काठमाडौं । नेपालमा पहिलोपटक अत्याधुनिक तथा अन्तर्राष्ट्रियस्तरको ध्वनि प्रविधि डल्बी एटमसको साउण्ड मिक्सिङ तालिम भइरहेको छ । म्युजिक नेपालको आयोजना, चलचित्र विकास बोर्डको सक्रिय सहयोग तथा सहकार्यमा भिजुअल सोसाइटी अफ नेपालको सहआयोजनामा तालिम भइरहेको हो ।
म्युजिक नेपालद्वारा स्थापना गरिएको डल्बी अडियो साउण्ड मिक्सिङ स्टुडियो ‘सगरमाथा’ मा नेपाली चलचित्र क्षेत्रमा कार्यरत साउण्ड मिक्सिङ प्राविधिकका लागि तालिम प्रदान गरिँदैछ । बुधबार र बिहीबार सञ्चालन गरिएको तालिममा नेपाली चलचित्रमा व्यवसायिक साउण्ड इन्जिनियरङ गर्दै आएका बीसजना प्राविधिक सहभागी छन् ।
तालिम सञ्चालनका लागि भारतीय चलचित्र उद्योगका चर्चित तथा डल्बीबाट सर्टिफाइड साउण्ड इन्जिनियर भरत रेड्डी नेपाल आउनुभएको छ । रेड्डीको नाम ‘थ्री इडियट्स, सैयारा, पुष्पा, सितारे जमिन पर, थामा, धुरन्धर’ तथा आउन लागेको ‘टक्सिक’ जस्ता चर्चित चलचित्रसँग जोडिएको छ । उहाँ डल्बी सर्टिफाइड ट्रेनर हुनुहुन्छ ।
तालिम सुरु हुनुअघि बोर्ड अध्यक्ष दिनेश डिसी र बोर्ड सदस्य वीरेन्द्रप्रसाद भट्टले रेड्डीलाई फूलको गुच्छा र नेपालमा छायांकन गन्तव्य समेटिएको पुस्तक प्रदान गर्दै स्वागत गर्नुभएको थियो । सो अवसरमा अध्यक्ष डिसीले सहभागी प्राविधिकलाई सक्रिय रूपमा ज्ञान आर्जन गर्न शुभकामना दिँदै यो तालिमले नेपाली चलचित्रको प्राविधिक गुणस्तरलाई विश्वस्तरमा पुर्याउने विश्वास व्यक्त गर्नुभएको थियो र डल्बीबाट सर्टिफाइड म्युजिक नेपालको यो स्टुडियो दक्षिण एसियामा रहेका सीमित दशवटा स्टुडियोमध्ये एक हो भने नेपालकै पहिलो डल्बी एटमस साउण्ड मिक्सिङ स्टुडियो हो ।
तालिमपछि स्टुडियोको औपचारिक उद्घाटन आज (शुक्रबार) पिंगलास्थान, गौशाला, काठमाडौंमा नेपाली चलचित्रकर्मीको उपस्थितिमा गरिने म्युजिक नेपालले जनाएको छ । स्टुडियो सञ्चालनमा आएपछि नेपाली दर्शकले विदेशी चलचित्रसरह उच्चस्तरीय साउण्ड अनुभव प्राप्त गर्ने अपेक्षा गरिएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच