नवलपरासी । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि शुक्रबार नवलपरासीको सदरमुकाम परासी र बर्दघाटमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।
जिल्लामा दुई निर्वाचन क्षेत्र रहेका छन् । परासीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ भने सोही कार्यालयभित्र निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालयसमेत सञ्चालनमा ल्याइएको छ। यसअघि करदाता सेवा कार्यालय रहेको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
निर्वाचन क्षेत्र नम्बर १ का लागि बर्दघाट नगरपालिकाको कार्यालय परिसरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । कार्यालय स्थापना कार्यक्रममा मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, जिल्ला निर्वाचन अधिकारी तथा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो। मुख्य निर्वाचन अधिकृतको कार्यालय परासीका अनुसार हाल निर्वाचन कार्य सञ्चालनका लागि हरेक निर्वाचन अधिकृतको कार्यालयमा नौ जनाका दरले कर्मचारी खटाइएको छ ।
आगामी निर्वाचन सम्पन्न गर्न नवलपरासी जिल्ला न्यायाधीश डा। राजेन्द्रकुमार आचार्यलाई मुख्य निर्वाचन अधिकृत र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा कार्यरत उपसचिव इन्दुदेवी न्यौपानेलाई निर्वाचन अधिकृतको जिम्मेवारी तोकिएको छ । निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसके पनि मतगणना स्थल भने पछि तय गरिने प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिनुभयो ।
जिल्लामा निर्वाचनका लागि १२२ वटा मतदान स्थल र २९७ वटा मतदान केन्द्र तोकिएको छ । कुल २ लाख ५४ हजार १५७ मतदाता रहेको नवलपरासीमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको उम्मेदवारी मनोनयन माघ ६ गते मंगलबार हुने छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच