काठमाडौं । कवि कृष्ण उदाशीको कवितासंग्रह ‘पानीको पर्खाल’ लोकार्पण गरिएको छ । काठमाडौंको सर्वनाम थिएटरमा एक विशेष कार्यक्रमबीच उक्त कृतिको लोकार्पण गरिएको हो । अग्रज कवि तथा गीतकार श्रवण मुकारुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कवि श्रवण मुकारुङ, समीक्षक डा.अशोक थापा, कृतिका सर्जक कृष्ण उदाशी र उपन्यासकार जयराम तिम्सिनाले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नुभएको थियो ।
कार्यक्रममा समीक्षक डा.अम्बिका अर्याल र डा.अशोक थापाले कृतिमाथि समीक्षात्मक धारणा राख्नुभएको थियो । डा.अर्यालले कवि उदाशीको शब्दसँग खेल्ने कलालाई सुन्दर रहेको उल्लेख गर्दै ‘पानीको पर्खाल’ले त्यसलाई स्पष्ट रूपमा प्रस्तुत गरेको बताउनुभयो । यद्यपि, उहाँले कविताहरू सामान्य पाठकका लागि सहज नहुन सक्ने टिप्पणी गर्नुभयो । समीक्षक डा.अशोक थापाले संग्रहका कविताहरू शालीन र शक्तिशाली रहेको बताउँदै मजदुर केन्द्रित कविताहरू प्रशस्त भए पनि ती कविताहरू मजदुर वर्गले सहजै बुझ्न सक्ने खालका नरहेको धारणा व्यक्त गर्नुभयो ।
प्रमुख अतिथि कवि श्रवण मुकारुङले कविलाई बधाई दिँदै कविता सार, दर्शन र अनुभूतिको तहमा बाँच्ने विधा भएको उल्लेख गर्नुभयो । ‘पानीको पर्खाल’ भित्र यी सबै तत्व समेटिएकोमा आफू विश्वस्त रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा कवि कृष्ण उदाशीले काठमाडौंको मोफसलप्रतिको दृष्टिकोणलाई प्रश्न गर्दै कृतिको सन्दर्भ प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा उहाँले संग्रहभित्रका ‘हिउँद र मेरा बा’ र ‘गाउँ र आमाहरू’ शीर्षकका दुई कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रमको सुरुवात सञ्चालक महेश क्षितिजले संग्रहकै ‘बाबुको गर्भ’ शीर्षकको कविता वाचन गरेर गर्नुभएको थियो । त्यसपछि राधा कँडेलले ‘अनुभव’, महेश पौडेलले ‘ईश्वरको परमधाम’ र चन्द्रवीर तुम्बोपोले ‘बुद्धको अनावरण’ शीर्षकका कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रममा गायक-संगीतकार राजनराज शिवाकोटी, गायक-संगीतकार गौरभ दर्पण, प्राडा.जनार्दन घिमिरे, उपन्यासकार श्याम सिंहक, कवि चन्द्रवीर तुम्बोपो, कवि विशाल नाल्बो, कवि मिथोच, उपन्यासकार जयराम तिम्सिना, कुशलदेव घिमिरे, नवराज थापा, योगमाया दाहाल, शरद अधिकारीलगायत पाँच दर्जनभन्दा बढी सर्जक तथा शुभचिन्तकको उपस्थिति रहेको थियो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच