काठमाडौं । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले आयोजना गर्ने नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को नवौं संस्करण चैत १९ देखि २३ गते (अप्रिल २–६, २०२६) सम्म हुने भएको छ । ‘विश्वभरका कथाहरूको उत्सव’ भन्ने नारालाई निरन्तरता दिँदै आयोजकले महोत्सवको मिति सार्वजनिक गरेको हो । यसवर्ष महोत्सवमा युवा पुस्ताको रुचि र सहभागितालाई केन्द्रमा राखेर चलचित्रहरू चयन गरिएको निफले जनाएको छ । निफका अध्यक्ष केपी पाठकका अनुसार, ‘हामीले यो पटक युवापुस्ता केन्द्रित चलचित्रहरूलाई प्राथमिकता दिएका छौं । निफलाई युवामैत्री बनाउने हाम्रो प्रयास रहेको छ । युवा मेकरहरूलाई प्रोत्साहन गर्न एआई चलचित्र मेकिङको कार्यशालालगायतका सेसन राखेका छौं ।’
निफले जानकारी दिएको अनुसार, ८० भन्दा बढी देशबाट आठ सयभन्दा बढी चलचित्रले महोत्सवमा सहभागी हुन आवेदन दिएका थिए । त्यसमध्ये उत्कृष्ट र युवापुस्ताको चासोमा रहेका चलचित्रहरू छनोट गरी ४० देशका ८८ चलचित्र प्रदर्शन गरिनेछ । यसमा फिचर चलचित्र, सर्ट फिल्म, एआई चलचित्र र डकुमेन्ट्री समावेश छन् ।
‘गत संस्करणको तुलनामा यो पटक सबैभन्दा बढी चलचित्रको सहभागिता भएको छ । यो अन्तर्राष्ट्रिय फिल्म समुदाय र मेकरहरूको निफप्रतिको विश्वास बढेको संकेत हो’, अध्यक्ष पाठकले भन्नुभयो । गत फागुनमा महोत्सवको मिति घोषणा भए पनि जुनमा भएको जेन–जी आन्दोलन र आगामी आमनिर्वाचनका कारण महोत्सव एक महिनापछि सारिएको हो ।
महोत्सवमा विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ । यसका प्रमुख अवार्डहरूमा सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय फिचर चलचित्र- गौतम बुद्ध अवार्डः एक हजार पाँच सय अमेरिकी डलर र ट्रफी, सर्वोत्कृष्ट राष्ट्रिय चलचित्र- एक लाख रुपैयाँ नगद र ट्रफी, सर्वोत्कृष्ट डकुमेन्ट्री- माउण्टे एभरेण्ट अवार्डः एक हजार अमेरिकी डलर र ट्रफी, सर्वोत्कृष्ट दक्षिण एसियाली फिचर चलचित्र पाँच अमेरिकी डलर र ट्रफी, एआई चलचित्र- मञ्जुश्री अवार्ड : ५०० अमेरिकी डलर र ट्रफी, अन्तर्राष्ट्रिय स्टुडेन्ट सर्ट फिल्म- वेष्ट स्टुडेण्ट फिल्म अवार्ड : ट्रफी, राष्ट्रिय सर्ट फिल्म- ५० हजार रुपैयाँ नगद र ट्रफी र राष्ट्रिय डकुमेन्ट्री- वेस्ट नेशनल डकुमेन्ट्री अवार्ड : ५० हजार रुपैयाँ नगद र ट्रफी छन् । साथै, राष्ट्रिय फिचर चलचित्रतर्फ सर्वोत्कृष्ट निर्देशक, अभिनेता, अभिनेत्री, पटकथा लेखक र छायांकारलाई ट्रफीले सम्मानित गरिने जनाइएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच