काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गत दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनमा नेपाल नम्बर एक प्रो गल्फर निरज तामाङ लगातार दोस्रो दिन अग्रतामा रहनुभएको छ । निरज ६-अन्डर ६४ को उत्कृष्ट स्कोरमा पाँच स्ट्रोकको अग्रतासहित शीर्ष स्थानमा कायमै रहन सफल हुनुभएको हो । निरजले एमेच्योर गल्फर राहुल विश्वकर्मालाई पाँच स्ट्रोकले पछि पार्ने क्रममा निरजले समग्रमा १२-अन्डर १२८ लोभलाग्दो प्रदर्शन गर्नुभयो । राहुलले पनि ६-अन्डर ६४ को स्कोर निकाल्दा समग्रमा ७-अन्डर १३३ सहित दोस्रो स्थानमा रहनुभयो ।
समग्रमा ४-अन्डर १३६ को स्कोरमा धरानका प्रो शुक्रबहादुर राई र टंकबहादुर कार्की संयुक्त रूपमा तेस्रो स्थान बाँडनुभयो । शुक्रले ३-अन्डर ६७ र टंकले १-अन्डर ६९ मा दोस्रो दिनको खेल सकाउनुभयो । बिहीबार ४-अन्डर ६६ खेल्दै दिनेश प्रजापति समग्रमा ३-अन्डर १३७ सहित पाँचौँ स्थानमा रहनुभएको छ । समग्रमा १-अन्डर १३९ सहित रवि खड्का, भुवन नगरकोटी र बलभद्र राई संयुक्त रूपमा छैटौँ स्थान बाँडनुभयो । रविले बिहीबार १-अन्डर ६९, भुवनले इभन-पार ७० र बलभद्रले २-ओभर ७२ को स्कोर निकालनुभयो ।
समग्रमा २-ओभर १४२ स्कोरका साथ दुई एमेच्योर पदम हांग लिम्बु र प्रकृत तामाङ संयुक्त रूपमा नवौँ स्थानमा रहनुभयो । पदमले बिहीबार २-अन्डर ६८ र प्रकृतले ३-ओभर ७३ को स्कोर तयार पार्नुभयो ।
नेपाल नम्बर एक निरजले आफ्नो घरेलु कोर्समा लागातार दोस्रो दिन ६-अन्डर खेल्ने क्रममा दोस्रो, तेस्रो, पाँचौँ, छैटौँ, आठौँ र नवौँ होलमा बर्डीको सफलता प्राप्त गर्नुभयो । ६ बर्डीको सहायतामा बोगी फ्रि ६-अन्डर ३० मा फ्रन्ट नाइनको खेल सानदार शैलीमा सकाउनुभयो । ११औँ होलमा पनि एक सट बचाए तर १५औँ होलको बोगीले ब्याक नाइन इभन-पार ३४ मा सकाउनुभयो ।
राहुलले बिहीबार बोगी रहित कार्ड बनाउने क्रममा फ्रन्ट नाइन ३-अन्डर ३३ र ब्याक नाइन पनि ३-अन्डर ३१ मा सकाउनुभयो । उहाँले पाँचौँ, छैटौँ, नवौँ, १०औँ, १२औँ र १८औँ होलमा गरी कुल ६ बर्डीको सफलता प्राप्त गर्नुभयो ।
शुक्रले दोस्रो, तेस्रो र सातौँ होलमा बर्डी प्रहार गरे पनि चौथो र पाँचौँ होलमा एक-एक सट खेर फाल्दै फ्रन्ट नाइन १-अन्डर ३५ मा पूरा गर्नुभयो ।
टंकले दोस्रो होलको बोगीका विरूद्ध पहिलो र सातौँ होलमा बर्डी खेप्दा फ्रन्ट नाइन १-अन्डर ३५ खेल्नुभयो । यसपछि १०औँ, १२औँ र १८औँ होलमा एक-एक सट बचाउनुभयो । ११औँ, १४औँ र १५औँ होलको बोगीले ब्याक नाइम इभन-पार ३४ मा सकाउनुभयो ।
३६ होलको समाप्तिमा ११-ओभर १५१ सम्म स्कोर गर्नुभएका १७ प्रोफेसनल तथा ७ एमेच्योर खेलाडीले कट बनाउनुभयो । बिहीबार १४औँ होलमा होल-इन-वान गरेका जयराम श्रेष्ठसहित प्रोफेसनल खेलाडी सुमन परियार, सुनिल केसी, सञ्जय लामा, सुमन राई, भुवन कुमार रोक्का, दीपक मगर, कृष्णमान राजबाहक, सुरेश तामाङ, सूर्यप्रसाद शर्मा र धनबहादुर थापाले तेस्रो तथा अन्तिम दिनको लागि स्थान सुरक्षित गर्नुभयो ।
एमेच्योरतर्फ राहुल ७-अन्डर १३३ स्कोर सहित शीर्ष स्थानमा हुनुहुन्छ । उहाँ पदम हाङ लिम्बु र प्रकृत तामाङभन्दा नौ स्ट्रोकले अघि हुनुहुन्छ । अन्य चार एमेच्योर खेलाडी, सुन्दर राई, राम तामाङ, जितेन्द्र राई र बलराम पौडेलले पनि कट बनाउनुभयो । ११-ओभर १५१ स्कोर गरे पनि शिवकुमार माझी, थामबहादुर राई, राजेन राई तथा एमेच्योर गजेन्द्र लिम्बु काउन्ट ब्याकका आधारमा कट बनाउन सक्नुभएन ।
सूर्य नेपाल प्रा.लि.को प्रायोजनमा तीन दिनसम्म चल्ने ५४ होलको प्रतिस्पर्धामा कुल पुरस्कार राशि १० लाख ५० हजार रुपैयाँ छ । प्रतियोगिताको उपाधि विजेताले एक लाख ७० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले एक लाख २५ हजार र तेस्रो स्थान हासिल गर्ने खेलाडीले एक लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगितामा ३० जना व्यावसायिक खेलाडी तथा २२ एमेच्योर खेलाडी प्रतिस्पर्धामा छन् ।
प्रतियोगिताको समापन माघ १७ गते शनिबार प्रो-एम प्रतियोगितासँगै हुनेछ । प्रो-एम इभेन्टमार्फत एमेच्योर गल्फरहरूले व्यावसायिक खेलाडीसँग एउटै टिममा खेल्ने अवसर पाउनेछन् ।
सूर्य नेपाल गल्फ टुर २०२५-२६ मा कुल आठ प्रतियोगिता समावेश छन् । जसको समग्र पुरस्कार राशि ८० लाख रुपैयाँ छ । नेपालको प्रमुख व्यावसायिक गल्फ सर्किटका रूपमा स्थापित यो टुरले यस वर्ष पनि प्रतिस्पर्धात्मक र रोमाञ्चक खेल प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच