नेपाली कांग्रेस विभाजित भएको छ । धेरैका लागि यो आश्चर्यको विषय हो । यो नहुनुपर्ने कुरा भयो तर हुनै नसक्ने कुरा भएको छैन । फुट कांग्रेसमा मात्र होइन अरू पार्टीहरूमा पनि बेलाबेलामा हुने गरेको देखिएकै हो । नेपालको राजनीतिमा फुट र जुटको शृंखला हुँदै आएको छ । गत बुधबार नेपाली कांग्रेसमा जुन विभाजनको परिणाम देखापर्यो त्यसले राष्ट्रिय रूपमा एउटा तरंग भने पैदा गरेको छ । मतमतान्तर हुनु स्वभाविक हो । जुनसुकै पार्टीमा पनि हुन्छ र कांग्रेसमा पनि हुँदै आएको थियो । तर अन्ततः जुन परिणाम देखापर्यो त्यो होला भन्ने कल्पना धेरैले गरेका थिएनन् । अझ भन्ने हो भने २३ वर्षअगाडि २०५९ सालमा कांग्रेसको विभाजन नदेखेका पुस्ताका लागि भने यो एउटा आश्चर्यको विषय बनेको छ ।
अरू पार्टीको सन्दर्भलाई छोडिदिएर कांग्रेसको विभाजनलाई हेर्यौं भनेमात्र पनि यस्ता शृंखलाहरू पहिले पनि भएका हुन् । आफ्नै एकै परिवारका दाजुभाइबीच पार्टीको नीति र कार्यशैलीलाई लिएर भएको मतमतान्तरका कारण बीपी र मातृकाबीच पहिलोपटक कांग्रेस विभाजनको बीजारोपण भयो । राणा शासन हटेर प्रजातन्त्र आएको दुई वर्ष नबित्दै यसो हुनपुगेको थियो । तर पछि गएर नेपाली कांग्रेस भनेर बीपीले नेतृत्व गरेको कांग्रेसले नै ८० वर्षको इतिहास पार गर्दैछ । मातृका कांग्रेस नेपालको राजनीतिको लामो यात्रा तय गर्न नसकी इतिहासको कुनै पृष्ठमा बिलायो । बीपी नेतृत्वको त्यही कांग्रेसले नै र नेपालको राजनीतिको समग्र उतारचढावलाई आत्मसात गर्दै हालसम्म आइपुगेको हो । यस बीचमा पनि यसमा अनेकौं राजनीतिक उतारचढाव सिर्जना भए । यो दलले २०४६ सालको जनआन्दोलनमा सफलतापूर्वक नेतृत्व गरेर अगाडि बढ्यो तर त्यसको १३ वर्ष पुग्दै गर्दा विसं २०५९ मा कांग्रेस फुट्यो ।
जनआन्दोलनताका नेपाली कांग्रेसको महामन्त्री पदमा रहनुभएका गिरिजाप्रसाद कोइरालाले प्रजातन्त्र आएयता आफ्नो राजनीतिक शक्ति र महत्वकांक्षालाई कतै सदुपयोग र दुरुपयोग गर्दै अगाडि बढ्ने क्रममा सन्त नेता कृष्णप्रसाद भट्टराईमाथि पनि अनेकौं पटक अन्याय गर्नुभयो भने उहाँकै सत्ता महत्वाकांक्षा, अहंकारग्रस्त मनोविज्ञान र व्यवहारले गर्दा २०५९ सालमा कांग्रेस फुटको धेरैको विश्लेषण रहेको छ । यद्यपि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा पनि त्यो विभाजनका लागि निर्दोष मानिनुहुन्न । त्यसबेला देउवाले कांग्रेसको एउटा पक्षको नेतृत्व गर्नुभयो र नेपाली कांग्रेस प्रजातान्त्रिक बनाउनुभयो तर त्यसपछि छिटै कांग्रेसमा एकीकरण भयो । त्यसयता कांग्रेस एक ढिक्का भएर यो २३ वर्षसम्म सञ्चालन हुन सफल भएको थियो । तर हालका दिनमा एकाएक कांग्रेसभित्र आँधीहुरी पैदा भयो । भदौ २३ गते जेन–जी पुस्ताका नाममा भएको आन्दोलन र त्यसमा भउको क्रूर हिंसा, त्यसको भोलिपल्टको अराजक आतंकपूर्ण स्थितिमा शेरबहादुर देउवाले आफ्नै निवास बूढानीलकण्ठमा भौतिक आक्रमणको सामना गरेको अवस्थाबाट अनायास कांग्रेसमा शक्ति र स्वार्थको नयाँ संस्करण देखा पर्न लागेको थियो ।
त्यस घटनामा लुकेर जोगिएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने तत्काल अराजकतालाई आफ्नै रंगमा रूपान्तरण गर्न सफल हुनुभयो । अर्कोतर्फ तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली सेनाको सुरक्षा घेराभित्र रहेर ज्यान जोगाउनुपर्यो । देउवा दम्पतीले भने आफ्नै निवासमा रहेर भौतिक आक्रमण सहनुभयो । त्यसबेला उहाँमाथि सबैको सहानुभूति जागृत भएको थियो । पार्टीमा त्यति लोकप्रिय बन्न नसकिरहेका देउवाले त्यसरी पिटाइ खाँदा अरू नेतासँग तुलना गरेर नेपाली नागरिकले बरू मर्न तयार हुनुभयो घर छोडेर अरू जसरी भाग्नुभएन भनेर सहानुभूति प्रकट गरे । देउवा दम्पती त्यसपछि उपचार गर्न विदेश जाँदा कार्यबहाक सभापति शेरबहादुरले उपसभापति पूर्णबहादुर खड्कालाई दिनुभयो ।
यसलाई पनि सबैले उहाँको सराहना गर्ने एउटा विषय पाए । तर, फर्केर आएपछि उहाँ फेरि राजनीतिमा सक्रिय हुन थाल्नुभयो । वार्धक्य, व्यवहार र अलोकप्रियताका कारणले अब उहाँको विकल्प खोजी पार्टी परिमार्जन गरेर नेतृत्व हस्तान्तरण र पुस्तान्तरण गर्दै अघि बढ्नुपर्छ भन्ने मान्यता विकसित हुँदै गयो तर यसो हुनसकेन । अन्ततः मिल्ने सम्भावनाका धेरै उज्याला संकेतहरूलाई तिरस्कार गर्दै बुधबार अत्यन्त अप्रिय ढंगले एकातिर नेपाली कांग्रेसले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फर्मुल्ला मनसुरलगायतलाई पार्टीबाट निष्काशन गर्यो भने अर्कोतर्फ विशेष महाधिवेशन पक्षधरहरूले पार्टीको केन्द्रीय समिति भंग गरेको घोषणा गर्यो । यसबाट कांग्रेसमा एक किसिमको भाँडभैलो र गाईजात्राको स्थिति सिर्जना हुनपुगेको छ । यस परिदृश्यसंगै कांग्रेस मात्र भाँडिएको छैन समग्र राष्ट्रिय राजनीति बिथोलिएको अवस्था छ । जसको प्रभावले गर्दा आगामी फागुन २१ गते हुने भनिएको प्रतिनिधिसभाको निर्वाचन हुन्छ कि हुँदैनको स्थितिमा पुगेको छ । देशको सबैभन्दा ठूलो राजनीतिक पार्टीमा यसरी विग्रह पैदा हुँदा अरू पार्टीले पनि यसलाई उचित मानेका छैनन् किनभने देशको अप्ठ्यारो स्थितिमा अभिभावकीय र समन्वयकारी भूमिका कांग्रेसले नै निर्वाह गर्दै आएको थियो । आखिर वामपन्थी पार्टीहरू पनि बेलाबेलामा फुट्ने, टुक्रिने, चोइटिने गरेर अणु-परमाणु पार्टीमा पुग्दै आएको परिस्थितिमा कांग्रेसको अभिभावकीय सहयोग उनीहरूका लागि पनि अपेक्षित थियो । एक किसिमले हेर्ने हो भने कांग्रेसको विग्रह परम्परागत पार्टी र नयाँ पार्टीका बीचको प्रतिस्पर्धा र द्वन्द्व हो भन्न सकिन्छ ।
अर्कातिर अहिले आएर संयोग के भएको छ भने कांग्रेसको फुट पूर्वभर्सेस पश्चिम जस्तो पनि देखिएको छ । शेरबहादुर देउवा, रमेश लेखक, पूर्णबहादुर खड्कालगायतका पश्चिमतिरका उच्चस्तरका नेताहरू देउवा पक्षमा हुनुहुन्छ । यता युवाहरूको नेतृत्व गर्दै आइरहनु भएका गगन थापा, विश्वप्रकाश शर्माहरू नयाँ र पूर्वतर्फको नेतृत्व गर्दै आइरहनु भएको छ । कांग्रेसको यो फुट दुवैतर्फको हठको परिणाम हो तर हालका दिनहरूमा रवि लामिछानेको नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा युवाहरूको आकर्षण र वर्चस्व देखिए जस्तै गगन विश्वले नेतृत्व गरेको यस पक्षमा युवाहरूको वर्चस्व देखिन्छ । कांग्रेस संस्थापनले के सोच्यो कुन्नि यस्तो कठोर निर्णय ग¥यो, समन्वयकारी भूमिका खेलेन तर परिणाम दुवैका लागि दुर्भाग्यपूर्ण र निराशाजनक देखापर्यो ।
भोलि जसले कांग्रेसको आधिकारिकता पाउँछ र चार तारे झण्डा र रूख चुनाव चिह्न तथा कांग्रेसको पार्टी कार्यालयलगायतको समग्र भौतिक सम्पत्ति जसको तर्फमा निर्णय हुन्छ कांग्रेस त्यही नै हो भनेर अरूले स्वीकार्नुपर्ने हुन्छ । जसले ती कुरा पाउँदैनन् त्यो कांग्रेस नामको कुनै फुर्को जोडेर त आउला तर भोलिका दिनमा त्यो कांग्रेस कुनै समय हरिबोल भट्टराईले स्थापना गर्नुभएको नेपाली कांग्रेस (बीपी)मा रूपान्तरित हुँदैन वा प्रजातान्त्रिक कांग्रेस समान पुनः एकीकरणको सत्मार्गमा जुट्दैन भन्ने नहोला । बाक्लो दाल खान पुगेका दुवै पक्षका कांग्रेसजनलाई हामी शुभकामना दिनुभन्दा पनि राष्ट्र, लोकतन्त्र, लोकतान्त्रिक मर्यादा, अनि जनतालाई आघात हुने काम दुवैतर्फबाट नहोस् भन्न चाहन्छौं ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच