काठमाडौं । नेपालका प्रमुख राजनीतिक दलहरूले सबैभन्दा पुरानो दल नेपाली कांग्रेसको विभाजनले राष्ट्रिय रानजीतिमै नकारात्मक प्रभाव पर्ने प्रतिक्रिया दिएका छन् । कांग्रेस विभाजनले आगामी निर्वाचन प्रभावित हुनेदेखि लोकतन्त्र कमजोर हुने उनीहरूको ठहर छ । प्रायः सबैजसो दलहरूले कांग्रेस विभाजनमा दुःख व्यक्त गरेका छन् । नेकपा एमालेले कांग्रेसको फुटले लोकतन्त्र कमजोर हुनसक्ने आँकलन गरेको छ ।
नेकपा एमालेका सचिव महेश बस्नेतले देश राजनीतिक अस्थिरता र अनिश्चितताको चरणमा रहेको बेला कांग्रेसभित्र देखिएको विभाजन अत्यन्तै दुःखद र चिन्ताजनक भएको बताउनुभयो । लोकतन्त्रको मर्म जोगाउन एकजुट हुनुपर्ने समयमा कांग्रेस विभाजित हुनु दुर्भाग्यपूर्ण भएको उहाँको भनाइ छ । ‘लासहरूको पार्टी हैन कांग्रेस भन्दै उफ्रिने केही नेताहरूले ऐतिहासिक लोकतान्त्रिक पार्टीलाई खरानी बनाउने बाटो रोज्नु दुर्भाग्यपूर्ण छ’, उहाँले भन्नुभयो ।
यसैगरी, नेपाली कम्युनिष्ट पार्टीका नेता अग्निप्रसाद सापकोटाले फुटले कसैलाई पनि फाइदा नहुने बताउनुभयो । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचिवालय सदस्य दीपक बोहराले पनि कांग्रेस विभाजनले लोकतन्त्रलाई असर गर्नसक्ने बताउनुभयो । एउटा लोकतान्त्रिक पार्टी फुटको अवस्थामा पुग्नु राम्रो नभएको उहाँको भनाइ छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन पनि कांग्रेसको फुटले राष्ट्रिय राजनीतिक प्रभावित हुनसक्ने चिन्ता व्यक्त गर्नुभयो । फुटले राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने उहाँको भनाइ छ ।
अनावश्यक विवाद निकालेर कांग्रेस फुटाइयो : ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसको विभाजन गर्ने प्रयास लोकतन्त्र कमजोर पार्ने खेल भएको बताउनुभएको छ । राजधानी प्रदेश कमिटी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कांग्रेस लोकतन्त्र ल्याउने र बचाउने ठूलो शक्ति भएको हुँदा बाह्य तत्वले पार्टी कमजोर पार्न खोजेको तर्क गर्नुभयो । समाजलाई अराजकतातर्फ लग्न खोजिएको भन्दै प्रजातन्त्र कमजोर पार्ने तत्व हावी भएको उहाँको दाबी थियो ।
कांग्रेसभित्रको विवाद समाधान गर्ने स्पष्ट कानुन र ऐन भएको हुँदा निर्वाचन आयोगले तलमाथि गर्नै नपर्ने जिकिर ओलीले गर्नुभयो । ‘के निर्णय गर्ने भन्ने कुरा कानुनसम्मत स्पष्ट छ । तर, विशेष महाधिवेशन किन भनेको ? नेपाली कांग्रेसको महाधिवेशन नभनेर विशेष किन भनेको ?’, ओलीले भन्नुभयो, ‘महाधिवेशनको मिति तोकिसकिएको छ । कसले बोलाउने भन्ने पनि थिति होला नि त । बहुमत÷अल्पमतको टुंगो गर्ने नि थिति होला नि त । कसैले सडकमा बहुमत पुर्याएँ भनेको भरमा बहुमत पुग्छ त ? जानी बुझीकन यो काम गरिएको छ । डेमोक्रेसी मिचिएको बेला सबैले एकजुट भएर असंवैधानिक कदम सच्याएर डेमोक्रेसी फिर्ता ल्याउनुपर्ने बेलामा कांग्रेसभित्र अनावश्यक विवाद निकालेर फुटाइएको छ ।’
ओलीले लोकतन्त्र बच्यो भने मात्रै प्रतिस्पर्धा गर्ने भन्दै लोकतान्त्रिक शक्तिमाथिको आक्रमणविरुद्ध एकजुट हुनुपर्ने बेला भएको बताउनुभयो । यसअघि ओलीले बिहीबार आफ्नो पार्टी पनि फुटाउने प्रयास भएपछि एक वर्षअघि नै महाधिवेशन गरेर जोगाएको बताउनुभएको थियो ।
कांग्रेसबाट शेरबहादुर देउवालाई जस्तै आफूलाई पनि हटाउन प्रयास भएपछि महाधिवेशनले फैसला गरेको उहाँले बताउनुभयो । ‘कांग्रेसमा अहिले जे भइरहेको छ, हाम्रो पार्टीमा पनि त्यही गर्न खोजेका थिए, एक वर्षअघि नै महाधिवेशन गरेर हल्लाहरूको तुवाँलो चिरेर, शेरबहादुरलाई अहिले बलजफ्ती निष्कासन भनेका छन् नि त्यस्तै हाम्रो पार्टीमा पनि गर्न खोजेका थिए, कारबाही हुनुपर्छ, जिम्मेवार हुनुपर्छ यो अनुहार अगाडि लगाएर हिँड्न सकिँदैन भनेकै थिए’, उहाँले भन्नुभएको थियो ।
निर्वाचनको मुखमा ठूलो पार्टी विभाजन हुनु राम्रो होइन : प्रचण्ड
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसको फुटका कारण निर्वाचनलाई कुनै असर नपर्ने बताउनुभएको छ । शुक्रबार चितवनमा भरतपुर महानगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै प्रचण्डले कांग्रेस विभाजनपछि निर्वाचन के होला ? भन्ने प्रश्न उब्जिएको भन्दै चुनावलाई असर पर्ने कुनै सम्भावना नरहेको बताउनुभएको हो । निर्वाचनको मुखमा ठूलो पार्टी विभाजन हुनु कसैको लागि राम्रो नभएको उहाँको भनाइ थियो । प्रचण्डले सरकारका प्रतिनिधि र निर्वाचन आयोगलगायत सुरक्षा निकायसँग कुरा गर्दा कांग्रेसका कारण निर्वाचनमा असर नपर्ने जवाफ पाएको उल्लेख गर्नुभयो । सबै पार्टीहरू निर्वाचनतिर नै केन्द्रित भएकाले निर्वाचन हुनेमा ढुक्क हुन प्रचण्डले आग्रह गर्नुभयो ।
कांग्रेसबाट पुराना दलहरूको पुनर्संरचना सुरुवात भयो : डा. भट्टराई
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएपछि अन्य दलहरूमा पनि पुनर्संरचनामा बल पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । पुराना राजनीतिक दलहरूको समयानुकूल पुनर्संरचना सुरु भएको उहाँको भनाइ छ । भट्टराईले भन्नुभएको छ, ‘पुराना राजनीतिक दलहरूको समयानुकूल पुनर्संरचना कार्यको सुरुवात नेपाली कांग्रेसबाट सफलतापूर्वक सम्पन्न गरेकोमा नवनिर्वाचित सभापति गगनकुमार थापा र टिमलाई हार्दिक बधाई तथा शुभकामना ।’ नयाँ तथा वैकल्पिक राजनीतिक शक्ति र पुनर्संरचित दलबीच स्वस्थ प्रतिस्पर्धा र सहकार्य आवश्यक रहेको उहाँले बताउनुभयो । यसले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउने उहाँको धारणा छ । ‘यसले अन्य दलहरूको अग्रगामी पुनर्संरचनामा पनि बल पु¥याओस् र देशमा नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरू र पुनर्संरचित दलहरूबीचको स्वस्थ प्रतिस्पर्धा र सहकार्यले देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको जग अझै बलियो बनोस् सबैमा विशेष शुभकामना ।’




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच