अब कुनै दैवी चमत्कार भएन भने नेपाली कांग्रेस फुट्यो भन्दा हुन्छ । मुलुकको सबैभन्दा पुरानो र लोकतान्त्रिक मानिएको राजनीतिक दल नेताहरूको अहं र स्वार्थी समूहको जालोमा जेलिएर दुई टुक्रा हुनपुग्यो । पटक-पटकका जनआन्दोलनका नेतृत्व गरेको सबैभन्दा ठूलो पार्टी नेताहरूका झिँगाका बराबरका मुटुका कारण विभाजित भयो । पश्चगमनका अनुयायीहरूका निमित्त यो सबैभन्दा ठूलो खुसीको अवसर होला तर मुलुकमा स्थापित गणतन्त्र र नागरिक स्वतन्त्रताका पक्षधरहरूका निम्ति यो ज्यादै नै विस्मातको विषय बनेको छ । चाहे दुई टुक्रामा एउटा भयंकर ठूलो र अर्को साह्रै सानो होला र पनि कसैका लागि पनि यो अवस्था सुखद् होइन ।
बीपी कोइरालालाई महामानव, किसुनजीलाई सन्तनेता, गणेशमानलाई लौहपुरुष, सुशील कोइरालालाई त्यागी नेता भनेजस्तै देउवाले समन्वयकारी नेताको उपाधि पाउने सुवर्ण अवसर आएको थियो, त्यो गुमाएर विग्रहकारीको पगरी गुथ्न पुगे । देउवाले गिरिजाप्रसाद कोइराला सभापति हुँदा पार्टी फुटाए र अर्को पटक आफैं पार्टी सभापति भएर पार्टी फुटाए । जीवनभर देउवाका लागि योभन्दा ठूलो दुर्भाग्य कुनै हुन सक्दैन ।
पहिलो पटक चाकरीबाट मनोनित महाधिवेशन प्रतिनिधि बन्ने, सभापतिबाट मनोनित केन्द्रीय सदस्य हुने र ताल परे पदाधिकारीसमेत पड्काउनेहरूको चपेटाबाट पार्टी सभापति शेरबहादुर देउवा मुक्त हुन सकेनन् । सभापति नै व्यक्तिगत स्वार्थले घेरिएका केन्द्रीय सदस्यहरूको चेपुवामा परेपछि पूरै पार्टी नेपाली कांग्रेस नै निहित स्वार्थ बोकेकाहरूको घेराबन्दीबाट बाहिर उठ्न सकेन । वडामा पुगेर क्षेत्रीय प्रतिनिधिको चुनाव लडेर महाधिवेशन प्रतिनिधि, त्यसपछिको निर्वाचनबाट महासमिति सदस्य हुँदै केन्द्रीय सदस्य बन्न गर्नुपर्ने यत्न कहिल्यै नगरेका तर स्वार्थ समूहको जञ्जाल बनाई पार्टीको केन्द्रबाट कहिल्यै बाहिर बस्न नपरेकाहरूको जालझेलबाट पार्टी मुक्त हुन नसक्दा नेपाली कांग्रेस विभाजित हुन पुग्यो ।
आमनिर्वाचनहरूमा टिकट लिएर चुनाव लड्न डराउने तर समानुपातिक या राष्ट्रिय सभाको टिकट लिएर नेता बन्दै आएकाहरूको वृत्तबाट पार्टी सभापति देउवा बाहिर आउन सकेनन् । मुलुकले के चाहेको छ र बदलिएका अवस्थामा पार्टी कार्यकर्ताहरूको चाहना के छ भन्ने बुझ्ने अवसर तिनै दैलो ढुकुवा नेताहरूले देउवालाई दिँदै दिएनन् वा देउवाले बुझ्नै चाहेनन् । शकुनीले आफ्नो पासाको चमत्कार वरिपरि धृतराष्ट्र र दुर्योधनलाई फनफनी घुमाए झैँ पार्टी सभापतिलाई त्यस्तै तत्वहरूले नचाई रहँदा नेपाली कांग्रेसले यो दुर्भाग्य बेहोर्नु परेको छ । लोकतन्त्रको पहरेदार राजनीतिक दल आफैँमा कमजोर हुनपुगेको छ ।
पार्टी सभापति देउवालाई आफ्ना स्वार्थ वरिपरि घुमाएर रमाएकाहरूका निमित्त त पहिलेभन्दा अझ बढी सजिलो समय आएको अनुभव भएको होला । विरोध हुन्छ कि भनेर डराउन पर्ने अवस्थै अब रहेन । बिरालोले यो घरका सबै मान्छे मरे कुँढेमा बसेर दूध पिउँथेँ भने झैँ सबै फरक मतवालाहरूलाई तह लगाएपछि अझ बढी सुनौलो अवसर आयो भन्ने लागेको छ होला । भैँसी पाल्ने मान्छेहरू सबै मरे कुँढेमा दूध कहाँबाट आउँछ भन्ने ज्ञान बिरालोलाई नभए जस्तै कांग्रेसलाई विभाजनको पीडामा पु¥याउनेहरूलाई भोलिका दिनका बारेमा ज्ञात छैन जस्तै लागेको छ । त्यसैले त पार्टी सभापतिलाई लचक हुनै नदिई विधान मिच्न, आमकार्यकर्ताको मनोभावनामा खेल्न र कांग्रेसलाई कमजोर तुल्याउन उक्साइएको होला ।
उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहकको भूमिका दिने बित्तिकै शेरबहादुर देउवाको उचाइ ह्वात्तै बढेको थियो । मुलुकको अवस्था, समयको माग र पार्टीको परिस्थिति बुझ्ने नेताका रूपमा देउवालाई परिभाषित गरिएको थियो । विभिन्न राजनीतिक दलहरूसँग समन्वय गर्दै पार्टीलाई बेलाबेलामा सत्तामा पु¥याउने गरेका कारण देउवाको समन्वयकारी क्षमताको गुनगान हुने गरेको थियो । यति बेला पार्टी दुईतिर विभाजित हुन खोज्दा त्यसभन्दा उचो उचाइ लिने अवसर देउवाको थियो तर गुमाए । बीपी कोइरालालाई महामानव, किसुनजीलाई सन्तनेता, गणेशमानलाई लौहपुरुष, सुशील कोइरालालाई त्यागी नेता भने जस्तै देउवाले समन्वयकारी नेताको उपाधि पाउने सुवर्ण अवसर आएको थियो, त्यो गुमाएर विग्रहकारीको पगरी गुथ्न पुगे । देउवाले गिरिजाप्रसाद कोइराला सभापति हुँदा पार्टी फुटाए र अर्को पटक आफैं पार्टी सभापति भएर पार्टी फुटाए । जीवनभर देउवाका लागि योभन्दा ठूलो दुर्भाग्य कुनै हुन सक्दैन ।
विधान बमोजिम विशेष महाधिवेशन बोलाइदिएको भए देउवाको के जान्थ्यो ? पार्टीको हितलाई मूल्यांकन गर्न नसक्नेहरूका बीचबाट बाहिर आएर विशेष महाधिवेशन आयोजना स्थलमा पुगेर ती सदस्यहरूलाई सम्बोधन गरेको भए देउवाको के बिग्रन्थ्यो ? म फेरि पार्टी सभापति हुने होइन भनी बोल्दै आएको कुरालाई विशेष महाधिवेशनको हलमा पुगेर दोहो¥याउँदै यो महाधिवेशनबाट नीतिमात्रै पारित गर्नुस् भनेर निर्देशन दिएको भए देउवाको के जान्थ्यो ? पार्टीलाई चलायमान गराउने तपाईंहरूको अभियानमा म पनि सँगै छु भन्दै मुलुकभरबाट आएका विशेष महाधिवेशन पक्षधरहरू पनि आफ्नै कार्यकर्ता हुन् भन्ने ठानेर तिनका कुरा सुनेको भए त्यही हलले देउवाको जयजयकार गथ्र्यो र आज नेपाली कांग्रेस सम्भवतः एकढिक्कै रहन्थ्यो ।
कुरा कति सत्य हो भन्ने थाहा छैन तर वि.सं.२०४६ मा जनआन्दोलन चलिरहँदा राजदरबारभित्र राजा र रानीका बीचमा झगडा परेको थियो भन्ने हल्ला बाहिर आएको थियो । जनआन्दोलन चर्किँदै जाँदा दरबारले कस्तो भूमिका खेल्ने भन्ने कुरामा छलफल चल्दा मतभेद उत्पन्न भएको हो भन्ने गर्दथे । राजा अलि उदार हुन खोज्ने तर रानी कठोर भन्ने सुनिन्थ्यो । दुईबीचमा मतभेद बढ्दै जाँदा राजा वीरेन्द्रले रानी ऐश्वर्यलाई झापडै हाने रे भन्थे । सधैं परिवारको दबाबमा रहने गरेका राजा अति भएपछि त्यसरी उत्रिएछन् भन्ने गरिन्थ्यो तर नेपाली कांग्रेसमा भने त्यस्तो अवस्था आउन सकेन । राजा कडा भएर प्रजातन्त्र दिँदा दरबार संवैधानिक भएर लामो समय रह्यो तर देउवा त्यसरी कडा हुन नसक्दा पार्टी फुट्न पुगेको छ ।
२०४६ सालको जनआन्दोलन जति चर्किँदै जान्थ्यो, त्यति बेलाको पञ्चहरू उति नै प्रतिकार समितिहरू गठन गर्दै जान्थे । आन्दोलनमा उत्रिनेहरूलाई कारबाहीको धम्की दिइरहन्थे । नागरिक स्वतन्त्रताका पक्षधरलाई अराष्ट्रिय तत्वको आरोप लगाइरहन्थे । कहिले प्रधानमन्त्रीले वक्तव्य निकालेर संघर्षमा उत्रिएकाहरूलाई अण्टसण्ट भन्थे भने कहिले राष्ट्रिय पञ्चायतका अध्यक्षले जथाभावी भन्थे । पञ्च नेताहरू पालैपालो जनआन्दोलनमा सहभागीहरूलाई गाली गरिरहन्थे । लाखौंको संख्यामा सडकमा आएकाहरूलाई मुठ्ठीभर भनेर दरबारको आँखा छोप्ने प्रयत्न भइरहन्थ्यो । नेपाली कांग्रेसमा अहिले ठ्याक्कै त्यस्तै परिदृश्य देखिएको छ । विशेष महाधिवेशनकै दिनमा एक दिन युवा भेला र अर्को दिन जिल्ला सभापतिहरूको भेला डाकिएको थियो । यसले प्रतिकार समितिको झल्को दिएको थियो ।
पौष २७ गते भृकुटी मण्डपमा जम्मा भएको भिडलाई देउवाका अगाडि त्यस्तै मुठ्ठीभर परिभाषित गर्ने प्रयत्न गरियो । महाधिवेशन प्रतिनिधि होइनन्, बाहिरी मान्छेको जमघट भनियो । पार्टीका नेताहरूको काम पार्टी केन्द्रमा कब्जा जमाउने मात्रै निश्चय नै होइन । आमनिर्वाचनमा पनि जानुपर्दछ र त्यसमा सर्वसाधारणको भूमिका रहन्छ भन्ने सोचेजस्तो देखिएन । राति आठ बजेसम्म पनि हल न चल भई भाषण सुन्न बसेकाहरूको भावना बुझ्ने कोसिस गरिएन । फलतः नेपाली कांग्रेसले यो दुर्भाग्य बेहोर्नु परेको छ ।
विधान बमोजिम पार्टी चल्नै पर्दछ भन्ने मान्यता राख्दै ५४ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिको मागलाई सम्बोधन गर्नुपर्दछ भन्ने अडानमा रहे । यिनै नेताहरूलाई आज देउवा पक्षले कारबाही गरेको समाचार बाहिरिएको छ भने विधानमा रहेको बाध्यकारी व्यवस्थालाई लत्याउन सभापतिलाई उक्साइरहनेहरू नेपाली कांग्रेस हाँक्ने ठाउँमा रहन पुगेका छन् ।
चोरलाई चौतारो साधुलाई शूली भन्ने उखान नेपाली कांग्रेसमा चरितार्थ हुनपुगेको छ । गगन–विश्वहरू पार्टीलाई चलायमान गराउने अभियानमा जुटे । नेपाली कांग्रेसलाई अझ सशक्त बनाउने प्रयत्न गर्नका लागि पार्टी सभापतिसँग निरन्तर छलफलमा रहे । विधान बमोजिम पार्टी चल्नैपर्दछ भन्ने मान्यता राख्दै ५४ प्रतिशत भन्दा बढी महाधिवेशन प्रतिनिधिको मागलाई सम्बोधन गर्नुपर्दछ भन्ने अडानमा रहे । यिनै नेताहरूलाई आज देउवा पक्षले कारबाही गरेको समाचार बाहिरिएको छ भने विधानमा रहेको बाध्यकारी व्यवस्थालाई लत्याउन सभापतिलाई उक्साइरहनेहरू नेपाली कांग्रेस हाँक्ने ठाउँमा रहन पुगेका छन् ।
आमनागरिकको ढुकढुकीलाई सुन्न सक्नुपर्दछ भन्नेहरू कारबाहीमा परे । पार्टी कार्यकर्ताहरूको भावनामाथि खेलवाड गर्न हुँदैन भन्नेहरूलाई ढोकाबाहिर निकालियो । यसले नेपाली कांग्रेसलाई सुखद् परिणाम त दिँदैन नै, कारबाही गरेपछि हाइसञ्चो हुन्छ भन्ने ठानेकाहरूलाई पनि भोलिका दिनदेखि रातभर निद्रा अवश्यै पर्दैन । अवस्था बिग्रिसकेको भए पनि पूरै तहसनहस भइसकेको छैन । त्यसैले शेरबहादुर देउवाले बुद्धि पुर्याउने हो भने नेपाली कांग्रेस अझै एक ठाउँमा रहने झिनो आशा बाँकी छ जस्तो लाग्दछ ।
गगन थापाले नै भने जस्तै नेपाली कांग्रेसका सदस्यहरू दास र लास होइनन् । स्वार्थी समूहको घेराबाट बाहिर निस्केर विशेष महाधिवेशन स्थलमा गएर देउवाले सम्बोधन गर्ने हो भने त्यहाँ भेला भएकाहरूले उचित निकास दिनसक्ने सम्भावना अझै छ । सबै कुरा बिर्सेर विगतका गल्ती नदोहोर्याउने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिन पार्टी सञ्चालनका लागि योग्यहरूको संयन्त्र तयार पार्ने हो भने भत्केको घर समेलिन सक्दछ । आन्तरिक लोकतन्त्रमा कमजोर भएर टुक्रिने अवस्थामा पुगेको लोकतान्त्रिक पार्टी जुट्न सक्दछ तर यो आशा सपनामै सीमित हुने लगभग निश्चत छ ।
अब चारतारे झण्डा र रूख कसको भन्ने विवाद हुने निश्चित छ । यो मुद्दा निर्वाचन आयोगदेखि सर्वोच्च अदालतसम्म पुग्ने कुरामा कुनै शंका छैन । निकट भविष्यमै निर्वाचन हुँदैछ । अन्य दलहरू चुनावमा बहुमत हासिल गर्ने प्रयास गरिरहँदा कांग्रेसीहरू भने मुद्दामामिलामा अल्झिने अवस्था आएको छ । सबै राजनीतिक दलहरू मतदाता फकाउन गाउँगाउँ पुगिरहँदा नेपाली कांग्रेसका नेताहरू भने रूख र झण्डा खोज्दै निर्वाचन आयोग र अदालत धाउनुपर्ने भएको छ । यसभन्दा ठूलो दुर्भाग्य नेपाली कांग्रेसका लागि न विगतमा कहिल्यै आएको थियो न भविष्यमै आउनेछ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच