पचासको दशकबाटै नेपाली साहित्यमा छिटफुट कलम चलाउँदै आउनुभएका गीतकार चन्द्र जयपाल राई मूलतः संस्कृतिकर्मी हुनुहुन्छ । खोटाङको निर्मलीडाँडा, लामाखु (हालको दिक्तेल रूपाकोट मझुवागढी न.पा.-९) मा आप्पा शिवचन्द्र राई तथा आमा डिकशोभा राईको कोखबाट माइलो पुत्रका रूपमा जन्मनुभई हाल धरान बसोबास गर्दै आउनुभएका संस्कृतिकर्मी एवं गीतकार चन्द्र जयपालको कर्मक्षेत्र बेलायत रहेको छ । विगत लामो समय बेलायती सेनामा कार्यरत रही सेवानिवृत्त हुनुभएका उहाँले बेलायतमा स्थापित थुप्रै सामाजिक एवं सांस्कृतिक संस्थामा आबद्ध रहेर आफ्नो भाषा, संस्कार, समुदाय र सिंगो नेपाली समाजका लागि निरन्तर योगदान पुर्याउँदै आउनुभएको छ । पछिल्लो समय गीतिकारिताका माध्यमद्वारा मौलिक संस्कार, पहिचान र समाज रूपान्तरणमा टेवा पुर्याउँदै गीतकारको दर्बिलो परिचय बनाउनुभएका स्रष्टा चन्द्र जयपाल राईले राजेश पायल राई, शान्तिराम राई, वसन्त सापकोटा, राई नवीन, शिव संगम राई, शशी गुरुङ, स्व. विक्रम राई, मेनुका राई, सागर संसार राई, डि.आर. अटु, विशेष खालिङ, आनन्द रानाहोँछा, परेश राई, मेघराज रानाहोँछा, रत्न राई, आयुष्मा राई, पदम राईलगायत थुप्रै सुप्रसिद्ध कलाकारहरूसँग सहकार्य गरिसक्नुभएको छ । समाज, संस्कृति र गीत आफ्ना लागि तीन चुल्हा भएको बताउनुहुने स्रष्टा चन्द्र जयपाल राईसँग हिमालय टाइम्सको हिँड्दा-हिँड्दैका लागि कृष्ण भुसालले गर्नुभएको संवादको संक्षिप्त अंश :-
हाल केमा व्यस्त हुनुहुन्छ ?
पहिलो त जीवन यापनकै कुरा आउँछ, त्यसैले हाल अधिकांश समय ड्युटीलाई दिइरहेको छु भने बचेको समय चाहिँ रचनात्मक कामहरूमा खर्चिरहेको छु ।
यहाँ विशेषतः समाजसेवा र संस्कृतिकर्ममा समर्पित व्यक्तित्व हुनुहुन्छ भने गीतकारको समेत परिचय बनाउनुभएको छ, के कुराले उत्प्रेरित गर्यो ?
खासगरी म स्कुल जीवनबाटै गीत-कविताहरू लेख्थें । पछि जागिरसँग जोडिएपछि समय अभावका कारण भनौं या सामाजिक र सांस्कृतिक संस्थाहरूमा संलग्न भएर अलिक बढी काम गर्न थालेपछि लेखनसँग मेरो केही दूरी बढ्दै गयो । यद्यपि संस्कृति र साहित्यको अन्तरसम्बन्ध त गहिरो छ । यसर्थ, सिर्जनाका माध्यमबाट पनि संस्कृति र सामाजिक जीवनको उत्थानमा टेवा पुर्याउन सकिन्छ भन्ने हेतुले मैले फेरि गीतहरू लेख्न थालेको हुँ ।
‘समाजसेवामा काम गर्दा दीनदुःखी र असहायहरूका आँसु पुछिएको महसुस हुन्छ । संस्कृतिमा काम गर्दा आफ्नो मुन्धुम दर्शनको संरक्षण गर्दै पुज्य पुर्खाहरूका पथलाई अनुशरण गरेर उहाँहरूलाई (सायारेम) शिर उभ्याउन सकेको आभास हुन्छ । त्यसैगरी गीतसंगीतमा काम गर्दा आफ्ना वैयक्तिक भावनाको मार्गबाट समाजका संवेदनाहरूलाई आमपाठक, श्रोतामाझ व्यक्त गर्न सकेको अनुभूत हुन्छ ।’
यहाँको पहिलो रेकर्डेड गीतको थोरै सम्झना गरौं न ?
‘तिमी मेरो पारुहाङ’ बोलको गीत मेरो पहिलो रेकर्डेड शब्द रचना हो । यसमा मुन्धुम-संस्कृतिको प्रतिबिम्ब छ । हाम्रा सृष्टिकर्ता सुम्निमा-पारुहाङलाई शब्दमा चित्रण गरेर संगीतका माध्यमबाट पुनरावृत्ति गरिएको परिकल्पना गरेर मैले यस गीतको शब्द रचना गरेको हुँ । जसलाई चर्चित गायिका मेनुका राईले स्वरबद्ध गर्नुभएको छ भने प्रसिद्ध संगीतकार वसन्त सापकोटाले संगीत गर्नुभएको छ ।
गीत, संगीत र साहित्यका माध्यमबाट के समाज रूपान्तरण सम्भव छ ?
अवश्य छ । जस्तै अहिलेका जेन-जी भाइबहिनीहरूलाई नै हेर्नुहोस् त, यो पुस्ताको कति ठूलो हिस्सालाई गीत, संगीतले बाँधेको छ ? चाहे त्यो लोकदोहोरी होस् या आधुनिक, पप होस् या हिपप, रक होस् या र्याप, कैयन् युवा पिँढीलाई कुलतमा फस्नबाट जोगाएको छ । फरक-फरक भूगोल, जाति, धर्म, संस्कृति, भाषा र विचारलाई जोड्ने र समुन्नत बनाउने भनेको गीत, संगीत र साहित्यले मात्रै हो ।
यहाँ प्रवासमा रहेर कलम चलाइरहनुभएको छ, त्यहाँ गीत, संगीत र साहित्यको अवस्था पहिले र अहिलेमा के-कति फरक पाउनुहुन्छ ?
प्रवासमा पहिलेको तुलनामा अहिले कला साहित्यको अवस्था निकै माथि उठेको छ । किनभने उबेला पाठक तथा श्रोताहरू पनि कमै हुन्थे, यस क्षेत्रप्रतिको चासो, चिन्तन, अभिरुचि र महत्व पनि कम थियो भने अहिले आएर यी सबै कुरामा वृद्धि भएको छ । अर्को कुरा अहिलेको तीव्र विकसित मिडिया र प्रविधिका कारण पनि गीत, संगीत र साहित्यको अवस्था फराकिलो भएको छ ।
लेखनका लागि यहाँले कुनै विशेष समय छुट्याउनुहुन्छ कि ?
लेखनका लागि मेरो खास समय तालिका छैन । सिर्जना भन्ने कुरा जुनैबेला अर्थात् जुनसुकै अवस्थामा पनि प्रस्फुटन हुनसक्छ । त्यस्तो अवस्थामा म दिमागमा फुरेको कुरालाई सम्भव भएसम्म टिपेर राख्ने गर्छु । नभए, दिमागमै खेलाएर राख्छु र जब समय अनुकूल हुन्छ म सिर्जनालाई मूर्त रूप दिने गर्छु ।
प्रायजसो सर्जकले आमाबारे गीत, कविता लेख्दै आइरहेको पाइन्छ, तपाईंले चाहिँ बाबामाथि गीत लेख्नुभयो, यसको कुनै कारण छ कि ?
हरेक सन्तानका खातिर बाबा र आमा दुइटा आँखा जत्तिकै बराबर हुन् । किनभने आमाले नौ महिना कोखमा हुर्काएर जन्म दिनुहुन्छ, त्यसपछि हामी बाबाको काँध चढेर हुर्कन्छौं । परिवार, व्यवहार, समाज आदि जिम्मेवारीको हिसाबले बाबाले अलिक धेरै आँधीहुरी बेहोर्नुभएको महसुस छ मलाई । तर पनि अधिकांश सन्तानले बाबालाई बिर्सिएर आमाको मात्रै महिमागान गाएको देख्दा साह्रै दुःख लागेर मैले चाहिँ बाबाको माया र महŒव दर्शाउनका निम्ति उहाँमाथि गीत लेखेको हुँ । अर्को कुरा मेरो बाबा अहिले साथमा हुनुहुन्न । त्यसैले मेरो गीत उहाँमाथि समर्पित छ ।
समाजसेवा, संस्कृति र सिर्जनकर्ममध्ये कुन क्षेत्रमा काम गर्दा तपाईं बढी सन्तुष्ट हुनुहुन्छ ?
यी तीनवटै क्षेत्र मेरा लागि हाम्रो आस्था र विश्वासका प्रतीक तीन चुल्हा जत्तिकै महत्वपूर्ण छ । समाजसेवामा काम गर्दा दीनदुखी र असहायहरूका आँसु पुछिएको महसुस हुन्छ । संस्कृतिमा काम गर्दा आफ्नो मुन्धुम दर्शनको संरक्षण गर्दै पुज्य पुर्खाहरूका पथलाई अनुशरण गरेर उहाँहरूलाई (सायारेम) शिर उभ्याउन सकेको आभास हुन्छ । त्यसैगरी गीत संगीतमा काम गर्दा आफ्ना वैयक्तिक भावनाको मार्गबाट समाजका संवेदनाहरूलाई आमपाठक, श्रोतामाझ व्यक्त गर्न सकेको अनुभूत हुन्छ । यसर्थ प्रवृत्तिको हिसाबले फरक भए पनि प्रस्तुत तीनवटै क्षेत्रमा काम गर्दा मलाई उत्तिकै आत्मसन्तुष्टि मिल्छ ।
प्रवासमा रहेर यति धेरै क्षेत्रमा निस्वार्थ भावले योगदान पुर्याइरहँदा के कुरा पाएँ, के कुरा गुमाएँ जस्तो लाग्छ ?
मैले प्राप्ति या उपलब्धिको अपेक्षा राखेर कुनै काम गरेको होइन । समाजलाई केही योगदान दिनसकूँ भन्ने अभिप्रायले कामहरू गर्दै आएको छु र यसरी काम गर्दा केही गुमाएको जस्तो लाग्दैन । बरु समाजबाट यति धेरै माया र सम्मान पाएको छु कि जो शब्दमा बयान गर्न सम्भव छैन ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच