काठमाडौँ। बौद्ध तथा मेलम्ची घ्याङ गुठीका नाममा रहेको राजगुठीको जग्गा अतिक्रमण भएको विषयको खोजी तथा संरक्षण गर्न खोज्दा सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममार्फत दुष्प्रचार गरिएको भन्दै बौद्ध लामा गुरुहरूले आपत्ति जनाएका छन्।
बौद्ध तथा मेलम्ची घ्याङ गुठीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा गुठीका अध्यक्ष चिनियाँ लामा भूपतिबज्र लामाले गुठी संस्थानअन्तर्गत रहेका श्रेस्ता, लगत र अभिलेखअनुसार राजगुठीको जग्गा खोजी गरी संरक्षण गर्न लाग्दा अतिक्रमणमा संलग्न पक्षले नकारात्मक प्रचार गरिरहेको बताउनुभयो।
बाबु–बाजेदेखि नै गुठीको जग्गा संरक्षण गर्दै बौद्ध तथा मेलम्ची घ्याङको पूजा, धार्मिक र सांस्कृतिक परम्परा जोगाउँदै आएको स्मरण गराउँदै अध्यक्ष लामाले अनियमितता देखिएपछि गुठीको स्वामित्व कायम गराउने पहल गर्दा आफू र गुठीलाई बदनाम गर्ने प्रयास भइरहेको गुनासो गर्नुभयो।
“म कसैविरुद्ध छैन, सबैको भलो होस् भन्ने चाहना हो,” अध्यक्ष लामाले भन्नुभयो, “यो गुठीको जग्गा संरक्षण गर्ने दायित्व पुस्तौँदेखि हाम्रो परिवारले वहन गर्दै आएको हो। गुठी संस्थानले मलाई अध्यक्षको जिम्मेवारी दिएको छ, यस जग्गामा तलमाथि गरेर धर्म र संस्कृति नष्ट गर्न दिइँदैन।”
घ्याङ गुठीका अध्यक्षको निजी सचिवालयका सदस्य हरिश गोले तामाङका अनुसार बौद्ध चैत्य र त्यस वरपरको जग्गा शताब्दीयौँदेखि राजगुठीको भए पनि केही व्यक्तिले अतिक्रमण गरेका छन्। त्यसको खोजी सुरु गरेपछि अतिक्रमणकारी पक्ष नकारात्मक प्रचारमा उत्रिएको र त्यससम्बन्धी प्रमाण गुठीसँग सुरक्षित रहेको सचिवालयले जनाएको छ।
‘मेरो जन्म अरूका लागि’ भन्ने अभियानलाई स्मरण गर्दै अध्यक्ष लामाले गुठीका तर्फबाट कुनै पनि गलत कार्य नभएको दाबी गर्नुभयो। उहाँले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको बौद्धनाथ क्षेत्र विकास समितिले गुठीको नाममा रहेको जग्गा नेपाल सरकारको नाममा ल्याउन नापी र मालपोत कार्यालयमाथि दबाब दिइरहेको जानकारी पनि सार्वजनिक गर्नुभयो।
गुठी संस्थान स्वयं सरकारअन्तर्गतको निकाय हुँदाहुँदै पुनः नेपाल सरकारकै नाममा जग्गा लैजाने प्रयास हुनु अनियमित भएको घ्याङ गुठीको आरोप छ। गुठी संस्थान, नापी र मालपोत कार्यालय भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत पर्दछन्।
सचिवालयका अर्का सदस्य पाल्देन तामाङले खोजी भइरहेको गुठीको जग्गासम्बन्धी तथ्य लुकाउन सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममार्फत नकारात्मक सन्देश फैलाइएको दाबी गर्नुभयो।
पत्रकार सम्मेलनमा नकारात्मक प्रचारप्रसारविरुद्ध सम्बन्धित सञ्चारमाध्यममा खण्डन पठाइसकिएको र आवश्यक परे प्रेस काउन्सिल नेपालमा उजुरी दिने तयारीसमेत भइरहेको जानकारी गराइएको थियो।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच