काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माघ १ गते नेपालीहरूले तरुल र घिउचाकु खाएर रमाइलो चाडका रूपमा मनाउने गरे पनि नेपाली राजनीतिक इतिहासमा यो दिन अत्यन्त दुःखद र कालो दिनका रूपमा स्मरणीय रहेको बताउनुभएको छ।
मंगलबार काठमाडौंमा आयोजित ४२औँ पिस्कर सहिद स्मृति दिवस तथा सरेस नेपालद्वारा लिखित ‘जेलभित्रका सङ्घर्ष’ पुस्तक लोकार्पण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले ४२ वर्षअघि आजकै दिन २०४० साल माघ १ गते तत्कालीन पञ्चायती शासकले सिन्धुपाल्चोकको पिस्करमा निहत्था नागरिकमाथि क्रूर दमन गरेको घटनालाई स्मरण गर्नुभयो।
“आज माघे सङ्क्रान्ति, तरुल र घिउचाकु खाने दिन हो। तर ४२ वर्षअघि पिस्कर महादेवस्थानमा लागेको रमाइलो मेलालाई पञ्चायती शासकले रगतको होलीमा परिणत गरिदियो,” ओलीले भन्नुभयो, “गाउँलेहरू रमाइलो गर्न जम्मा भएका थिए, तर शासकहरूले निहत्था जनतामाथि गोली बर्साएर उत्सवलाई शोकमा बदले।”
उहाँले पिस्कर काण्ड जनताको खुसी खोस्ने र सधैँ दुःखी राख्न चाहने दमनकारी शासकको क्रूर मानसिकताको प्रतीक भएको बताउनुभयो। “त्यतिबेला गाउँ गरिब थियो, तर संस्कृति र सभ्यतामा धनी थियो। त्यो खुसी पञ्चायतलाई सह्य भएन, त्यसैले विश्वासघाती आक्रमण गरियो,” ओलीले थप्नुभयो।
अध्यक्ष ओलीले झापा विद्रोह, पिस्कर काण्ड र छिन्ताङ हत्याकाण्ड एउटै दमनकारी शृङ्खलाका घटनाहरू भएको उल्लेख गर्नुभयो। उहाँका अनुसार २०२७ सालदेखि सुरु भएको झापा आन्दोलन र त्यसपछि भएका संघर्षहरूलाई दबाउन पञ्चायती व्यवस्थाले बर्बरतापूर्ण दमन गर्यो। “२०२९ साल फागुन २१ गते सुखानीमा पाँच जनालाई गोली हानी मारियो, त्यसपछि छिन्ताङ र पिस्करमा पनि त्यस्तै नरसंहार गरियो,” उहाँले भन्नुभयो।
पिस्कर काण्डमा सहादत प्राप्त वीरध्वज देउजा, इले थामीलगायत सहिदहरूको स्मरण गर्दै अध्यक्ष ओलीले उनीहरूको बलिदानकै कारण आजको लोकतन्त्र सम्भव भएको स्पष्ट पार्नुभयो।
कार्यक्रममा ओलीले नयाँ पुस्ताले इतिहास, संघर्ष र बलिदानलाई कहिल्यै नबिर्सनुपर्नेमा जोड दिनुभयो। “हामीले आफ्नो उमेरसँग इतिहासलाई दाँज्न मिल्दैन। हामी जन्मनुअघि पनि इतिहास थियो, संघर्ष थियो र बलिदान थियो। आज हामीले हासिल गरेका उपलब्धि अग्रजहरूको रगत र पसिनाको प्रतिफल हुन्,” उहाँले भन्नुभयो।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच