काठमाडौं । वर्तमान पुस्तामाझ अत्यन्त लोकप्रिय बनेको फेसबुक पेज ‘रुटिन अफ नेपाल बन्द’ आज विश्वासिलो सूचनाको माध्यमका रूपमा स्थापित हुँदै गएको छ । शुभप्रभातदेखि रातीको शुभरात्रीसम्म दैनिक २० भन्दा बढी समाचार तथा सामग्री सार्वजनिक हुने उक्त पेजमा विशेषतः संघर्ष र सफलताको कथा प्रस्तुत गर्ने नाममध्ये एक हो सुरेश तिमल्सिना ।
देशमै केही गर्न सकिन्छ भन्ने सन्देश फैलाउने उद्देश्यका साथ तिमल्सिनाले फरक-फरक पात्रका जीवनकथा पाठकमाझ प्रस्तुत गर्दै आउनुभएको छ । उहाँका कथाले पाठकलाई मात्र होइन, कथाभित्र समेटिएका व्यक्तिहरूलाई समेत प्रत्यक्ष लाभ पुर्याइरहेको छ । सर्वसाधारणदेखि चर्चित व्यक्तित्वसम्मका कथा संकलन गर्न उहाँ आफैं फिल्डमा पुग्ने गर्नुुहुन्छ, जसका कारण संघर्षरत व्यक्तिहरूको यात्रामा सहयोग पुगिरहेको छ ।
देशमै केही गर्न सकिन्छ भन्ने सन्देश फैलाउने उद्देश्यका साथ सुरेश तिमल्सिनाले फरक-फरक पात्रका जीवनकथा पाठकमाझ प्रस्तुत गर्दै आउनुभएको छ । उहाँका कथाले पाठकलाई मात्र होइन, कथाभित्र समेटिएका व्यक्तिहरूलाई समेत प्रत्यक्ष लाभ पुर्याइरहेको छ ।
सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिनुभएका तिमल्सिना विद्यालय जीवनदेखि नै पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो । २०७१ सालमा जुरे पहिरोसम्बन्धी विद्यालयस्तरीय समाचार प्रतियोगितामा प्रथम स्थान हासिल गरेपछि उहाँ वादविवाद, वक्तृत्वकलाजस्ता कार्यक्रममा निरन्तर सहभागी हुँदै जानुभयो । त्यसले पत्रकारिताप्रतिको रुचि अझै बढायो र एसएलसीपछि पत्रकारिता अध्ययन गर्ने लक्ष्यसहित उहाँ काठमाडौं आउनुभयो ।
+२ तहदेखि नै पत्रकारिता अध्ययन थाल्नुभएका तिमल्सिनाले विभिन्न सञ्चारमाध्यममा काम गर्दै अनुभव बटुल्नुभयो । सामाजिक कार्यप्रतिको सक्रियताकै कारण उहाँले धुर्मुस–सुन्तली फाउण्डेसनसँग आबद्ध हुने अवसर पाउनुभयो । देशका लागि योगदान दिने सोचका साथ उहाँ २२ महिनासम्म चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा कार्यरत रहनुभयो । सोही क्रममा रंगशालाका गतिविधि ‘रुटिन अफ नेपाल बन्द’ मा पठाउन थालेपछि उहाँ पेजको टिमसँग नजिकिँदै जानुभयो र उहाँका सामग्री नियमितरूपमा प्रकाशित हुन थाले ।
हाल उहाँले उक्त पेजका आधिकारिक कर्मचारी नभए पनि स्वयंसेवकका रूपमा निरन्तर सामग्री तयार गर्दै आउनुभएको छ । ‘म पेजको कर्मचारी होइन, निःस्वार्थरूपमा स्वयंसेवक हुँ,’ तिमल्सिना भन्नुहुन्छ, ‘कुनै नयाँ मान्छेसँग भेट हुँदा कुराकानीबाट प्रेरणादायी कथा भेटिएमा अनुमति लिएर लेख्छु । अहिले त कसैले संघर्ष गरिरहेको सुन्नासाथ आफैं खर्च गरेर पनि कथा तयार गर्न पुग्छु, किनकि अरूको कथा लेख्न मलाई मन पर्छ ।’
तिमल्सिनाले तयार गर्ने कथाले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास उहाँको छ । उहाँका अनुसार यस्ता कथाले देशमा सम्भावना छैन भन्ने नकारात्मक सोच हटाउन सहयोग पुर्याउँछ । हाल उहाँ वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंका प्रेस सल्लाहकारसमेत रहनुभएको छ । पत्रकारितासँगै साहित्यिक क्षेत्रमा पनि सक्रिय तिमल्सिनाले कथा, गजल र कविता लेख्दै आउनुभएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच