ललितपुर । होम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारणसभा बुधबार ललितपुरमा सम्पन्न भएको छ । संस्थाका ज्येष्ठ सदस्य सानुबाबु महर्जनको प्रमुख आतिथ्यतामा भएको साधारणसभामा संस्थाको वर्तमान अवस्था, आगामी कार्यदिशा तथा आर्थिक चुनौतीबारे गहन छलफल गरिएको थियो ।
संस्थाका अध्यक्ष मुकुन्द महर्जनले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक, सामाजिक तथा संस्थागत प्रगतिबारे सदस्यहरूलाई जानकारी गराउनुभएको थियो । संस्थाले आर्थिक अनुशासन कायम राख्दै सदस्यकेन्द्रित सेवा विस्तारमा जोड दिएको उहाँले बताउनुभयो ।
अध्यक्ष महर्जनका अनुसार आर्थिक वर्ष २०८१/८२ मा संस्थाको कुल कारोबार छ करोड २९ लाख रुपैयाँ पुगेको छ भने संस्थाको सेयर पुँजी ४१ लाख ४९ हजार रुपैयाँ, कर्जा लगानी दुई करोड ९६ लाख रुपैयाँ रहेको छ । २०६५ सालमा स्थापना भएको होम बचत तथा ऋण सहकारी संस्था सहकारी ऐन, नियमावली तथा सहकारीका मूल्य-मान्यताअनुसार सञ्चालन हुँदै आएको छ । ‘समुन्नत भविष्यका लागि बचत गर्ने बानी बसालौँ भन्ने नारासहित स्थापना भएको संस्थाले १७ वर्षको अवधिमा विभिन्न अनुभव र उपलब्धि हासिल गरेको अध्यक्ष महर्जनले बताउनुभयो ।
उहाँका अनुसार संस्थाले सदस्यहरूको आर्थिक, सामाजिक तथा सांस्कृतिक उन्नतिलाई प्राथमिकतामा राख्दै कार्यक्रम सञ्चालन गर्दै आएको छ । हाल संस्थामा पाँच सय ९४ जना सेयर सदस्य आबद्ध रहेका छन् । संस्थाको प्रतिवेदनअनुसार देशको वित्तीय क्षेत्रमा देखिएको सुस्तता, राजनीतिक अस्थिरता तथा व्यापार-व्यवसायमा आएको असरका कारण बैंक, वित्तीय संस्था तथा सहकारी क्षेत्रमा कर्जा मागमा कमी आएको छ । तरलता वृद्धि भए पनि कर्जा लगानी र असुली चुनौतीपूर्ण बन्दै गएको उल्लेख छ ।
संस्थाको लेखा सुपरीवेक्षण समितिका संयोजक भुपेन्द्रमान बज्राचार्यले लेखा व्यवस्थापनसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै हाल कर्जा लगानीमा केही कमी आएको देखिए पनि संस्थाको कारोबार चुस्त र दुरुस्त रहेको बताउनुभयो । साधारणसभाले संस्थालाई अझ व्यवस्थित, पारदर्शी र सदस्यमैत्री बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच