नयाँदिल्ली । एकदिवसीय शृंखलाको दोस्रो खेलमा न्युजिल्याण्डले भारतलाई सात विकेटले पराजित गरेको छ । बुधबार राजकोटमा भारतले दिएको २८५ रनको लक्ष्य न्युजिल्याण्डले ४७.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको हो । डेरिल मिचेलले चौका प्रहार गर्दै टोलीलाई जित दिलाउनुभयो । उहाँले ११७ बलमा १३१ रनको अविजित इनिङ खेल्नुभयो । उहाँले ११ चौका र २ छक्का प्रहार गर्नुभयो । उहाँसँगै विल यङले ८७ रन बनाउनुभयो । यो न्युजिल्याण्डले भारतमा पछ्याएको आफ्नो उच्चतम एकदिवसीय लक्ष्य हो । टोलीले यसअघि मुम्बईमा भारतविरुद्ध २८४ रन पछ्याएको थियो ।
न्युजिल्याण्डले राजकोटको निरञ्जन शाह स्टेडियममा टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । भारतले ५० ओभरमा ७ विकेट गुमाएर २८४ रन बनायो । केएल राहुलले ९२ बलमा अविजित ११२ रन बनाउनुभयो, जुन उहाँको आठौं एकदिवसीय शतक हो । कप्तान शुभमन गिलले ५६, रोहित शर्माले २४ र विराट कोहलीले २३ रन बनाउनुभयो । न्युजिल्याण्डका क्रिश्चियन क्लार्कले तीन विकेट लिनुभयो ।
यो खेलपछि तीन खेलको एकदिवसीय शृंखला १-१ को बराबरी भएको छ । शृंखलाको अन्तिम खेल जनवरी १८ मा इन्दौरको होल्कर स्टेडियममा खेलिनेछ । विराट कोहलीले केवल २३ रन बनाउनुभयो तर उहाँ एकदिवसीयमा न्युजिल्याण्डविरुद्ध भारतका लागि सर्वाधिक रन बनाउने खेलाडी बन्नुभएको छ । रोहित शर्माले एसियामा सात हजार एकदिवसीय रन पूरा गर्नुभयो ।
पाँच वर्षपछि विराट कोहली नम्बर-१ एकदिवसीय ब्याट्सम्यान
दिग्गज भारतीय ब्याट्सम्यान विराट कोहली पाँच वर्षपछि आइसिसी एकदिवसीय वरीयतामा नम्बर-१ ब्याट्सम्यान बन्नुभएको छ । उहाँले यो स्थानका लागि उहाँले भारतीय अर्का स्टार खेलाडी रोहित शर्मालाई उछिन्नुभयो । बुधबार जारी गरिएको वरीयतामा रोहित नम्बर-३ एकदिवसीय ब्याट्सम्यान बन्नुभएको छ, उहाँ दुई स्थान तल झर्नुभएको हो ।
न्युजिल्याण्डविरुद्धको पहिलो एकदिवसीयमा विराटको ९३ रनको इनिङले उहाँलाई प्रत्यक्ष फाइदा पुर्यायो । उहाँको अब ७८५ रेटिङ अंक छ । यो जुलाई २०२१ पछि पहिलोपटक हो र समग्रमा उहाँको करियरमा ११औँ पटक हो । गत हप्ता, उहाँ नम्बर-२ मा हुनुहुन्थ्यो ।
न्युजिल्याण्डका डेरिल मिचेलले पनि एक स्थान हासिल गर्नुभएको छ । उहाँ अब ७८४ रेटिङका साथ नम्बर-२ मा हुनुहुन्छ । यसअघि विराटले ८२५ दिनसम्म नम्बर-१ स्थान कायम राख्नुभएको थियो । उहाँले पहिलोपटक अक्टोबर २०१३ मा शीर्ष वरीयता हासिल गर्नुभएको थियो ।
भारतका मोहम्मद सिराजले बलिङ वरीयतामा उत्कृष्ट प्रदर्शन गर्नुभयो र पाँच स्थान माथि उक्लेर १५औँ स्थानमा पुग्नुभयो । उहाँसँगै बंगलादेशका मेहदी हसन मिराज पनि यस स्थानमा हुनुहुन्छ । अफगानिस्तानका अलराउण्डर रशिद खान शीर्ष बलर हुनुहुन्छ । एजेन्सी






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच