काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई मान्यता दिएको छ । शुक्रबार बसेको आयोगको बैठकले विशेष महाधिवेशनलाई कानुन र विधानसम्मत् ठहर गरेको हो । आयोगको निर्णयसँगै विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको कार्यसमितिले पनि वैधानिकता पाएको छ । निर्वाचित पदाधिकारीको विवरण पनि आयोगले अद्यावधिक गरेसँगै कांग्रेसको वैधानिकता विवाद तत्काललाई टुंगिएको छ । अब थापा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस बनेको हो । यद्यपि, आयोगको निर्णयमा निवर्तमान सभापति शेरबहदुर देउवा नेतृत्वको तत्कालीन संस्थापन पक्षले असहमति जनाएको छ । आयोगको निर्णयपछि असन्तुष्ट देउवा पक्ष सर्वोच्च अदालत जाने बाटो भने खुला छ । अब प्रत्यक्ष मनोनयनदेखि अरू काम कारबाहीमा गगन नेतृत्वको कार्यसमितिले गर्ने निर्णय र काम कारबाही आधिकारिक मानिनेछ ।
आयोगले ४० प्रतिशतले महाधिवेशन माग गर्न पाउने र त्यो मागअनुसार महाधिवेशन आयोजना गर्नुपर्ने बाध्यात्मक व्यवस्था, विधानतः महाधिवेशन प्रतिनिधि नै सर्वोच्च प्रतिनिधि र विशेष महाधिवेशन माग गरेको विषयमा कसैको विमति नदेखिएको भन्दै त्यसलाई मान्यता दिएको हो ।
गत २७-३० पुससम्म भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनले थापालाई पार्टी सभापतिमा चयन गरेको थियो । विशेष महाधिवेशनबाट निर्वाचित सभापति थापासहित नयाँ कार्यसमितिले पार्टीका विवरण अद्यावधिक गर्न निवेदन दिएको थियो भने शेरबहादुर देउवा पक्षले उक्त निवेदनको विपक्षमा निवेदन दिएको थियो । विवादबारे कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका आयुक्तहरू सगुनशमशेर जबरा, जानकी तुलाधर र आयोगका सचिवले छलफल गरेका थिए । कांग्रेस आन्तरिक विवाद निरूपण गर्ने क्रममा निर्वाचन आयोगका आयुक्तहरू विभाजित भएका थिए । आयोग उच्च स्रोतका अनुसार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र आयुक्त सगुन शमशेर राणा विशेष महाधिवेशनका पक्षमा देखिँदा आयुक्त जानकी तुलाधर विपक्षमा रहनुभएको थियो । आयुक्तहरू विभाजित भएपछि बहुमतका आधारमा निर्णय गरिएको हो । विशेष महाधिवेशनले विधानमा केही महत्वपूर्ण परिवर्तन गर्ने दस्तावेज पनि पारित गरेको थियो ।
गत भदौ २३ र २४ को जेन-जी आन्दोलनपछि नेपाली कांग्रेसभित्र नीति र नेतृत्व परिवर्तनको मुद्दा चुलिएको थियो । त्यसैक्रममा विशेष महाधिवेशन गर्ने कि चुनाव अगाडि नियमित महाधिवेशन गर्ने भन्ने विवाद सुरु भएको थियो । त्यही विवादबीच ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका थिए । पार्टी विधानअनुसार कम्तीमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी माग गरे तीन महिनाभित्र विशेष महाधिवेशन डाक्नुपर्ने व्यवस्था छ । तर, तत्कालीन पार्टी सभापति शेरबहादुर देउवालगायत संस्थापन पक्षका नेता विशेष महाधिवेशन डाक्न तयार भएनन् । अनि, विशेष महाधिवेशन पक्षधरले भृकुटीमण्डपमा दोस्रो विशेष महाधिवेशन आयोजना गरेको थियो । विशेष महाधिवेशनमा कुल प्रतिनिधि संख्या चार हजार ६३५ मध्ये दुई हजार ६५२ जना उपस्थित थिए ।
तत्कालीन महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाधिवेशन आयोजना भएपछि तत्कालीन संस्थापन पक्षले कार्यवाहक सभापति खड्काले गगन थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । त्यसलगत्तै विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको थियो । त्यसपछि दुवै पक्षबीच आधिकारिकता विवाद चुलिएको थियो । दुवै पक्ष आधिकारिकता दाबी गर्दै आयोग पुगेका थिए । उनीहरू शुक्रबार पनि आयोग पुगेका थिए ।
गगनलाई भावी प्रधानमन्त्री अघि सार्दै निर्वाचनमा होमिने
कांग्रेस अब सभापति गगन थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै आगामी निर्वाचनमा सहभागी हुने भएको छ । पार्टीका उपसभापति विश्वप्रकाश शर्माले थापालाई भावी प्रधानमन्त्रीका रूपमा आगामी चुनावमा जाने घोषणा गर्नुभएको हो । ‘हामीले प्रधानमन्त्रीका लागि नेपाली कांग्रेस पार्टीको छलफल हुँदै गर्दा प्रधानमन्त्रीको कोही उम्मेदवार बनाऊँ भनेका थियौँ, ताकि देशलाई प्रष्ट सन्देश दिन सकियोस् । हामीले गगन थापालाई नै तोकेर जाऊँ भनेका थिएनौँ,’ उपसभापति शर्माले भन्नुभयो, ‘तर आज म नेपाली कांग्रेस पार्टीको उपसभापतिका रूपमा देशभरिको पार्टी पंक्तिलाई छलफलमा जोड्दै गर्दा तपाईंहरूको मनमा रहेको नाम भनेको गगनकुमार थापा हो भन्ने मैले थाहा पाएको छु । त्यसैले कांग्रेस एउटा ऊर्जाका साथ, उज्यालो दृष्टिकोणका साथ अगाडि जाँदै गर्दा पार्टीका सभापतिलाई नै प्रधानमन्त्री बनाउने गरी हामी जान्छौँ ।’ अब कांग्रेस पार्टीले जेन-जी आन्दोलनले माग गरेको सुशासन प्रत्याभूत गर्ने संकल्प पनि उहाँले व्यक्त गर्नुभयो । विगतमा भएका कमी-कमजोरीका लागि आत्मालोचित हुँदै त्यसलाई सच्याएर अघि बढ्ने उहाँको भनाइ छ ।
अब आवेग बिर्सेर एकताबद्ध भएर अघि बढ्नुपर्छ : उपसभापति शर्मा
कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले अब नवीन कांग्रेसको सुरुवात भएको प्रतिक्रिया दिनुभएको छ । आयोगले विशेष महाधिवेशनलाई मान्यता दिएसँगै सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै उहाँले अब आवेग बिर्सेर एकतावद्ध भएर अघि बढ्न आह्वान गर्नुभएको हो । ‘सबै अग्रज नेताहरूलाई अनुरोध गर्न चाहन्छु, विधि र प्रक्रियाको बाटोबाट जे निर्णय भएको छ, यसबाट नवीन कांग्रेसको सुरुवात भएको छ,’ उहाँले भन्नुभयो, ‘अब आवेग बिर्सनुपर्छ, एकताबद्ध भएर अगाडि बढ्नुपर्छ ।’
शर्माले अबका दिनमा विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने र नगर्नेहरू बीचको दरार र दूरी नराखी पार्टीलाई अगाडि बढाउने बताउनुभयो । ‘जो बदलिन्छन्, उनीहरूले बदल्न सक्छन् । हामीले पनि अब बदल्ने संकल्प लिनुपर्छ,’ उहाँले भन्नुभयो, ‘विशेष महाधिवेशनमा जसले हस्ताक्षर गरे पनि वा नगरे पनि हामीबीच अब त्यो दरार र दूरी रहनु हुँदैन । एकथरि साथीहरूले सार्थक हस्तक्षेप गरिसकेको छ । अर्काथरिले पनि हस्तक्षेप गर्ने बेला आएको छ ।’
देउवा पक्षद्वारा आयोगको निर्णय अस्वीकार
नेपाली कांग्रेसको निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशनलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय अस्वीकार गर्ने भएको छ । देउवा पक्षका नेता पूर्णबहादुर खड्काले निर्वाचन आयोगले षड्यन्त्रपूर्वक निर्णय मान्य नहुने बताउनुभयो । आफूहरूले कानुनी र राजनीतिक दुवै लडाइँ लड्ने उहाँले बताउनुभयो । ‘हामी वैधानिक कानुनी लडाइँ सबै लड्छौँ । यो निर्णय धेरै समय अघिदेखि नै सेटिङ भएको भनिएका छन्,’ उहाँले पत्रकारहरूसँग भन्नुभयो, ‘एकपक्षले दाबी गरेको आधारमा गरिएको निर्णय प्रक्रियागत रूपमा त्रुटिपूर्ण छ । नेपाली कांग्रेसको विधानविपरीत निर्णय आएको छ । यो पूर्णरूपमा षड्यन्त्रपूर्ण निर्णय आएको छ । षड्यन्त्रपूर्वक भएको निर्णय खारेज गर्छौं । सभापति शेरबहादुर देउवाको नेतृत्वको कांग्रेस केन्द्रीय कार्यसमिति यथावत् छ ।’ उहाँले निर्वाचन आयोगले आधिकारिक रूपमा निर्वाचित समितिलाई एकपटक नबोलाई निर्णय गरेकोमा असन्तुष्टि जनाउनुभयो । आयोगको निर्णयमा असहमति जनाएको देउवा पक्ष अब कानुनी लडाइँका लागि सर्वोच्च अदालत जान सक्नेछ । आयोगको निर्णय आएपछि देउवा पक्षका कार्यकर्ताहरूले निर्वाचन आयोगविरुद्ध नाराबाजीसमेत गरेका थिए । उनीहरूले निर्वाचन अधिकृतको राजनीमा माग गर्दै प्रदर्शन गरेका थिए ।
देउवा पक्षले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । देउवा पक्षका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनमा शनिबार बिहान ८ बजेका लागि सानेपामा बैठक आह्वान गरिएको हो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेशका कार्यसमिति सभापतिहरूलाई अनिवार्य उपस्थित हुन भनिएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीको वर्तमान अवस्था र निर्वाचन आयोगको पछिल्लो निर्णयका बारेमा छलफल गर्न बैठक बोलाइएको हो ।
निर्वाचन आयोगको निर्णय मान्न सकिँदैन : प्रकाशशरण महत
शेरबहादुर देउवा पक्षका नेता डा. प्रकाशशरण महतले पार्टीको आधिकारिकता गगन थापा नेतृत्वलाई दिने निर्वाचन आयोगको निर्णय मान्न नसकिने बताउनुभएको छ । आयोगको निर्णय सार्वजनिक भएलगत्तै महतले पार्टीको विधानलाई आयोगले नजरअन्दाज गरेको भन्दै आपत्ति जनाउनुभयो । ‘आयोगको निर्णयमा दलसम्बन्धी नियम, पार्टीको विधानलाई नजरअन्दाज गरिएको छ । यो निर्णय मान्न सकिँदैन’, उहाँले भन्नुभयो । कांग्रेसका निवर्तमान प्रवक्तासमेत रहनुभएका महतले आयोगले निर्णय लिने बेला आफूहरूसँग परामर्शसमेत नगरेको आरोप लगाउनुभयो । ‘आयोगले हामीलाई आधिकारिक रूपमा बोलाउँदा पनि बोलाएन । पहिल्यैदेखि नियोजित थियो । हाम्रो आधारलाई सुन्ने रहेनछ,’ महतले भन्नुभयो ।
नवीन ऊर्जा र एकतासहित अगाडि बढ्न सभापति थापाको अपिल
कांग्रेस सभापति गगनकुमार थापाले पार्टीभित्र गुटगत राजनीति र सत्ताका लागि गरिने अप्राकृतिक गठबन्धनको युग अन्त्य भएको घोषणा गर्नुभएको छ । शुक्रबार अबेर राति एक विशेष अपिल जारी गर्दै थापाले कांग्रेस अब आफ्नै मूल्य, मान्यता र आदर्शको ‘मूल जरा’मा फर्किएको बताउनुभएको हो । ‘पार्टी नेताको चाहनाले मात्र होइन, आम सदस्यको चाहनाले चल्छ भन्ने कुरा यसले स्थापित गरेको छ,’ अपिलमा भनिएको छ, ‘यो सार्थक परिवर्तन र देशको समुन्नतिका लागि हामीले गरेको इमानदार प्रयत्नको साझा प्रतिफल हो ।’
अपिलमा थापाले विशेष महाधिवेशनमा सहभागी भएका वा नभएका, सहमत वा असहमत सबै तहका नेता-कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न आग्रह गर्नुभएको छ । उहाँले यसलाई कसैको हार वा जितको रूपमा नलिन र कुनै अलमलमा नपर्नसमेत अपिल गर्नुभएको छ । पूर्वसभापति शेरबहादुर देउवालगायत नेताहरूबाट यो लोकतान्त्रिक प्रक्रियालाई सहज रूपमा लिई पूर्णसाथ रहने उहाँले विश्वाससमेत व्यक्त गर्नुभएको छ । ‘आजबाट कांग्रेसमा कुनै गुट छैन, गुटगत भागबण्डा हुने छैन र लाग्ने छैन । जिम्मेवारी फरक होला, तर भुइँ तहमा रहेका सदस्य र केन्द्रीय सभापतिको हैसियत समान हुनेछ,’ उहाँले भन्नुभएको छ, ‘अब कांग्रेसले मूल्य र सिद्धान्तविपरीत गएर कुनै सम्झौता गर्ने छैन । विश्वास र भरोसा राख्नुहोस् अब कांग्रेस नवीन ऊर्जा र एकतासहित रूपान्तरणको दिशामा अगाडि बढेको छ ।’




बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच