सुर्खेत । पाटेबाघको आक्रमणमा परी एक साताभित्र सुर्खेत र सल्यानका तीन जनाको ज्यान गएको छ। गत पुस २३ गते सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ गेरवानी क्षेत्रमा ५७ वर्षीया गङ्गा सारुको पाटेबाघको आक्रमणबाट मृत्यु भएको थियो।
त्यसपछि पुस २६ गते सोही क्षेत्रसँग सिमाना जोडिएको सल्यानको कालीमाटी गाउँपालिका–७ की धनसरी रावतको पनि पाटेबाघको आक्रमणबाट मृत्यु भयो। सल्यानको कालीमाटी र सुर्खेतको भेरीगङ्गाका केही क्षेत्र बाँके र बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएकाले घाँसदाउरा गर्न जाने स्थानीय पाटेबाघको आक्रमणमा पर्ने गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीले जानकारी दिनुभयो।
यस्तै, पुस २९ गते घट्टामा पिठो पिस्न गएका कालीमाटी–८ का ६५ वर्षीय चन्द्रबहादुर खप्तडीलाई पाटेबाघले आक्रमण गर्दा उहाँको मृत्यु भएको प्रहरी नायब उपरीक्षक केसीले बताउनुभयो।
एक साताभित्रै तीन जनाको ज्यान गएपछि निकुञ्ज क्षेत्र आसपासका बासिन्दामा त्रास फैलिएको कालीमाटी–७ का वडाध्यक्ष मित्रलाल रिजालले बताउनुभयो। उहाँका अनुसार बाँके राष्ट्रिय निकुञ्जबाट आएको बाघले स्थानीय क्षेत्रमा आतङ्क सिर्जना गरेको छ।
जिल्लास्थित डिभिजन वन कार्यालयका डिभिजन वन अधिकृत टेकबहादुर रावलले पाटेबाघले दुई वटा घरपालुवा गाईगोरुलाई पनि आक्रमण गरी मारेको जानकारी दिनुभयो। बाघले मानिस तथा घरपालुवा पशुमाथि निरन्तर आक्रमण गर्न थालेपछि डिभिजन वन कार्यालय सल्यानले उक्त पाटेबाघलाई नियन्त्रणमा लिने वा मार्ने आदेश जारी गर्दै बाँके राष्ट्रिय निकुञ्जलाई पुस ३० गते पत्राचार गरेको उहाँले बताउनुभयो।
स्थानीयमा त्रास बढ्नुका साथै दैनिक कामकाजका लागि समेत घरबाहिर निस्कन नसक्ने अवस्था सिर्जना भएपछि उक्त निर्णय लिनुपरेको वन अधिकृत रावलको भनाइ छ। “राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ (पाँचौँ संशोधनसमेत) र वन्यजन्तु संरक्षण नियमावली, २०३० (पाँचौँ संशोधनसमेत) अनुसार सिफारिस समितिले उक्त पाटेबाघलाई नियन्त्रणमा लिने वा मार्ने आदेश जारी गरेको छ,” उहाँले भन्नुभयो।
संरक्षित वन्यजन्तुका रूपमा रहेको पाटेबाघमाथि आदेश जारी भएपछि त्यसको कार्यान्वयनका लागि विशेषज्ञ टोली परिचालन गर्न बाँके राष्ट्रिय निकुञ्जलाई आग्रह गरिएको डिभिजन वन कार्यालयले जनाएको छ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच