नेपाली कांग्रेसभित्र लामो समयदेखि चल्दै आएको विवादले अन्ततः निर्वाचन आयोगको निर्णयबाट निकास पाए पनि कठिन परीक्षाको घडीमा उभिएको छ । निर्वाचन आयोगले मूल नेतृत्वविरुद्ध विद्रोह गर्दै आयोजित विशेष महाधिवेशनमार्फत गठित गगन थापा नेतृत्वको पक्षलाई नेपाली कांग्रेसको आधिकारिकता प्रदान गरेको छ । पार्टीको चारतारे झण्डा र चुनाव चिह्न रूख दिने निर्णयसँगै यो विवाद कानुनी र संस्थागत हिसाबले टुंगिएको सबैको अनुभव छ । यस निर्णयले पार्टीभित्रको अन्योल र द्विविधालाई समाप्त पारेजस्तो देखिन्छ । तर देउवाको नेतृत्वमा रहेको र नियमित महाधिवेशनको पक्षले अझै यसलाई स्वीकार नगर्ने अडान लिएकोले सोचेजस्तो सहज अवस्था देखिँदैन ।
न्यायिक, राजनीतिक तथा अन्य सबै उपाय अवलम्बन गर्ने उनीहरूले घोषणा गरेको छ । तर यस्तो घोषणाले भोलि कांग्रेसको राजनीति, लोकतान्त्रिक प्रणाली र देशको स्वार्थप्रति कति र कुन रूपमा प्रभाव पार्ने हो त्यो अहिल्यै मूल्यांकन गर्नु सम्भव हुँदैन । त्यसमा पनि नवगठित थापा नेतृत्वले हिजो आफूले गरेको आलोचना, निरन्तरको असहमति, प्रकट विरोध र यसको समाधान गर्ने पार्टी सभापतिको जिम्मेदारी मुख्य हुन् भन्ने चिन्तनको उत्तर दिने भूमिकामा नवनेतृत्व पुगेको अवस्था छ । किनकि आफूले गरेको काम सही र अर्काको गलत देख्ने मानवीय प्रवृत्ति सर्वत्र छ र राजनीति क्षेत्रमा झन् तीव्र रूपमा देखिन्छ ।
कांग्रेसभित्रको विवाद कुनै एकाएक उत्पन्न भएको घटना होइन । विगत केही समयदेखि चुलिँदै आएको असन्तुष्टि र नेतृत्वप्रति बढ्दो प्रश्नले गर्दा यो विवाद उत्कर्षमा पुगेको हो । गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्री रहेको समूहले पार्टीमा विधि, विधान र समयानुकूल सुधार आवश्यक भएको भन्दै विशेष महाधिवेशनको मागअघि सारेका थिए । उनीहरूको यो मागमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित प्रस्तुत गरिएको मजबुत र वैधानिक दाबीकासाथ थियो । प्रत्यक्षमा यति ठूलो समर्थनसहित आएको प्रस्तावलाई देउवा पक्षले गम्भीरतापूर्वक लिनुपर्ने थियो, तर त्यसलाई हलुका रूपमा लिएको देखियो । अझ अन्तिम समयसम्म देउवा पक्ष ढुक्क भएर सम्वादको धरो जोड्दै समय व्यतीत गरिरहेको थियो । तर नियतिले अर्को भान्सा तयार पारी भोजनसमेत पस्कन लागेको देउवाका सहकर्मी कसैले पत्तो नै पाएनन् ।
देउवा पक्षले विशेष महाधिवेशनको सट्टा नियमित महाधिवेशनको मिति घोषणा गर्दै विषयलाई टार्ने प्रयास नगरेको होइन । नियमित महाधिवेशनको समय पनि पूरा भइसकेको सन्दर्भमा त्यो घोषणा स्वाभाविक देखिए पनि पछि त्यसलाई सारिँदै अन्ततः आगामी वैशाखसम्म पु¥याइयो । यही ढिलासुस्ती र अनिश्चितताले गगन थापा पक्षलाई जसरी पनि महाधिवेशन गर्ने निष्कर्षमा पुर्याएको हुनपर्छ । थापा नेतृत्वको पक्षले विशेष महाधिवेशन सम्पन्न गरेरै छाड्यो । यही कारण दुबै पक्ष निर्वाचन आयोग पुग्नु अपरिहार्य बन्यो ।
झट्ट हेर्दा कांग्रेसका धेरै चिनिएका र अनुभवी नेता देउवा पक्षमै देखिन्थे । तर, विशेष महाधिवेशनप्रति गरिएको उपहासपूर्ण टिप्पणी, विशेषतः ‘केटाकेटीले गुलेली खेलेजस्तो’ शैलीमा गरिएको वक्तव्यले संस्थापन पक्षको राजनीतिक परिपक्वतामाथि नै प्रश्न उठाएको थियो । निर्वाचन आयोगले पनि निर्वाचनसम्बन्धी ऐन, कानुन नियमभन्दा पनि कांग्रेसको विधान, परम्परा र विशेष महाधिवेशनको प्रक्रियालाई समग्र रूपमा मूल्यांकन गर्दै गगन थापा पक्षले गरेको महाधिवेशन विधानसम्मत रहेको ठहर ग¥यो र आधिकारिकता प्रदान गर्यो ।
यससँगै अब गगन थापा-बीपी कोइरालासहितका नेताहरूले ८० वर्ष पहिले स्थापना गरेको, प्रजातान्त्रिक आन्दोलनको लामो इतिहास बोकेको पार्टीको सभापति बनेको तथ्यलाई लिएर विवाद गरिरहनुपर्ने अवस्था नरहेको टिप्पणी भइरहेको छ । चारतारे झण्डा र रूख चुनाव चिह्न प्राप्त गरेपछि आधिकारिक कांग्रेस यही हो भन्ने विषय स्पष्ट छ । यसलाई अस्वीकार गर्ने पक्षले अदालत समक्ष न्यायका लागि प्रस्तुत भएमा तोकिएकै मितिमा निर्वाचन हुनु सम्भव हुँदैन । निर्वाचनमा भाग लिने हो भने पार्टीको वर्तमान यथार्थलाई स्वीकार गरी सहभागी हुने, यसो नभए अर्को पार्टी दर्ता गरी निर्वाचनमा जाने, कुनै अर्को पार्टीको चुनाव चिह्नमा उम्मेदवारी दिने, अथवा स्वतन्त्र उम्मेदवार हुने विकल्पहरू खुला छन् ।
तर अर्को पार्टी दर्ता गर्ने देउवा पक्ष गएमा वा अदालतको ढोका ढकढक्याउन पुगेमा औपचारिक रूपमा पार्टी विभाजनकै रूपमा बुझिनसक्छ । तैपनि महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन भई आधिकारिकता प्राप्त भएपछि यसलाई विभाजनभन्दा पनि परिमार्जन, पुस्तान्तरण र रूपान्तरणमात्रै भएको बुझाउने र पार्टीलाई विभाजनमा जान नदिने कुशलता नवगठित थापा नेतृत्वले देखायो भने कांग्रेसभित्रको एकता हुन्छ भन्ने झिनो आशा हुनसक्छ ।
हिजोसम्म तमासाबीन बनेर बसेका धेरै नेता तथा कार्यकर्ता निर्वाचन आयोगको निर्णयपछि खुला रूपमा गगन थापा पक्षमा उभिने सम्भावना छ । विसं २०१५ को पहिलो संसदीय निर्वाचनसँगै चारतारे झण्डा र रूख जहाँ छ, त्यही कांग्रेस हो भन्ने धारणा बलियो बन्दै गएको छ । यद्यपि कांग्रेसमा स्वार्थहरूको आल कतिसम्म गरिहिरो रहेछ भन्ने कुरा विशेष महाधिवेशनले देखाएको छ । अघिल्लो दिनसम्म विगत पैतीस वर्षयता यो वा त्यो रूपमा शेरबहादुर देउवाबाट आप्mनो र परवारका लागि समेत हुनेगरी स्वार्थ दोहन गरी बसेका र निरन्तर कांग्रेसका अनेक भूइँ कार्यकर्तालाई शोषण गर्नेहरूको ठूलो जमात पर्लक्क पल्टिएको रोचक दृश्य सबैले देख्न पाए । त्यसमा पनि संघीय गणतन्त्र, धर्मनिरपेक्षता र प्रजातन्त्र नै खारेज गर्नुपर्छ भन्दै निरन्तर उफ्रिने नेताहरूले ठाउँ ओगटेको देखियो । त्यस्ता तिलस्मीहरूले समेत देउवाको साथ छोडेर नयाँ धार समातेको उदाहरणले पनि यो परिवर्तन आकस्मिक होइन भन्ने देखाउँछ ।
तर, पनि लोकतान्त्रिक मर्यादा र आन्दोलनमा निष्ठापूर्वक लाग्ने नेपाल कम्युनिष्ट एमाले, नेपाली कम्युनिष्ट पार्टीदेखि अङ दलका नेता कार्यकर्ताले समेत कांग्रेसभित्र पन्पिएको यस्तो प्रवृत्ति र अन्तरविरोधप्रति चिन्ता प्रकट गरिरहेको छन् । जीवनभर कांग्रेसप्रति समर्पित र निःस्वार्थ पसिना बहाइरहेकामा कांग्रेसभित्रको यो अन्तरविरोधबाट विभाजन हुने हो कि भन्ने चिन्ता व्याप्त छ । निर्वाचन आयोगले सावधानीपूर्वक र सुनियोजित तरिकाले अत्यन्त छोटो समयमा दिएको निर्णयले अनेक शंकाउपशंका पैदा भएको छ । ०७६ सालमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीबारे सर्वोच्च अदालतले गरेको फैसलाका कारण एमाले माओवादीलाई छुट्याएको कथा धेरैको स्मृतिमा आउँदैछ । जेभए पनि यस्तो गम्भीर घडीमा एकअर्कामाथि आरोप-प्रत्यारोप र गालीगलौज गर्नेभन्दा आफ्नो ऐतिहासिक पार्टीलाई सुरक्षित गर्नेतर्फ नयाँ पुराना सबै अनुभवी नेताहरू सक्रिय हुनु उचित देखिन्छ ।
गगन र विश्वलाई ‘केटाकेटी’ भनेर हेर्ने दृष्टिकोणमा जसरी पुरानाले परिवर्तन गर्नुपर्छ त्यसरी नै नयाँले पनि पुराना नेताहरूको मानमर्दन गर्ने कृत्य परित्याग गर्नु आवश्यक छ । हिजो देउवाको काँधमा पार्टीलाई एकताबद्ध राख्ने जिम्मेदारी थियो, उहाँ असफल देखिनुभयो । अहिले त्यो जिम्मेदारी कानुनतः गगन र विश्वका काँधमा पुगेको छ । नेपाली कांग्रेस नेपालको परिवर्तनकारी राजनीतिको मेरुदण्ड हो । यसका वरिपरि अन्य दलहरूको राजनीति घुम्ने गर्छ । त्यसैले कांग्रेसभित्रको संकटापन्न अन्तरविरोधलाई समाधान गर्न समयको पदचापलाई अनुभव गरी सकारात्मक ढंगले एकताबद्ध भएर अघि बढेमा कांग्रेसले पुनः राष्ट्रिय राजनीतिको अभिभावकत्व र मार्गदर्शन गर्ने भूमिका निर्वाह गर्न सम्भव हुनेछ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच