नेपालगञ्ज । डिभिजन वन कार्यालय सल्यानले बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा निरन्तर मानिसको ज्यान लिइरहेको पाटेबाघ कानुन बमोजिम नियन्त्रण लिन वा मार्न बाँके राष्ट्रिय निकुञ्जलाई आदेश दिएको छ ।
निकुञ्जको कार्यक्षेत्र रहेको सल्यानमा एकसातामै बाघले तीनजनाको ज्यान लिएपछि त्यहाँका नागरिक त्रासमा छन् । कालिमाटी गाउँपालिका–६ र ७ स्थित घुइयावारी क्षेत्रमा पाटेबाघको बिगबिगी बढेपछि सल्यानको कालीमाटी गाउँपालिकाले प्रचलित कानुन बमोजिम बाघ मार्ने आदेश तत्काल जारी गर्न माग गरेको थियो । गाउँपालिकाको मागपछि कार्यालयले बाँके राष्ट्रि निकुञ्जलाई बाघ मार्ने आदेश जारी गरेको छ । डिभिजन वन कार्यालय, सल्यानका कार्यालय प्रमुख टेकबहादुर रावलले बाँके राष्ट्रिय निकुञ्जलाई पत्राचार गर्दै पाटेबाघलाई पक्रन वा मार्न जारी भएको आदेश कार्यान्वयनका लागि अनुरोध गरेको बताउनुभयो ।
कार्यालयले निकुञ्जलाई लेखेको पत्रमा भनिएको छ,‘राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ (पाँचौँ संशोधन सहित) को दफा १० ‘क’ र ‘ख’ तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० (पाँचौँ संशोधन सहित) को नियम ३६ क बमोजिम गठित सिफारिस समितिको सिफारिसका आधारमा उक्त पाटेबाघलाई पक्रन वा मार्न आदेश जारी गरिएको हो ।’
उहाँले त्यस क्षेत्रको क्षतिको अवस्था, स्थानीय नागरिकहरुको माग र प्रचलित कानुनमा टेकेर आदेश जारी गरिएको बताउनुभयो । विगत एक साताको अवधिमा पाटेबाघले स्थानीय धनसरा रावत र चन्द्रबहादुर खप्तडी मगरसहित तीन जनाको ज्यान लिएको छ भने दुई वटा घरपालुवा पशु गोरु र गाईलाई आक्रमण गरी मारेर खाएको थियो । आतंकित बनेको भन्दै बाघ नियन्त्रण वा मार्ने आदेशका लागि सिफारिस गरिएको थियो ।यसैबीच, कालिमाटी गाउँपालिकाले बाघको आक्रमणबाट ज्यान गुमाएका दुई व्यक्तिको परिवारलाई राहत उपलब्ध गराएको छ । पुस २५ गते कालिमाटी–७ मा ४२ वर्षीय धनसरी रावत र पुस २९ गते मंगलबार वडा नम्बर–६ हात्तीढुंगामा ६६ वर्षीय चन्द्रबहादुर खप्तडीको बाघको आक्रमणबाट ज्यान गएको थियो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच