कारबाहीमा परिँदो रहेछ, त्यसको औचित्य छैन : विश्वप्रकाश शर्मा
कांग्रेस नेता विश्वप्रकाश शर्माले आफूले बुधबार बिहानै पद त्यागेको भन्दै केन्द्रीय समितिले कारबाही गर्नुको कुनै औचित्य नरहेको बताउनुभएको छ । बुधबार भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई सम्बोधन गर्दै नेता शर्माले पार्टीलाई परिवर्तित समयअनुसार चलाएर अघि बढौँभन्दा कारबाहीमा परिएको टिप्पणी गर्नुभयो । पार्टीलाई हालको अवस्थाबाट माथि उठाउन जारी महाधिवेशनले महत्वपूर्ण भूमिका खेल्ने दाबी उहाँले गर्नुभयो । ‘केन्द्रीय समिति बैठकले कारबाही गरेको भन्ने सुनेँ । जिन्दगीमा पहिलोचोटि कारबाही भन्ने शब्दमा परियो । बदलिएको समयअनुसार कांग्रेस चलाऊँ भन्दा कारबाहीमा परिँदो रहेछ,’ उहाँले भन्नुभयो ।
शर्माले पार्टी र देशलाई बदल्न सक्ने मान्छे गगन थापा मात्रै भएको बताउनुभयो । ‘हामी प्रतिबद्ध गर्छौं, यो कांग्रेस नेतृत्व गर्नसक्ने र देशलाई बदल्न सक्ने दह्रो मान्छे गगन थापा हो । यहाँ अलमलिनुपर्ने कारण नै छैन,’ उहाँले भन्नुभयो ।
९ कक्षामा पढ्दै म कांग्रेस भएको थिएँ, कसैले हटायौँ भनेर हट्ने होइन : गगन थापा
कांग्रेस नेता गगनकुमार थापाले कांग्रेस पार्टी कसैको प्राइभेट कम्पनी नभएको बताउनुभएको छ । बुधबार विशेष महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै थापाले शेरबहादुर देउवाको नेतृत्वको केन्द्रीय कार्यसमिति भंग भइसकेको बताउनुभयो । आफू ९ कक्षा पढ्दैदेखि कांग्रेसमा आबद्ध भएको उहाँको भनाइ थियो । ‘हामीलाई कारबाही गरेको सुनेका छौँ । यो पार्टी कसैको प्राइभेट कम्पनी होइन । ९ कक्षामा पढ्दै थिएँ, जतिबेला म कांग्रेस भएको थिएँ । २०४६ को आन्दोलनमा सहभागी भएको थिएँ । २०६२/६३ मा त आन्दोलनको नेतृत्व गरेको थिएँ । कसैले हटायौँ भनेर हट्ने होइन,’ उहाँले भन्नुभयो, ‘यहाँ नेपाली कांग्रेसको विशेष महाधिवेशन चलिरहेको छ । शेरबहादुर देउवाको नेतृत्वमा रहेको केन्द्रीय कार्यसमिति भंग भइसकेको छ । सिंगो देशले यो सुनिरहेको छ । नागरिकले सुनिरहेका छन् । देशभरका कांग्रेस कार्यकर्ता र शुभचिन्तकले सुनिरहेका छन् । यो हो नेपाली कांग्रेस ।’ विशेष महाधिवेशनमा भेला भएकाहरू नै बीपी र गणेशमानका सच्चा अनुयायी र सन्तान भएको उहाँले बताउनुभयो ।
बहुमतको वेगलाई अब कुनै निर्णयले परिवर्तन गर्न सक्दैन : फरमुल्लाह मन्सुर
नेपाली कांग्रेसका नेता फरमुल्लाह मन्सुरले बहुमत कार्यकर्ताको वेगलाई कुनै निर्णयले परिवर्तन गर्न नसक्ने बताउनुभएको छ । काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनलाई सम्बोधन गर्दै नेता मन्सुरले कांग्रेसको अबको नेतृत्व गगनकुमार थापाले मात्रै गर्नसक्ने बताउनुभयो । ‘कांग्रेसको वेगलाई, बहुमत नेता-कार्यकर्ताको वेगलाई अब कुनै निर्णयले परिवर्तन गर्न सक्दैन,’ उहाँले भन्नुभयो, ‘यहाँ विशेष अधिवेशन चलिरहेको छ, अर्को कुनै कमिटी छैन, जसले कांग्रेसको नेतृत्व गरोस् ।’
पार्टी फुटाउने पूर्वनिर्धारित योजना रहेछ, जति प्रयत्न गर्दा पनि बचाउन सकिनँ : पूर्णबहादुर खड्का
कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकता जोगाउन नसकिएको बताउनुभएको छ । केन्द्रीय समिति बैठकमा भावविह्वल हुनुभएका उहाँले पूर्वनिर्धारित योजनाबमोजिम कांग्रेस फुटाउन खोजिएको बताउनुभयो । सबै यत्न प्रयत्न गर्दा पनि साथीहरूलाई मनाउन नसकएिको उहाँको भनाइ थियो । ‘यति धेरै गर्दा पनि मानिएन । पार्टी फुटाउने पूर्वनिर्धारित योजना रहेछ,’ उहाँले भन्नुभयो, ‘पार्टी बचाउन सकिनँ । सबै यत्न प्रयत्न गर्दा पनि साथीहरूलाई मनाउन सकिनँ ।’ यसअघि केन्द्रीय समिति बैठकमा उहाँले पार्टी असहज स्थितितर्फ अघि बढेको ब्रिफिङ गर्नुभएको थियो ।
गगन र विश्वसहित मन्सुरलाई पाँच वर्षको कारबाही
कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टी संस्थापन समूहले कारबाही गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले गगन–विश्वसहित सहमहामन्त्री फरमुल्लाह मन्सुर लगायतलाई पाँच वर्षका लागि निष्कासन गर्ने निर्णय गरेको हो । बैठकले विशेष महाधिवेशनको पक्षमा लाग्नेहरूलाई आ-आफ्नो भूमिकामा फर्किन भनेको छ । पार्टी निर्णयविपरीत विशेष महाधिवेशन आह्वान गरेको भन्दै उनीहरूमाथि कारबाही गरिएको हो ।
विशेष महाधिवेशनले भने पदाधिकारीलाई कारबाही गर्ने पार्टी केन्द्रीय समितिको निर्णय खारेज गरेको छ । बुधबार भृकुटीमण्डपमा विशेष महाधिवेशनको बन्दसत्रको हलले महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने निर्णय खारेज गरेको हो ।
आयोगमा आधिकारिकता विवाद
दुई समूहमा विभाजित कांग्रेसको विवाद अब निर्वाचन आयोगमा प्रवेश गरेको छ । दुवै पक्ष आफैँलाई आधिकारिक दाबी गर्दै आयोगमा पुुगेका हुन् । देउवा पक्षले कांग्रेसले विशेष महाधिवेशनको आयोजना नगरेको भन्दै आयोगमा पत्र पठाएको छ । देउवा पक्षको पत्रमा भनिएको छ, ‘नेपाली कांग्रेसको नाममा काठमाडौं विशेष महाधिवेशन भएको भनी विभिन्न सञ्चार माध्यममा आएकोले त्यस्तो कार्यक्रम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको औपचारिक कार्यक्रम नभएको नगरेको व्यहोरासमेत अवगत गराइन्छ ।’ विशेष महाधिवेशन पक्षधर नेतृत्व चयन गरेर अद्यावधिकका लागि निर्वाचन आयोग जाने तयारीमा छ । त्यसअगावै देउवा पक्षले आयोग पुगेर विशेष महाधिवेशन नगरेको व्यहोराको पत्र दर्ता गरेको हो । विशेष महाधिवेशन पक्षले एक दिनअघि विशेष महाधिवेशन पक्षधरले महाविधेशन चलिरहेको पत्र निर्वाचन आयोगमा दर्ता गरेको थियो ।
देउवा पक्षले सानेपास्थित केन्द्रीय कार्यालय आफूहरूकै हुने दाबी गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता मीनबहादुर विश्वकर्माले आधिकारिक रूपमा अहिले केन्द्रीय कार्यसमिति देउवा पक्षतिरै रहने र कार्यालय पनि त्यहीँ रहने बताउनुभयो । विशेष महाधिवेशनमा बोल्ने नेताहरूले पार्टी कार्यालय र झण्डा आफ्नो हुने बताएका छन् ।
विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको विषय अध्यावधिक गर्न उनीहरू बिहीबार आयोग पुग्नेछन् । राजनीतिक दलसम्बन्धी ऐन, ०७३ को दफा ५१ बमोजिमको निवेदन लिएर विशेष महाधिवेशन पक्षधर निर्वाचन आयोग जानेछ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच