हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश प्रहरीको कार्यक्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रदेश प्रहरी कार्यालय हेटौंडालाई ३० वटा मोटरसाइकल हस्तान्तरण गरेको छ।
बिहीबार आयोजित एक कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरीक्षक अरुण पौडेललाई मोटरसाइकलको साँचो हस्तान्तरण गर्नुभएको हो ।
प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट विनियोजित ९७ लाख २० हजार रुपैयाँ बजेटमार्फत खरिद गरिएका १६० सीसीका मोटरसाइकल गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा क्षतिग्रस्त सवारी साधनको विकल्पका रूपमा उपलब्ध गराइएको हो ।
कार्यक्रममा मुख्यमन्त्री बानियाँले प्रहरीको मनोबल उच्च बनाउन तथा सबलीकरणका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले समन्वय, सहकार्य र सहअस्तित्वको भावनाका साथ शान्ति सुरक्षा कायम गर्न सरकार र प्रहरीबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो । आउँदो फागुन २१ गते हुने निर्वाचनलाई निष्पक्ष, भयरहित र दबाबमुक्त वातावरणमा सम्पन्न गराउन प्रहरीले कुनै दल विशेषप्रति झुकाव नराखी व्यावसायिक ढंगले काम गर्ने विश्वास पनि मुख्यमन्त्रीले व्यक्त गर्नुभयो ।
आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले प्रहरी समायोजन नहुँदा पनि प्रदेश सरकारले जनताको सुरक्षामा खटिने सुरक्षाकर्मीलाई निरन्तर सहयोग गर्दै आएको बताउनुभयो । आर्थिक चुनौतीका बाबजुद जेन-जी आन्दोलनका क्रममा क्षति पुगेका प्रहरी कार्यालयहरूको मर्मतसम्भारका लागि समेत बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।
प्रदेश प्रहरी प्रमुख डिआइजी अरुण पौडेलले प्रदेश सरकारको सहयोगमा १ अर्ब रुपैयाँभन्दा बढी लागतमा ७२ वटा प्रहरी कार्यालय भवन निर्माण भइसकेको र केही अझै निर्माणाधीन अवस्थामा रहेको बताउनुभयो । आन्दोलनका क्रममा सवारी साधन क्षति हुँदा प्रहरीको कार्यसम्पादनमा असर परेको उल्लेख गर्दै उहाँले थप चारपाङ्ग्रे सवारी साधनको आवश्यकता पनि औंल्याउनु भयो ।
डिआइजी पौडेलकाअनुसार प्राप्त ३० वटा मोटरसाइकल प्रदेश अन्तर्गतका १० जिल्लाका प्रहरी कार्यालय तथा ट्राफिक कार्यालयहरूमा वितरण गरिनेछ। यी सवारी साधनले दैनिक शान्ति सुरक्षा, निर्वाचन लक्षित सुरक्षा योजना तथा अपराध रोकथाममा प्रभावकारी भूमिका खेल्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा बागमती प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारी, श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव रामबहादुर पुरी, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख सुवासचन्द्र बोहरा, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाईंलगायतको उपस्थिति थियो।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच