काठमाडौं । राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले स्रष्टा अधिकार र संगीत बजारका विकृति न्यूनीकरणबारे छलफल गरेको छ । प्रतिष्ठानले काठमाडौंमा एक कार्यक्रमबीच सल्लाहकार मनोनयन, स्रष्टा अधिकार तथा वर्तमान गीतसंगीत बजारमा विकृति र विसंगतिहरूको न्यूनीकरणका लागि छलफल गरेको हो ।
कार्यक्रममा प्रतिलिपि अधिकार कार्यालयकी प्रमुख रजिष्ट्रार सबिता कार्की प्रमुख अतिथि रहनुभएको थियो भने संस्थाका अध्यक्ष नारायणबहादुर थापाको सभापतित्व तथा महासचिव सनम कठायतको संयोजन रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि कार्कीले स्रष्टा हकअधिकारसम्बन्धी कानुनको संशोधित मस्यौदा तयार भइसकेको जानकारी दिँदै यसको प्रभावकारी कार्यान्वयनका लागि स्रष्टाहरू स्वयं सचेत भई सरकारलाई दबाब दिनुपर्ने आवश्यकता औंल्याउनुभयो । प्रतिलिपि अधिकारका विविध पक्षबारे प्रकाश पार्दै उहाँले यस्ता कार्यक्रमले स्रष्टा अधिकारको संरक्षण, समस्या पहिचान र समाधानमा सरकार र स्रष्टाबीच पुलको भूमिका खेल्ने बताउनुभयो ।
संस्थाका सल्लाहकार तथा रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीले रोयल्टी संकलन र वितरणका विविध पक्षबारे चर्चा गर्नुभएको थियो । त्यसैगरी संस्थाका वरिष्ठ उपाध्यक्ष दीपक शर्मा, सल्लाहकार टेक तामाङ, रोयल्टी संकलन समाजका महासचिव वसन्त सापकोटा, संगीतकार संघका अध्यक्ष अष्ट लामा, गम्बु शेर्पालगायत वक्ताहरूले गीतसंगीत क्षेत्रमा देखिएका विकृति र विसंगति, त्यसका निराकरणका उपाय, स्रष्टा अधिकार, रोयल्टी व्यवस्थापनका चुनौती तथा पछिल्लो समय तीव्र रूपमा विकास भइरहेको एआई प्रविधिका अवसर र चुनौतीबारे धारणा राख्नुभएको थियो ।
कार्यक्रममा संस्थाभित्रका कार्यसमिति पदाधिकारीसहित ललितकलाका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो । सो अवसरमा कार्यसमितिको निर्णयानुसार विधानबमोजिम मनोनयन गरिएका सल्लाहकारहरूलाई मनोनयनपत्र प्रदान गरिएको थियो ।
कार्यक्रमको समापन गर्दै अध्यक्ष नारायणबहादुर थापाले यस्ता कार्यक्रमले स्रष्टा हकहितको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्दै आगामी दिनमा यसलाई निरन्तर दिने प्रतिबद्धता जनाउनुभयो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच