कोल्पुको कलकलतीरमा
गुलाफझाङ्गे भिरमा
तिनको झोपडी
महाकवि लक्ष्मीप्रसाद देवकोटा
सङ्कीर्णताको मुक्ति सच्चा स्रष्टाको पहिचान हो, परिचय हो । भएर पनि भौतिक आकर्षणको चासोबाट मुक्त रहनु सफा हृदयको सिर्जनात्मक उचाकाश हो । अथाह सञ्चय सम्भावनाका भकारी भत्काएर न्युनतम मानवीय आधारभूत आवश्यकताको तल्लो रेखोमा पाइला टेक्दै दिनरात जहाँ कुनै भय हुँदैन, पाउको चम्का लगाउने चस्काले छुँदैन, अर्काका काँधमा बन्दुक राखेर अर्कैलाई हान्न लगाउँदै आफूभित्र शून्याभासका साङ्केतिक अवस्था सिद्ध हुँदाहुँदै पनि भयानक भएका भानका गर्जनमा उफ्रिने मानवता रित्तिएको आपराधिक अंश हुँदैन ऊ नै सच्चा स्रष्टत्वको सिरानी हो । महिमामण्डित महानताको उज्यालो बिहानी हो । अनन्त विश्वासको सागर सान हो । म सुरुमै महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक रातमा लेखिएको कुञ्जिनीस्थल झिल्टुङ्लाई माध्यम बनाएर यो चर्चा गर्दैछु ।
कुञ्जिनी खण्डकाव्यमा नायकत्व ग्रहण गर्ने गोरेको पैतृक अवस्था वर्तमानमा विद्यमान रहेका गोरेसँगै खाई खेली हुर्केका पछिल्लो तर जीवित पुस्ताबाट अनौठा अनुभव सुन्नु मेरा लागि त आश्चर्य थिएन अन्य मित्रहरू चकित भए । काव्यको सम्पूर्ण जीवन्त घटना सुन्दा देवकोटाले आफ्नो कल्पनात्मक शक्तिमार्फत जीवन र प्रकृतिलाई कसरी एकीभूत गरे गराएका रहेछन् भन्ने कुरा पाउन सकिन्छ ।
त्यो नाक ठोकिने कोल्पुमाथिको उकालो जुन ठाउँमा पुग्न अहिलेसम्म त यातायातको सहज प्राप्ति छैन भने त्यस बेला अर्थात विसं २००२ तिरको अन्धकार अवस्थामा जहाँ विकासको ‘ब’ थिएन कस्तो थियो होला ? मात्र कल्पनाको एक छेउ समातेर अर्को छेउको अनुहारले अनुमानमात्र गर्न सक्छौँ । कोल्पुको किनारबाट उकालिएर झिल्टुङ्को शिरमा पुग्न कति पटकको श्वासमा विश्राम अड्नुप¥यो होला ? प्रकृतिको साहस पढ्नु प¥यो होला ? कोदाका पाँजामा सामान्य मान्छेका आँखाका बाँजा टिठ लाग्दा अवस्थामा ओच्छ्याउनु प¥यो होला ? सिर्जनशील खुला मान्छेका आँखाका नानीलाई विस्फारित विश्वासको आकाशमा उभ्याउँदा आनन्दको अनुपम अवलोकनले द्रवीभूत बनायो होला कति ?
अनायास मदन नेपालले प्रस्तावित गरे-जाऊँ आनन्दले देवकोटाको मावलीघर झिल्टुङ्सम्म । म ड्राइभर छँदैछु, मेरो आरामदायी आनन्दी महलको शिखरबाट छुक्छुक छुक्छुक गुड्ने गाडी छँदैछ त्यो पनि माथिल्लो स्तरको । तँ खलाँसी बन् विनापैसा सिटमा बस्ने खलाँसी । अन्यमा विनोद नेपाल जो भूगोलको शिखर बनेर बसेका छन् उनी अर्को खलाँसी तयार छन् । अझ रमाइला खलाँसीका रूपमा मुक्तककार बद्री उप्रेती र गद्यकवि गोविन्द पौडेलसमेत गरी खलाँसी चार भएर बिहानीको मिर्मिरेमा हुइकियौँ हुइय । सहर निस्केर घुम्ती किनारा घुम्दै हामी तेर्सियौं, ठोक्कियौँँ, मदमस्ताना भएर उफ्रियौं र पुग्यौं कोल्पु तरेर उकालो ।
नागबेली परेको बाटो मध्यपहाडी उकालो छ । अलिकति सम्म तेर्सोमा पुगेर टक्क रोकियौँ । भोक र प्यासले आरामको अनुभूति गरेका बेला एउटा पसलमा उभियौँ जहाँबाट माथि जान मदनको गाडीका पाङ्ग्रासँग सम्भव थिएन । एक पसलको आडमा गाडी अड्याइयो मुस्किलले । खायौँ, हाँस्यौँ, हेर्यौँ मनभरि अतीतका उकाला/ओराला जहाँ लहरका लहर साथीसँगाती मिलेर घाँस काटिन्थे अनेकौँ प्रकारका । दाउरा टिपेर डोका भरिन्थे अनेकन अनेकन । ठ्याक्कै त्यसै सम्झनाले अतीत उडिरहेको आँखाका सामु एक अग्ला गोरा अनुहार अग्ला पाङ्ग्राका गाडी ड्राइभर भएर ठिङ्ग उभिए अगाडि । हँसमुख, कुनै छल्कपट अन्तष्करणमा नभए झैँ लाग्ने त्यही पवित्र पहाडी उकालो जस्तो लाग्ने उनी रहेछन् मदनका भाइ मोहन नेपाल ।
यो गाडीले उत्तानो टाङ् नलगाउन्जेल अलिकति पाइला उभिन सक्ने जस्तासुकै भीर उकालामा पनि आफूलाई मान्छेको खचाखच भारीभित्र पनि मजाले हिँडाउँन सक्दोरहेछ । हामी पुग्यौँ उकालका बीचको समथर टापुमा जहाँ मोहन नेपालको पाहुनाघर अझ आश्रयस्थल नै भनेर निर्मित काठ र ढुङ्गाको आकर्षक तर प्राकृतिक घर रहेछ मजाको । यो पनि उनको उदारमना मनस्थितिको उज्यालो बनेर हाँसिरहेको अवस्थामा विद्यमान देख्दा मान्छेको विवेक मर्दोरहेनछ भन्ने लाग्यो यो स्वार्थी दुनियाँका चपेटाभित्र पनि । हामी बद्री, विनोद, मदन, गोविन्द, मोहनसँगै बसेर सपासप खाना खाएको आनन्दानुभूति सायद धेरै समयपछिको रह्यो मेरा लागि चाहिँ । खायौँ खाने जति भोकले छिनेका आन्द्रा तन्किने गरी ।
यस घरको ठीक दश पाइलामाथि निकै लामो परिधिमा आकर्षक घेरा लगाएर महाकवि देवकोटालाई बडेमाका रूखहरूले शिरमा शीत र छहारी पनि दिँदै हातमा पुस्तक लिएर पढिरहेको सालिक निर्मित रहेछ । यसै घरको दायाँपट्टि साँधमा अहिले पूरै घना हरियो जङ्गल छ त्यस ठाउँमा पहिले देवकोटाका मामाको आकर्षक वासस्थान थियो रे । त्यहीँ बसेर देवकोटाले छ महिनासम्म आफ्ना समय बिताउँदा उनले गरेका/ देखाएका विस्मयकारी घटनाहरूसँग संलग्न मानिसले सुनाउँदा म अचम्मित भएँ ।
अग्ला डाँडामा एकोहोरो कुदेर गई सिधै हाम्फाल्ने प्रयास गर्दा पछाडिबाट दौडेर गई च्याप्प समाउने मानिसहरू अहिले पनि जीवित रहेको र घटनालाई जस्ताका त्यस्तै सुनाउन सकेको सुन्दा अझ अचम्म लाग्यो । सालिकभन्दा तल्लो र वरिपरिको भागमा दुवौले चहुरसँगै फलामका अग्ला र त्यत्ति नै सुन्दर दुईतिर टावर वा टापुहरू छन् जहाँ बसेर यात्रुले झिल्टुङ्को मनमोहक प्राकृतिक दृश्यको अन्तर आनन्द लिन सजिलै सक्दछन् । सर्वबहुआयामिक अन्तर व्यक्तित्वको विश्व विशाल देवकोटाको निर्जीव प्रतिमूर्तिलाई आँखाभरि, मनभरि, दिलभरि अघाउन्जेल नियालेर ।
यता कोल्पुको स्वच्छ अवस्थामा छङ्छङाउँदो र भेल आउँदा गड्गडाउँदो ठाडो आवाजका भयानक गर्जन उता त्रिशूलीको ठीक यस्तै भेल आउँदा सारा यात्रुबाहक बससमेत आहारा बनाई सुरसाको पेट बनेको भयानक अवस्था, पवित्र अर्थात् सङ्लेको समयमा नीलो आकारसँगै नागबेली परेर बाँझा जमिन सिँच्दै उर्वर हरियालीको सौन्दर्य साकारमा बग्दै गरेको आकर्षक अनुहारबीचको अग्लो, अप्ठ्यारो तर सौम्य सुरम्य प्राकृतिक सौन्दर्यको सिरान यो स्थल रहेछ देवकोटाको मावली घर ।
प्रकृतिको अन्तर आँतभित्र पसेर हुनसक्छ प्रकृतिपुत्र देवकोटालाई लाग्यो होला अन्तर आनन्दको अनुभव गर्ने मन । तत्कालीन अवस्थाको कोलाहलमय काठमाडौं जहाँ खुलापन त थियो तर प्राकृतिक सहज मुस्कान थिएन । राणाराजको निरङ्कुश राजनीतिक बन्धन, सामान्य जनता चेतना आर्जनबाट पूर्णतः वञ्चित विमुख रहन विवश बेला स्थानगत हल्कापन भए पनि अनुभूतिगत उच्च र निद्र्वन्द्व उडानको अवस्था थिएन । यही अन्तर अनुभवको चेतनदीपले बोलाएर हुनसक्छ त्यो त्यस समय महाकविको मावलीगाउँ नुवाकोट कोल्पु र त्रिशलीको सिरान झिल्टुङ्मा छ महिनासम्मको लामो बसाइ सम्भव भएको ।
कुञ्जिनी खण्डकाव्यमा नायकत्व ग्रहण गर्ने गोरेको पैतृक अवस्था वर्तमानमा विद्यमान रहेका गोरेसँगै खाई खेली हुर्केका पछिल्लो तर जीवित पुस्ताबाट अनौठा अनुभव सुन्नु मेरा लागि त आश्चर्य थिएन अन्य मित्रहरू चकित भए । काव्यको सम्पूर्ण जीवन्त घटना सुन्दा देवकोटाले आफ्नो कल्पनात्मक शक्तिमार्फत जीवन र प्रकृतिलाई कसरी एकीभूत गरे गराएका रहेछन् भन्ने कुरा ती छलरहित मानिसका निश्चल आवाजमा सुन्दा एउटा समर्पित स्रष्टामा स्रष्टत्वमा अपरिहार्य हुनुपर्ने गुणको अद्भूत चमत्कार त्यहाँ अझ पनि पाउन सकिन्छ । अहिलेका टपरटुइँए सर्जकहरू, समालोचकहरू, भुइँफुट्टे गायक/गायिकाहरू, भट्टीका खुराक नखाई पाइला नचल्ने र ओठ नखुल्ने नर्तक/नर्तकीहरू त्यहाँ पुगेर यसलाई मनन् गरे सहजताका माधुर्य खोज्न न हिमालमा हुल लिएर कविता वाचनको नाटक भ्रष्ट नेताका आँखामा गर्नु/गराउनुपर्छ, न अन्तर साङ्गीतिक जादुले बाँसुरी बज्न बस्तादी कसरत गर्नुपर्छ ।
आस्था र विश्वासका आडमा अनन्त हाँक्नसक्ने हामीभित्रको हिम्मत जागृतिको शङ्खनादमा जागे विहङ्गम विश्व बिहान आफैँसँग भएको हुन्छ । जसले परम्परागत दासताका, सामन्तका काला फलामे साङ्ला छिनालेर अन्तर आवाजको सुनौलो संसारको खाजी गर्छ, गर्नमा रमाउँछ ऊ नै समाजको अघोषित मार्गदर्शक हो । मोहनी मुस्कान हो । मनमा धुर्यको सार्वकालिक, सार्वजनिन सौन्दर्यको बिहानी हो । महाकवि लक्ष्मीप्रसाद देवकोटा त्यसै आरम्भ बिन्दुका एक उज्याला तर चौतर्फी फैलिएका यस्ता सुनौला बिहान हुन् जसको आभा सधैँ आलोकित भइरहन्छ । अन्ध परम्पराका बन्धनमुक्त, पारिवारिक सङ्कीर्ण अति मोहका सीमामुक्त व्यक्तित्वको विशाल हृदय त्यो प्राकृतिक सौन्दर्यमा घुलेर अक्षरसँग उद्भाषित हुन्छ यसरी-
कोल्पुको कलकल तीरमा
गुलाफझाङ्गे भीरमा
तिनको झोपडी ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच