पाल्पा । फागुन २१ हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै पाल्पामा तयारी तीव्र पारिएको छ । यहाँ मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नेदेखि आवश्यक कर्मचारी व्यवस्थापनको काम सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यहाँको तानसेनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला निर्वाचन कार्यालय पाल्पाका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालय तानसेनस्थित पाल्पा दरबारमा स्थापना गरिएको हो ।
कार्यालयको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायधीश हरिप्रसाद शर्मा उपाध्यय पंगेनीले उद्घाटन गर्नुभएको हो । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचन अधिकृतको कार्यालय भने रामपुरमा स्थापना गरिएको छ । पाल्पामा दुई वटा निर्वाचन क्षेत्र मात्र रहेका छन् ।
निर्वाचन आयोगले पाल्पा क्षेत्र नं. २ तथा मुख्य निर्वाचन अधिकृतको रुपमा न्यायधिस पंगेनीलाई खटाएको छ भने क्षेत्र नं. १ को निर्वाचन अधिकृतमा दशरथ पंगेनीलाई जिम्मेवारी दिएको छ । दुई वटै निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनको लागि कर्मचारी नियुक्तिको काम समेत गरिसेका छन् । माघ ६ गते हुने उम्मेदवार मनोनयनको लागि आवश्यक कर्मचारीहरु काममा खटिसकेका छन् । निर्वाचन आयोगको निर्वाचन तालिका अनुसार पाल्पाका दुई वटै निर्वाचन क्षेत्रको लागि माघ २ गते देखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचनको तालिका अनुसार काममा खटिएको मुख्य निर्वाचन अधिकृत पंगेनीले बताउनुभयो ।
यहाँको क्षेत्र नंं १ मा ९८ हजार ३ सय ८३ जना मतदाता रहेका छन् । जहाँ मतदानस्थल ५२ वटा, मतदान केन्द्र एक सय १७ वटा रहेको मुख्य निर्वाचनको कार्यालयले जनाएको छ । यस्तै क्षेत्र नं. २ मा एक लाख ९ हजार ५३ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय पाल्पाका निर्वाचन अधिकारी महेश शर्माले बताउनुभयो । यहाँ एक सय १८ वटा मतदानस्थल र दुई सय ५१ वटा मतदान केन्द्र रहेका छन् ।
माघ ६ गतेको उम्मेदवार मनोनयनको लागि दुबै निर्वाचन अधिकृतको कार्यालयले माघ ५ गते सर्वदलिय बैठकको आह्वान गरेका छन् । पाल्पामा निर्वाचन प्रहरीको लागि १ हजार ४ सय १८ जनाको माग भएकोमा माघ १ गते सम्म ९ सय ९० जनाको आवेदन परेकोमा थप जनशक्तिको लागि माघ ३ गते सम्म म्याद थपिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होम प्रकाश चौधरीले बताउनुभयो ।
निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारको मनोनयन दर्ता माघ ६ गते बिहान १० देखि साँझ ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ । मनोनयन दर्ता भएका उम्मेदवारको सूची सोही दिन साँझ ५ बजेदेखि ७ बजेसम्म प्रकाशन गरिनेछ । उम्मेदवारविरुद्ध उजुरी दिने समय माघ ७ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म तोकिएको छ भने उजुरीमाथि जाँचबुझ गरी निर्णय माघ ७ र ८ गते दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म गरिनेछ ।
यसैगरी उम्मेदवारको नामावली प्रकाशन माघ ८ गते साँझ ५ देखि ७ बजेसम्म, उम्मेदवारको नाम फिर्ता लिने समय माघ ९ गते बिहान १० देखि दिउँसो १ बजेसम्म र अन्तिम नामावली प्रकाशन माघ ९ गते दिउँसो १ देखि ३ बजेसम्म हुनेछ । उम्मेदवारलाई निर्वाचन चिन्ह माघ ९ गते बेलुका ४ देखि साँझ ७ बजेसम्म प्रदान गरिनेछ । मतदान भने फागुन २१ गते बिहान ७ देखि साँझ ५ बजेसम्म हुनेछ । मुख्य निर्वाचन अधिकृतको कार्यालयको नेतृत्व जिल्ला अदालतका मुख्य न्यायाधीशले गर्नेगरी व्यवस्था गरिएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच