सिन्धुली । सिन्धुलीको घ्याङ्लेख गाउँपालिका–२ हायुटारमा रहेको नेपाल एसबीआई बैंक लुटपाटको मुख्य योजनाकार घरधनी छविलाल स्याङतासहित बैंक लुटपाटमा संलग्न भएका सात जनाको विवरण सिन्धुली प्रहरीले सार्वजनिक गरेको छ ।
पुस २९ गते राती बैंक लुटपाटमा संलग्न भएका आरोपमा बैंकको शाखा राखिएको घरका धनी स्याङ्तानसहित सात जनाको विवरण शुक्रबार प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
बैंकको शाखा राखिएको घरका धनी स्याङ्तानको मुख्य योजनामा बैंक लुटिएको प्रहरीको अनुसन्धानबाट पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीकाअनुसार पक्राउ पर्नेहरुमा गाडी चालक काभ्रेको बनेपा नगरपालिका– १० का ४९ वर्षीय भागवत सिंह थापा, घ्याङ्लेख गाउँपालिका–२ का ४७ वर्षीय चतुरमान बज्यु, चितवन भरतपुर महानगरपालिका–२ का २४ वर्षीय सशांक श्रेष्ठ, नुवाकोट पञ्चकन्या गाउँपालिका–५ का २३ वर्षीय मिलन गिरी, सोही ठाउँका १९ वर्षीय विवेक मगर, घ्याङ्लेख गाउँपालिका–२ का ४४ वर्षीय छविलाल स्याङ्तान र एक १६ वर्षीय बालक छन् ।
पक्राउ परेकाहरुलाई सिन्धुली जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान जारी राखिएको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिनुभयो । “बैंक लुटमा मुख्य योजनाकार तीन जना देखिन्छन् । बैक राखिएको घरका धनी छविलाल स्याङ्तान, स्याङ्तानका जेठान चतुरमान बज्यूलाई पक्राउ गरिसकिएको छ भने अर्का एक जना फरार छन्,” उहाँले भन्नुभयो ।
बैंकबाट लुटेको २ करोड ६८ लाख ५५ हजार १ सय ७५ रुपैंया नगदसमेत प्रहरीले बरामद गरेको छ । लुटेराहरूले घटनास्थलमा देखाएको पेस्तोल नक्कली रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रहरी उपरीक्षक सुवेदीकाअनुसार सुरक्षा गार्डसहितका कर्मचारीहअरुलाई नक्कली प्लाष्टिकको पेस्तोल र खुकुरी देखाएर बैंक लुटिएको थियो ।
प्रहरीले लुटमा प्रयोग भएको २ थान खुकुरी, १ थान प्लाष्टिकको पेस्तोल, ५ थान मोवाईल, ठूलो पानी टेप एक वटा, कालो रङको नकाव ३ थान, रातो रङको नकाव १ थान र कालो पञ्जा १ जोरसमेत बरामद गरेको छ ।
घरधनी स्याङ्तानले लुटेराहरूलाई हतियार व्यवस्थापन गरिदिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उहाँले सूचना आदान–प्रदान गरेको प्रहरीको अनुसन्धानक निष्कर्ष छ । बज्यु, उहाँका ज्वाईं घरधनी स्याङ्तान र अर्का फरार अभियुक्तले २०८२ असोजबाट नै बैंक लुट्ने योजना बनाएको र पटक–पटक लुटको प्रयास गरिएको पाइएको प्रहरीको अनुसन्धानमा खुलेको हो ।
प्रहरीकाअनुसार पहिलो पटक पुस २३ गते बैंक लुट्ने योजना बनाएका थिए । उक्त दिन बैंक लुटमा संलग्न चारजना काठमाडौँबाट २ वटा मोटरसाइकलमा सिन्धुली आएका थिए । तर, त्यसबेला परिस्थिति अनुकुल नभएर फर्केको र दोस्रो प्रयासमा बैंक लुटेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
पुस २८ गते पनि उनीहरु बैंक लुट्न आउने गरि काठमाडौंको कोटेश्वरमा जम्मा भए पनि ढिलो भएकाले नआएको र पुस २९ गते सोहि ठाउँमा जम्मा भएर सार्वजनिक यातायात चढी बनेपा गएका थिए । बनेपाबाट विएडी ०३९८ नम्बरको टाटा सुमो रिजर्व गरि घ्याङलेख आएको पाईएको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक सुवेदीले बताउनुभयो ।
बैंकमा आएर २९ गते साँझ उनीहरुले एसविआई बैंकभित्र प्रवेश गरि सुरक्षा गार्ड रुद्र बहादुर कार्की र अन्य कर्मचारीलाई नियन्त्रणमा लिई, शाखा प्रमुखलाई प्लाष्टिकको पेस्तोल देखाई बैंकमा पैसा भएको भल्टको ताल्चा खोल्न लगाई बैंकमा भएको पैसा बोरा तथा झोलामा हालेर भागेको पाईएको उहाँले सुनाउनुभयो ।
बैंक लुटेर भाग्ने क्रममा प्रहरी र स्थानीय मानिसहरुको सक्रियतामा अभियुक्त पक्राउ गर्न र पैसा तथा अन्य प्रमाण बरामद गर्न प्रहरी सफल भएको थियो । पक्राउ परेकाहरुका विरुद्ध चोरी तथा डाँका सम्बन्धि कसुरमा अनुसन्धान भइरहेको छ । प्रहरीकाअनुसार बैंकबाट ३ करोड ७ लाख रुपैंया लुटपाट भएको थियो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच