काठमाडाैं । नेपाली काँग्रेसका नेताहरुले निर्वाचन आयोगले आगामी फागून २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई असर गर्ने कुनै निर्णय गर्न नहुने बताउनुभएको छ ।
शुक्रवार नेपाली काँग्रेसको आधिकारिकता दाबी गर्न आयोगमा पुगेका सभापति शेरबहादुर देउवा पक्षका नेताहरुले यस्तो बताउनुभएको हो । उहाँहरुले आयोगले संविधान, राजनीतिक दलसम्बन्धि ऐन, नेपाली काँग्रेसको विधान र आफूहरुले उपलब्ध गराएको कागजातको आधारमा नै निर्णय गर्ने विश्वास गर्नुभयो । काँग्रेसको आधिकारिकता आफूहरुले पाउने र छुट्टिएर गएकाहरु पनि मूलधारमा नै फर्किने नेताहरुको विश्वास छ ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य मोहनबहादुर बस्नेतले निर्वाचन हुने की नहुने आशंका भइरहेको बेलामा थप जटिल परिस्थिति उत्पन्न हुनेगरी निर्णय गर्न नहुने बताउनुभयो । उहाँले कांग्रेस चुनावको लागि पूर्णरुपमा तयार भएर जिल्ला जिल्लामा खटिइसकेको बताउनु भयो ।
सिन्धुपाल्चोकमा आफूहरुले चुनावी सभा समेत थालेको उहाँको भनाई छ । यस्तो स्थितिमा आयोगले संविधान विपरित, काँग्रेसको विधान विपरित निर्णय गरेमा देशमा निर्वाचनको प्रक्रिया नै विथोलिने उहाँले बताउनु भयो । निर्वाचन बिथोलिएमा त्यसको जिम्मेवारी आयोगले लिनुपर्ने उहाँको भनाई छ । उहाँले कसैको बहकावमा, दबाबमा र स्वार्थमा गलत निर्णय नगर्न पनि आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘निर्वाचन हुने की नहुने भनेर कोलाहल मच्चाईरहेको छ, यतिसम्म की जसले सरकार बनायो, जेन–जी कै मान्छेहरुले चुनाव हुँदैन भनिरहेको अवस्थामा नेपाली काँग्रेस पार्टी चुनावको लागि तयार भएर पूर्ण आफ्नो आफ्नो जिल्लामा खटिइसकेको अवस्था, खटाईसकेको अवस्थामा छ । सिन्धुपाल्चोकमा त हामीले चुनावी सभा पनि ग¥यौँ, अन्यत्र पनि शुरु भएको छ । त्यो स्थितिमा निर्वाचन आयोगले गरेको निर्णयको कारण, जुन निर्णय संविधान विपरित, नेपाली काँग्रेसको विधान विपरित भएको खण्डमा भोली देशमा निर्वाचनको प्रक्रिया बिथोलियो भने त्यसको जिम्मेवारी निर्वाचन आयोगले लिनुपर्छ । यदी अहिलेको परिस्थितिमा सारा निर्वाचनमा विथोल्ने भनेर विभिन्न पार्टीहरुले अस्वीकार गरिरहेको अवस्थामा नेपाली काँग्रेस पार्टी चुनावमा होमिईसकेको अवस्थामा यो पार्टीलाई कसैको बहकावमा लागेर वा कसैको प्रेसरमा, कसैको स्वार्थमा गलत निर्णय हुन खोज्यो भने त्यो राज्यको लागि दुर्भाग्य हुन्छ । निर्वाचन आयोगलाई पनि त्यसको दोष लाग्छ ।’
नेपाली काँग्रेसका केन्द्रिय सदस्य रामहरी खतिवडाले पनि निर्वाचन आयोगले कानून नियम, संविधान र विधानअनुसार आफूहरुको पक्षमा निर्णय गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले कांग्रेस विभाजनलाई रोक्न अन्तिमसम्म प्रयास गरेपनि असफल भएको बताउनु भयो । विभाजनले निर्वाचनसँगै देशको राजनितिमा पनि ठूलो असर पर्ने उल्लेख गर्नुभयो । उहाँले सिंहदरबार, संसद, सर्वोच्च अदालत जलाएजस्तै नेपाली काँग्रेसलाई पनि जलाएर प्रजातन्त्रलाई नै समाप्त पार्न केही तत्वहरु लागिरहेको आरोप लगाउनुभयो । यसमा सबै सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘काँग्रेसको विभाजनले निर्वाचनमा असर पर्छ । राजनीतिमा असर नपर्ने भन्ने कुरा हुँदैन तर समग्रतामा हामी मिलेर जानको लागी हाम्रो कोशिस अन्तिमसम्म थियो । निर्वाचन आयोगले कानून नियम, संविधान र विधानअनुसार निर्णय गर्ने विश्वास हामीले लिएका छौँ । अरु कुरा हेर्दै जानुहोला, नेपालको राजनीतिमा सिंह दरबार जल्यो, संसद भवन जल्यो, सवोच्च अदालत जल्यो । अझै काँग्रेस नजलाई केही हुँदैन भनेर कोही लागेका छन् र प्रजातन्त्रलाई नै समाप्त गर्न लागेका छन् भने यसको असर धेरै ठूलो पर्नसक्छ, यसमा हामी बुझेर लाग्नुपर्छ ।’
नेपाली काँग्रेस रामेछापका जिल्ला सभापति पूर्णबहादुर तामाङले काँग्रेसको आधिकारिक सभापति शेरबहादुर देउवा नै रहेको बताउनु भयो । उहाँले प्रतिनिधि सभाको निर्वाचनको लागी माघ ६ गते मनोनयनको लागी देउवाले नै टिकट बाढ्ने दाबी गर्नुभयो । उहाँले शनिवारबाट नै सभापति देउवाले टिकट बाढ्न शुरु गर्ने जानकारी दिनुभयो । उहाँले काँग्रेस पार्टी विभाजन नभएको पनि बताउनु भयो । गगन थापा, विश्वप्रकाश शर्माहरुले अर्को पार्टी गठन नगरेकोले उहाँहरु पनि देउवाको हातबाट टिकट लिएर चुनाव लड्न जाने दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘नेपाली काँग्रेसको सभापति शेरबहादुर देउवा नै हो । शेरबहादुर देउवाले भोलीबाट ६ गते प्रतिनिधिसभाको लागि मनोनयन गर्न टिकट बाढ्नुहुन्छ । नेपाली कांग्रेस पार्टी फुटेको छैन । उहाँहरु (गगन-विश्व) ले अर्को पार्टी गठन गर्नुभएको छैन । उहाँहरु पनि भोली आएर टिकट लिएर चुनाव लड्न जानुहुन्छ ।’
नेपाली काँग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा.शेखर कोईराला लगायतका नेताहरु पार्टीको आधिकारिकता दाबी गर्न निर्वाचन आयोग जानुभएको थियो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच