नेपाली समाजमा प्रचलित थुप्रै चाडपर्वहरुमध्ये छुट्टै महत्व र विशेषता भएको पर्व माघे सङ्क्रान्ती हो जुन हरेक वर्ष माघ १ गते मनाइन्छ । यो चाडपर्व कुनै एक जाति क्षेत्र, समुदायको मात्र नभई समग्र नेपाल र नेपालीको पहिचानको प्रतिनिधित्व गर्ने पर्व हो । थारु जातिले यसलाई माघी पर्वका रुपमा मान्दछन् । त्यस्तै गरी मगर समुदायले आफ्नो कुलपुजा गर्ने अवसरका रुपमा मान्दछन् । किराँत समुदायले यसलाई येले संम्वत्को पहिलो दिनको रुपमा मनाउदछन् । येले संम्वत् प्रथम किराँती राजा युगपुरुष् यलम्बरसँग सम्बन्धित छ । खगोल विज्ञानकाअनुसार यस दिनबाट सूर्यको उत्तरायण शुरु हुन्छ । सूर्य उत्तरायण हुनु भनेको सूर्य क्रमश : उत्तरी गोलार्द्ध तर्फ ढल्कदै जानु हो ।
यही कारण पृथ्वीको उत्तरी गोलाद्र्धमा क्रमशः गर्मी बढ्दै जाने र दिनहरु लम्बिदै जाने गर्दछ । छोटा दिनहरु र चिसो मौसम क्रमशः दक्षिण गोलार्द्धमा शुरु हुन्छ । हिन्दु धर्मग्रन्थ भागवत गीताकाअनुसार उत्तरायणलाई देवताहरुको दिन र दक्षिणयनलाई देवताहरुको रातको रुपमा मानिन्छ । यसलाई अक्षरशः भन्दा पनि प्रतिकात्मक तरिकाबाट बुझ्नु उत्तम हुन्छ ।
हिन्दु धर्मशास्त्र अनुसार इच्छा मृत्युको वरदान प्राप्त गरेका भिष्मले उत्तरायण पर्खेर आफ्नो देहत्याग गरेका थिए । दक्षिणायान भन्दा उत्तरायणमा मृत्य हुनुलाई मोक्ष प्राप्तिका लागि राम्रो मानिन्छ । दक्षिणायनमा मृत्यु हुनेले फेरी जन्मनु पर्ने कुरा उल्लेख गरिएको छ ।
माघे संङ्क्रान्ती पर्वमा घिऊ, चाकु, लड्डु, तरुल जस्ता मिष्ठान्न परिकारहरु खाने चलन समग्र नेपाली जातिमा रहेको छ । वैज्ञानिक रुपमा यस्ता कुराहरुको सेवनले शरिरलाई न्यानो राख्ने कुरा प्रमाणित भइसकेको छ । माघको चिसो मौसममा यस्ता चिजविजहरुको सेवन अत्यन्त राम्रो र फलदायी मानिन्छ । यो पर्व दान र स्नानको पर्व हो । गरिब, असहायलाई विभिन्न धार्मिक स्थलहरुमा धान, कपडा, तेल, तिल आदि दान दिने चलन रहेको छ । यो दिन बिहानै उठेर स्नान गर्नाले शरिरमा स्फूर्ति आउने विश्वास गरिन्छ । दान गर्दा अति ठूलो पूण्य मिल्ने मान्यता रहेको छ ।
संखुवासभाको वरुण नदीमा, नुवाकोटको देविघाटमा नवलपरासीको त्रिवेणीमा, सुनसरीको बराह क्षेत्रमा यस दिन ठूलो स्नान मेला लाग्दछ । मानिसहरुको ठूलो घुँइचो हुने गर्दछ । यस दिनलाई धार्मिक, वैज्ञानिक, साँस्कृतिक र प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । परिवार र समाजमा यसले आपसमा घुलमिल, मेलमिलाप र सद्भाव बढाउने कार्य गर्दछ । यस दिन गाउँघरतिर साँस्कृतिक कार्यक्रम र मेलाको आयोजना पनि हुने गर्दछ ।
प्राकृतिक दृष्टिकोणले यस दिनबाट जाडो हट्दै जाने र कृषिको चक्र बिस्तारै शुरु हुने मान्यता राखिन्छ । चिसो कठाङ्ग्रिदो समय क्रमशः सकिदैै जाने र रमाइलो हराभरा बसन्त ऋतु शुरु हुने समयावधिलाई पनि यस दिनले संकेत गर्दछ । मिन पचासको पट्यारलाग्दो समय सकिने दिन पनि नजिकै आएको पनि यस दिनले थाहा दिन्छ । यस दिनले समग्र प्रकृतिमा नयाँ उत्साह थप्ने कार्य गर्दछ ।
वैज्ञानिकहरुका लागि यो दिन खगोलिय अवस्थितिको अध्ययन गर्ने विशेष अवसर हो । पृथ्वी र सूर्यको सम्बन्धबारे थप जान्ने अवसर यस दिनले प्रदान गर्दछ । जात, मूल्य मान्यता, सोच, विचार, स्थान धेरै आधारमा भिन्न भए पनि सबैले यस दिनलाई विशेष महत्वको दिनको रुपमा मान्ने कारण यो दिनको साँस्कृतिक र सामाजिक महत्व पनि प्रष्ट हुन्छ । घर परिवारमा एकता र सहयोग बढाउन पनि यस दिनको ठूलो महत्व रहेको छ ।
नेपाल जस्तो बहुजातिय, बहुधार्मिक, र बहुसाँस्कृृतिक मुलुकको लागि त माघे सङ्क्रान्तीको अत्यन्त ठुलो महिमा रहेको छ किनकी यो पर्वले धेरै जाति, धेरै सँस्कृति र धेरै क्षेत्रलाई एकै ठाउँ जोड्ने कार्य गर्दछ । यो कुनै एक जातिको विशेष दिन नभई धेरै जातजातिको विशेष दिन हो । माघे सङ्क्रान्ती सबै नेपालीको हो । नाम, काम, मनाउने तरिका वा बुझ्ने तरिका फरक होला तर सबैले यो दिनलाई बडो उल्लासका साथ मनाउने गर्दछन् ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच