काठमाडौं । १४औं संस्करणको नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव-२०२६ यही आज (शुक्रबार)देखि हुँदैछ । सोमबारसम्म आयोजना हुने यो महोत्सव चलचित्र विकास बोर्ड, चाबहिलमा हुनलागेको हो । महोत्सवमा नेपालसहित २० देशका ४३ वटा चलचित्र प्रदर्शन गरिनेछ । महोत्सव निर्देशक डब्बु क्षत्रीका अनुसार नेपाली समूहअन्तर्गत कथानक चलचित्र, वृत्तचित्र तथा लघु चलचित्र गरी करिब चार दर्जनभन्दा बढी चलचित्रबाट २० वटा चलचित्र छनोट गरिएको हो । कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेसन र विलक्षण क्रियसन प्रा.लि.को आयोजनामा तथा चलचित्र विकास बोर्डको सहकार्यमा महोत्सव सञ्चालन हुन लागेको हो ।
कलेजकी प्रिन्सिपल तथा महोत्सवकी अध्यक्ष डा.मञ्जु मिश्रले यसवर्ष चलचित्र प्रदर्शनसँगै अन्तरक्रिया कार्यक्रम, नृत्य कार्यशाला, कला प्रदर्शनी र मास्टर क्लास पनि सञ्चालन गरिने जानकारी दिनुभयो । नेपाली कथानक चलचित्रतर्फ १३ चलचित्रमध्ये पाँच चलचित्र अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका छन् । छनोट हुने चलचित्रमा मिलन चाम्स निर्देशित ‘अञ्जिला’, सरोज पौडेल निर्देशित ‘कोशेढुंगा’, ऋषि लामिछाने निर्देशित ‘माग्ने राजा’, दीपकप्रसाद आचार्य निर्देशित ‘परान’ र नर प्रधान (मित्र) निर्देशित ‘यो मन त मेरो नेपाली हो’ रहेका छन् ।
वृत्तचित्रतर्फ भीमलाल श्रेष्ठ निर्देशित ‘अरिंगाल म्यान’, रमेश खड्का निर्देशित ‘डान्सिङ इन फायर’ र निशा मानन्धर निर्देशित ‘अ बडी नट माइन्ड’ चयन भएका छन् । खुला तथा विद्यार्थी समूह गरी दशवटा लघु चलचित्र प्रदर्शन गरिनेछ । विद्यार्थी समूहमा ‘अ कलरफुल नाइट’, ‘अन्तर्वार्ता’, ‘पेज फाइभ’ र ‘इकोज अफ होप’ रहेका छन् । खुला लघु चलचित्रतर्फ ‘भुवा’, ‘मौनता’, ‘अवशेष’, ‘साइलेन्ट स्कार्ड’ र ‘दृश्य’ प्रदर्शन हुनेछन् ।
आदिवासी समूहमा सागर केरुङ निर्देशित ‘तान्सिङ’ तथा दिलिप फुरुम्बो निर्देशित ‘नाम ओती’ र ‘सेमक्वा’ प्रतिस्पर्धामा छन् ।
अन्तर्राष्ट्रिय समूहअन्तर्गत १९ देशका २३ वटा लामा तथा छोटा चलचित्र छनोट भएका छन् । यसवर्ष ४० भन्दा बढी मुलुकका करिब ९० चलचित्रबाट छनोट गरिएको महोत्सव आयोजकले जनाएको छ । अन्तर्राष्ट्रिय लघु चलचित्रतर्फ इण्डोनेसिया, ताइवान, टर्की, सर्भिया, अमेरिका, बंगलादेश, इरान, फ्रान्स, श्रीलंका, अष्ट्रिया, भारत र हङ्कङका चलचित्र अन्तिम प्रतिस्पर्धामा छन् ।
अन्तर्राष्ट्रिय कथानक चलचित्रतर्फ बंगलादेशको ‘मेमोरी अफ ग्लुमी मनसुन’ र कोट डी आइभोरीको ‘साइलेन्स मोर्टेल’ छनोट भएका छन् । अन्तर्राष्ट्रिय वृत्तचित्रतर्फ युक्रेन, स्टोनिया र जर्मनीका तीन वृत्तचित्रबीच प्रतिस्पर्धा हुनेछ । अफ्रिकन चलचित्रतर्फ इजिप्ट, ट्युनेशिया र मोरक्कोका चलचित्र अन्तिम प्रतिस्पर्धामा छन् ।
महोत्सव अवधिभर तीसजनालाई नृत्य प्रशिक्षण प्रदान गरिनेछ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र चलचित्र विकास बोर्डको सहकार्यमा आयोजना हुने प्रशिक्षणसँगै ‘सिनेमा, कल्चर एण्ड नेचर’ शीर्षकमा चारदिने चित्रकला प्रदर्शनी सञ्चालन गरिनेछ । यसवर्ष विभिन्न देशका तीसजना विदेशी चलचित्रकर्मी महोत्सवमा सहभागी हुनेछन् ।
महोत्सव निर्देशक क्षत्रीले पछिल्लो वर्षदेखि अन्तर्राष्ट्रिय चलचित्रलाई समेट्ने उद्देश्यसहित महोत्सवको नाम नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव राखिएको जानकारी गराउनुभयो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच