काठमाडौं । नेकपा (एमाले)ले आउँदो आइतबार (माघ ४) गतेदेखि चुनावी अभियान थाल्ने भएको छ । संघीय राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गर्दै एमालेले चुनावी अभियान थाल्ने भएको हो । विशेष शक्ति प्रदर्शनपछि कमलादीस्थित प्रज्ञा भवनमा कार्यक्रम गरेर चुनावी अभियान थाल्ने एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले जानकारी दिनुभयो । प्रज्ञा भवनमा हुने सभालाई पार्टी अध्यक्ष केपी ओलीले सम्बोधन गर्नुहुने छ । सभालाई अध्यक्ष ओलीले सम्बोधन गरेसँगै चुनावको लागि आवश्यक निर्देशन पनि दिने उहाँले बताउनुभयो ।
बागमतीको १८ सिटमा एमालेले अधिकतम् जित्ने गरी रणनीति बनाइरहेको बागमती प्रदेश उपसचिव भक्तकुमारी लामाले दाबी गर्नुभयो । ‘भृकृटीमण्डपबाट विशेष प्रदर्शन सुरु भएर प्रज्ञा भवनमा सभा हुनेछ,’ लामाले भन्नुभयो, ‘सभाबाट बागमती प्रदेश कमिटीअन्तर्गत रहेका १८ वटै निर्वाचन क्षेत्रमा जित्ने घोषणा हुनेछ ।’ एमालेले राजधानी उपत्यकाका तीन जिल्ला बाहेकलाई बागमती प्रदेश कमिटीमा राखेको छ । प्रतिनिधिसभा निर्वाचन आगामी फागुन २१ गते हुँदै छ । गत भदौ २३ र २४ गतेको ‘जेन-जी’ आन्दोलनको बलमा तत्कालीन संसद् विघटन भएपछि पाँच वर्ष नपुग्दै प्रतिनिधिसभा निर्वाचन हुन लागेको हो ।
एमाले फुट्नबाट जोगियो, महाधिवेशनले पार्टी एकजुट बनायो : अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले फुट्नबाट जोगिएको दाबी गर्नुभएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपाली कांग्रेसमा देखिएको जस्तै अवस्था एमालेमा पनि ल्याउन खोजिएको भए पनि त्यो प्रयास असफल भएको बताउनुभयो । उहाँले पार्टीको महाधिवेशनमार्फत नेतृत्व चयन भइसकेकाले अहिले एमाले एकजुट रहेको दाबी गर्नुभयो । एक वर्षअघि नै महाधिवेशन आयोजना गरेर हल्ला र भ्रम चिरेको उल्लेख गर्दै अध्यक्ष ओलीले महाधिवेशनले पार्टीभित्रको समस्या समाधान गर्दै स्पष्ट फैसला दिएको बताउनुभयो ।
प्रधानमन्त्री हुँदा आफू सुत्नसमेत नपाएको स्मरण गर्दै अध्यक्ष ओलीले सरकार सञ्चालन गर्दा सधैँ काममा तल्लिन हुनुपर्ने धारणा राख्नुभयो । ‘प्रधानमन्त्री हुँदा सुत्न भ्याइँदैनथ्यो, काम त त्यसरी नै गर्नुपर्छ’, उहाँले भन्नुभयो । अध्यक्ष ओलीले पहिला सबै राम्रो र अहिले सबै नराम्रो भन्ने खालको भाष्य निर्माण गर्नु उपयुक्त नभएको समेत बताउनुभयो ।
यसैगरी, अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा फिर्ता लिएर महान्यायाधिवक्ता कार्यालय इतिहासकै लागि कलंकित बनेको टिप्पणी गर्नुभयो । उहाँले अहिले नेपालमा थिति र विधिको शासन नभएको आरोप लगाउँदै सुशासन कमजोर बनेको बताउनुभयो । कसैलाई ठगे पनि मुद्दा फिर्ता वा आममाफी पाइने अवस्था आएको भन्दै उहाँले व्यंग्यात्मक टिप्पणी गर्नुभयो ।
हामीले चुनावमा भाग लिँदैनौँ भनेका छैनौँ, समस्या वातावरण नहुनु हो ; बस्नेत
एमाले सचिव महेश बस्नेतले आफूहरूले चुनावमा होमिने तयारी गरिराख्दा पनि सरकारले अझै वातावरण बनाउन नसकेको दाबी गर्नुभयो । बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव बस्नेतले एमालेले कहिल्यै पनि निर्वाचनमा नजाने नबोलेको बताउनुभयो । ‘जेन-जी’ आन्दोलनका क्रममा लुटिएका हतियार र फरार भएका कैदीहरू अझै फिर्ता हुन नसकेको उल्लेख गर्दै उहाँले सुरक्षा निकायको मनोबल कमजोर बनेको दाबी गर्नुभयो ।
बस्नेतले सुशीला कार्की नेतृत्वको सरकार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई बलियो बनाउने गतिविधिमा संलग्न रहेको आरोप लगाउनुभयो । रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिने सरकारी वकिल कार्यालयको निर्णयले भ्रष्टाचारीलाई उन्मुक्ति दिन सरकार आफैँ लागेको पुष्टि भएको उहाँको भनाइ छ । ‘माघ ४ गते खुला सभामार्फत नेकपा (एमाले) निर्वाचनमा होमिएको सन्देश दिँदै छौँ । हामीले चुनावमा भाग लिँदैनौँ भनेर कहिल्यै भनेका छैनौँ । अहिले समस्या चुनावको वातावरण नहुनु हो’, उहाँले भन्नुभयो, ‘प्रहरीहरू घाइते छन्, लुटिएका हतियार र भागेका कैदी अझै फिर्ता भएका छैनन् । आपराधिक गतिविधि अझै बढिरहेका छन् ।’ आगामी चुनावमा एमाले सबैभन्दा ठूलो दल बन्ने उहाँको भनाइ छ ।
सरकारका मन्त्रीहरूबाट आएका अभिव्यक्तिहरू एमाले र कांग्रेसलाई कमजोर बनाउने उद्देश्यले गरिएको उहाँको दाबी छ । ‘नयाँ ल्याउनुपर्छ, पुराना दलहरूको काम छैन, डिजिटल भोटिङ ठूला दलका कारण सम्भव भएन भन्ने अभिव्यक्तिहरू एमाले–कांग्रेसलाई कमजोर बनाउने प्रयत्न हुन्,’ बस्नेतले भन्नुभयो ।
सरकार निर्वाचनको वातावरण बनाउन असफल भयो : पोखरेल
एमाले महासचिव शंकर पोखरेलले सरकार निर्वाचनको वातावरण बनाउन असफल भएको आरोप लगाउनुभएको छ । प्रेस चौतारी दाङले घोराहीमा बिहीबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै माघ ६ गते उम्मेदवारी घोषणा भइसकेको भए पनि शान्ति-सुरक्षाको प्रत्याभूति हुन नसकेको उहाँले बताउनुभयो । शान्ति-सुरक्षाको अवस्था कमजोर रहेको उल्लेख गर्दै प्रहरीको मनोबल बढाउनु मुख्य आवश्यकता भएको उहाँको भनाइ छ । ‘प्रहरी हत्या गर्ने, हतियार लुट्ने र कार्यालय ध्वस्त बनाउनेले दण्ड नपाउँदासम्म पूर्ण शान्ति-सुरक्षा सम्भव हुँदैन’, उहाँले भन्नुभयो । महासचिव पोखरेलले आन्दोलनका क्रममा लुटिएका हतियार र कैदीबारे छानविन गर्नुपर्ने, राजनीतिक दलहरू जनताबीच निर्वाध रूपमा जान पाउने वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो ।
आमनिर्वाचनको विषयमा एमाले छलफलमै रहेको जनाउँदै उहाँले १६५ सिटमै उम्मेदवार तय गरेर अघि बढ्ने तयारी रहेको बताउनुभयो । केही क्षेत्रमा सहकार्यका लागि संवाद भइरहेको र विप्लव समूह तथा प्रगतिशील दलहरूले एमालेसँग सहकार्यको इच्छा व्यक्त गरेको पनि उहाँले जानकारी दिनुभयो ।
सर्वपक्षीय सरकारका लागि विप्लव र मिराज समूहले संयुक्त संघर्ष गर्ने
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी र संयुक्त ‘जेन-जी’ आन्दोलनका संयोजक मिराज ढुंगानाबीच सर्वपक्षीय अन्तरिम सरकार गठनका लागि संयुक्त संघर्ष गर्नेसहित चार बुँदे सहमति भएको छ । सर्वपक्षीय सरकार गठनको माग गरिरहेका दुवै पक्षका तर्फबाट बिहीबार विप्लव र ढुंगानाले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको हो । यस्तै, ‘जेन–जी’ विद्रोहको मागहरू पूरा गर्न संघर्ष गर्ने, आन्दोलन र जनताको चाहनाबमोजिम संविधानको संशोधन, स्थिर सरकार, भ्रष्टाचारविरुद्ध विशेष न्यायिक निकाय गठन, राज्यको अग्रगामी पुनर्संरचनाका लागि संयुक्त रूपमा संघर्ष गर्ने सहमति भएको छ । ढुंगाना नेतृत्वको समूहले सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शन गर्दै आएको छ । विप्लव नेतृत्वको माओवादीले पनि सर्वपक्षीय सरकार गठनको माग गर्दै आएको छ । उक्त पार्टीले गत पुस ९ गते नै वर्तमान अन्तरिम सरकार विघटन गरी सर्वपक्षीय सरकार बनाउन राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएको थियो ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच