काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीले कसैले अर्कोविरुद्ध ‘नो नट अगेन’ भन्ने नारा प्रयोग गर्न नपाइने बताउनुभएको छ । शुक्रबार निर्वाचन आचारसंहिताबारे दलहरूसँगको छलफलका क्रममा उहाँले यस्तो बताउनुभयो । ‘कसैले पनि कसैकाविरुद्ध ‘नो नट अगेन’ भन्ने नारा लगाउन पाउँदैन । खराब नेता चाहिँ त्यही हो, ‘म चाहिँ जित्छु’ भनेर भन्न पाइँदैन’, उहाँले भन्नुभयो ।
उहाँका अनुसार उम्मेदवारहरूले आफ्नो नीति, उद्देश्य, घोषणापत्र र कार्यक्रम प्रचार गर्न पाउनुपर्छ र त्यस्तै अर्को उम्मेदवारलाई पनि समान अवसर प्राप्त हुनुपर्छ । ‘एउटा पक्षले अर्को पक्षलाई निषेधको राजनीति गर्न पाइँदैन’, उहाँले भन्नुभयो । यस्तै, पैसाको चलखेल वा अनियमितता भएमा आयोगमा जानकारी दिने प्रक्रियाबारे उहाँले भन्नुभयो, ‘च्याप्पै समातेर आयोगमा बुझाउने आवश्यकता छैन । केवल तथ्यांक र जानकारी दिँदा पुग्छ, वस्तुगत प्रमाण भए अझ राम्रो ।’
निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा निर्वाचनमा सामाजिक सञ्जालको अनुगमन नेपाली सेनाको सहयोगमा हुने जानकारी दिएको छ । आयोगका आयुक्त सगुन शमशेर जबराले दलहरूसँग आचारसंहिताका विषयमा भएको छलफलमा सामाजिक सञ्जालमा अनुगमनबारे जानकारी गराउनुभएको हो । उहाँले सामाजिक सञ्जाल अनुगमनका लागि वैदेशिक सहयोग भएको र नेपाली सेनाको उपकरणमार्फत निगरानी गर्ने बताउनुभयो । ‘चुनावमा सोसल मिडिया मनिटोरिङका लागि सामानहरू हामीलाई विदेशबाट सहयोग प्राप्त भएको छ’, उहाँले भन्नुभयोे, ‘नेपाली सेनाको टुल्समार्फत पनि हेर्छौँ । नेपालमा सबैभन्दा स्ट्रोङ टुल्स नेपाली सेनाको नै छ ।’
त्यस्तै, आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारलाई एकपटक स्पष्टीकरणको मौका दिने र स्पष्टीकरण चित्तबुझ्दो नआए कारबाही अघि बढ्ने उहाँले जानकारी गराउनुभयो । निर्वाचन आचारसंहिता उल्लंघन हुने सामग्री सामाजिक सञ्जालमा पोष्ट रोक्न फेसबुक (मेटा) र टिकटकसँग आयोगले सम्झौता गर्न लागेको पनि उहाँले जानकारी दिनुभयो ।
चुनावका लागि एक लाख ७२ हजार निर्वाचन प्रहरीको आवदेन
निर्वाचन प्रहरीका लागि बिहीबारसम्म एक लाख ७२ हजार ८७७ जनाको आवेदन परेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डिआइजी अविनारायण काफ्लेका अनुसार आवेदन दिने अन्तिम मितिसम्म एक लाख ७२ हजार ८७७ जनाले आवेदन दिएका हुन् । देशभरबाट नेपाल प्रहरीले एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्नाका लागि माग गरिएको थियो ।
सो क्रममा एक लाख ७२ हजार ८७७ जनाले आवेदन दिनुभयो । ३६ जिल्लामा भने मागभन्दा कम आवेदन परेको डिआइजी काफ्लेले बताउनुभयो । उहाँका अनुसार कम आवेदन परेका ३६ जिल्लामा पुनः दुई दिन म्याद थप गरेर आवेदन माग गरिएको छ । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि २४ पुसमा आवेदन खुलाइएको थियो । हिजो बिहीबारसम्म आवेदन दिने अन्तिम मिति थियो । यता, सशस्त्र प्रहरीले पनि निर्वाचन सुरक्षा प्रहरीका लागि छुट्टै भर्ना आह्वान गरेर अहिले आवेदन लिइरहेको छ ।
निर्वाचन प्रहरी छनोटमा पूर्वसुरक्षाकर्मी एवं पूर्ववन रक्षक, पछिल्लोपटक विभिन्न सुरक्षा निकायको भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरूलाई प्राथमिकता दिइने बताइएको छ । यसका साथै, यसअघिका निर्वाचनमा म्यादी प्रहरीका रूपमा भर्ना भई सन्तोषजनक रूपमा काम गरेका व्यक्ति र विदेशी राष्ट्रका सुरक्षा निकायमा काम गरी सेवा निवृत्त भएका नेपाली नागरिकले पनि प्राथमिकता पाउनेछन् ।




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच